रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाले उद्धार कार्यको प्रयास तीव्र पारेको छ।
सोमबार बिहान ९ बजेदेखि नै नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्र खन्ने काम भइरहेको छ। यो आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंका गरिएको छ। आइतबार गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो।
नेपाल सरकारको अनुमतिमा शनिबार चिनियाँ उद्धार टोली आफैँ निजी हेलिकाेप्टर लिएर नुवाकोटको त्रिशूली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकाेप्टर लिएर माथिल्लो त्रिशूली थ्री बीको सुरुङ क्षेत्रमा पुगेको थियो।
लगत्तै यो टोलीले माथिल्लो त्रिशूली थ्री बीको सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा पनि रेकी गरेको थियो।
त्यसपछि दुवै जलविद्युत् आयोजनाको रेकीपश्चात् उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गतेदेखि नै चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित छ।