कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गरेका छन्।बुधबार मन्त्रालयमा भएको भेटमा राजदूत फेनले मन्त्री गौतमलाई भोटेकोशी बाढीले निम्त्याएको अप्रत्याशित क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना प्रकट गर्दै सम्पर्कविहीन व्यक्तिहरूप्रति चिन्ता गरेका छन्।
भेटका क्रममा जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठुलो जोखिम नेपालले व्यहोर्नुपरेको विषयमा छलफल भएको थियो। मन्त्री गौतमले जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालले सशक्त आवाज उठाउने विषय राखे।राजदूत फेनले नेपाललाई यसमा बेलायतले बलियो समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको कानुन मन्त्रालयले जनाएको छ।
भेटमा मन्त्री गौतमले अप्रत्याशित बाढीले अबको विकासका कार्य उत्थानशील (विपत् प्रतिरोधी विकास) हुन आवश्यक भएको र यसलाई नेपालले प्राथमिकता दिने बताए। उनले दिगो र उत्थानशील विकासका लागि मित्रराष्ट्र र दातृ निकायको सहयोगको निरन्तरता हुने अपेक्षा गरे ।
राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोतमार्फत विकासका कार्य र पुनर्स्थापनाका लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।