मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड दुई महिनापछि खुलेको छ । बर्खा लागेसँगै पहिरो र सडक भासिने समस्याका कारण गत १७ असारबाट बन्द रहेको यो खण्ड सोमबारदेखि खुलेको हो । दुई महिनापछि खुलेको यो सडकमा साना सवारीसाधनलाई मात्रै आवतजावत गर्न दिइने सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
इलामवासीको सधैँको दुःख बनेको राजदुवाली खण्डको पहिलो चरणको काम सकिएपछि साना सवारीसाधन आवतजावतका लागि अनुमति दिइएको उनले बताए । ‘पहिलो चरणको काम सकिएपछि हामीले साना सवारी सञ्चालनका लागि खुला गरेका हौँ । तर, अहिले पनि ठुलो वर्षा हुँदा सडक अवरुद्ध हुने जोखिम छँदै छ,’ उनले भने, ‘सडक बन्द भएको लामो समय भएको र सबैबाट एम्बुलेन्सलगायत साना सवारी सञ्चालनमा अनुमति दिनुपर्छ भन्ने आग्रह आएपछि हामीले सञ्चालनमा ल्याएका छौँ । निर्माणको काम निरन्तर भइरहेकाले ठुला सवारीसाधनचाहिँ यो खण्डको काम गर्न अवरोध हुन्छ भनेर सञ्चालन गर्न नदिएका हौँ ।’
राजदुवाली खण्ड पूर्णतः बन्नका लागि अझै तीन महिना लाग्ने प्रमुख भट्टराई बताउँछन् । यस खण्डमा गत वर्ष नै ठेक्का लगाएर काम हुँदै आएको छ । सडक डिभिजन कार्यालय इलामका अनुसार इलामको जोरकलशदेखि हर्कटेसम्म सडक स्तरोन्नति, माइखोलाको पुल मर्मत र राजदुवाली मर्मतका लागि ०८४ असारमा काम सम्पन्न गर्ने गरी २४ करोड ९३ लाख ७७ हजारमा जेएनजे निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ ।
‘ठेक्का अन्य खण्डमा लगाए पनि राजदुवाली खण्डमा तदारुकताका साथ काम गरिरहेका छौँ,’ उनले भने, ‘यो खण्डको काम सकेपछि अब समस्या हुँदैन भन्ने हाम्रो आकलन छ । अझै जमिनमुनिको पानी व्यवस्थापन गर्नका लागि इनार बनाउनै बाँकी छ ।’ इलाम जाने मालवाहक सवारी र ठुला सवारीसाधन राजदुवाली खण्डको वैकल्पिक मार्ग सिमलगोलाई–तिल्केनी सडक र मेची करिडोरबाट जाने सडक डिभिजन इलामका प्रमुख भट्टराईले बताए ।
गत वर्ष असोजमा आएको बाढीले बेलिब्रिज बगाएको मेची करिडोरअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान सुरु भएको छ । भारत सरकारको अनुदान सहयोगमा बनाइने बेलिब्रिजको सोमबारबाट जडान सुरु भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । भारतीय टोली नै आएर बेलिब्रिज जडानको काम सुरु गरेको उनको भनाइ छ । ७० मिटर लामो यो बेलिब्रिज जडान गर्न करिब २० दिन लाग्ने उनले बताए । ‘भारतले अनुदान सहयोग गर्ने भनेका कारण सामान ढिला आउँदा यहाँ बेलिब्रिज निर्माणमा ढिलाइ भएको थियो,’ उनले भने, ‘गत वर्ष ४८ मिटरको बेलिब्रिज बगाएको थियो । यसपटक ७० मिटरको जडान गर्दै छौँ ।’
गत वर्ष इलाममा आएको बाढीले बगाएको मेची राजमार्गको वैकल्पिक सडक सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलको बेलिब्रिज पनि केही समयमा जडान हुने उनले बताए ।