१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ भदौ २५ बुधबार १४:५५:००
Read Time : < 1 मिनेट
समाचार

भुजुङवासीको भेलाले बनायो एक वर्षका लागि आन्तरीक कानुन

Read Time : < 1 मिनेट
२०७६ भदौ २५ बुधबार १४:५५:००

लमजुङको पर्यटकीय गाउँ भुजुङ गाउँबासीको भेलाले यस वर्षका लागि गाउँभरी मात्र लागु हुने अन्तरीक कानुन बनाएका छन् । 

गाउँ भेलाले बनाएको कानुनले गाउँमा उत्पादित खाद्यान्न बालीको भाउ, कामदारको दैनिक ज्याला, घिउ–महको मूल्य, चोया तथा ऊनद्वारा निर्मित विभिन्न हस्तकला सामग्रीको मूल्य तोक्ने गर्छ ।

पाँच दिनसम्म चलेको भेलाले गाउँमा एक वर्षसम्मका लागि नयाँ कानुन बनाएको रितिथिती व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले बताए ।

मकै थन्क्याएर कोदो रोपेपछि हरेक वर्ष भदौ अन्तिममा गरिने भएकाले यसलाई गाउँमा ‘भदौसभा’ भनिन्छ ।

क्व्होलासोंथर गाउँपालिका–४, भुजुङमा सदियौंदेखि ‘भदौसभा ’ बस्ने गरेको छ । रितिथिती व्यवस्थापन समितिको आह्वानमा बस्ने सभाले वर्षभरिको लागि बनाउने नीति–नियम गाउँलेले मान्नुपर्छ । 

कुनै नियम परिवर्तन गर्नुपरे गाउँका चिवा (ठूलाबडा) जम्मा भएर संशोधन गर्ने चलन छ । स्थानीय समाजसेवी नारायणबहादुर गुरुङका अनुसार सभामा प्रत्येक घरबाट घरमुली अनिवार्य उपस्थित हुनुपर्छ । ‘भदौसभा ऐतिहासिक परम्परा र गाउँलेको आन्तरिक मामिला हो,’ उनले भने ।

गाउँमा उत्पादित तथा आयातित बस्तुको मुल्य सभाबाटै तोक्ने गरिएको छ । सभाको निर्णय कार्यान्वयन नगर्नेसँग जरिवाना असुल्ने गरिएको छ । 

लालीगुराँस युवा क्लबका सचिव यमबहादुर गुरुङले भदौसभापछि वर्षभरि आफ्नो परिवारले कसैमाथि नराम्रो नगरेको, नसोचेको, अधर्म नगरेको, चोरी–डकैती नगरेको, बन्देज लगाइएका ठाउँमा चौपाया नछोडेको, वस्तुभाउलाई अरूको खेतीबालीमा पस्न नदिएको र अवको वर्ष पनि त्यस्तो हुन नदिने कसम खाने गरेको बताए ।

वडाध्यक्ष खिमबहादुर गुरुङले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका कानुनसँग नबाझिने गरी गाउँको कानुन बनाउने गरेको उल्लेख गरे ।