नेपाल आयल निगम लिमिटेडका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र साहले बिहीबार दिउँसो बबरमहलस्थित केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणलगत्तै आयोजित स्वागत कार्यक्रममा बोल्दै साहले भारतबाट ग्यास आयात बढाएर छिट्टै आपूर्ति सहज गराउने बताए।
‘ग्यास आपूर्ति असहज भएका वेला मेरो नियुक्ति भएको छ। त्यसैले, ग्यासको आपूर्ति सहजतालाई पहिलो प्राथमिकतमा राखेर काम गनुपर्नेछ,’ उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘भारतबाट आयात परिमाण तत्कालै बढाएर बजारमा आपूर्ति पनि बढाइनेछ। यसबाट अहिलेको समस्या छिट्टै समाधान हुने मेरो विश्वास छ।’
उनले उपभोक्तालाई लाइनमा लागेर ग्यास लिनुपर्ने बाध्यता हटाउन प्रभावकारी अनुगमन गर्ने, क्विक रेस्पोन्स टिमलाई थप जिम्मेवार बनाउने र हटलाइनमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्न पनि कर्मचारीलाई निर्देशन दिए।
ग्यासको दीर्घकालीन आपूर्ति सहजताका लागि भण्डारणगृहसमेत निर्माण गर्ने उनले बताए। आयल निगमले सर्लाहीको नेत्रगन्जमा रहेको १५ बिघा जमिनमा ग्यासको भण्डारणगृह निर्माण गर्ने योजना आठ वर्षदेखि अघि सारे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। सरकारको नीति तथा कार्यक्रमअनुसार आफ्नो कार्यकालमा तीन महिनालाई पुग्ने भण्डारणगृह निर्माणलाई प्राथमिकतामा राख्ने पनि उनले बताए।
‘ग्याससहित अन्य पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ,’ उनले भने, ‘दीर्घकालीन रूपमा आपूर्ति सहजताका लागि सरकारको योजनाअनुसार भण्डारणगृह निर्माण हुनु जरुरी छ।’
अहिले भारतीय अनुदान सहयोगमा झापाको चारआलीमा पाइपलाइन र भण्डारणगृह तथा चितवनको लोथरमा पाइपलाइन निर्माण कार्य अघि बढेको छ। त्यस्तै, चितवनको लोथरमा ९१ हजार नाै सय किलोलिटर क्षमताको भण्डारणगृह आयल निगमको खर्च र भारतको प्राविधिक सहयोगमा अघि बढेको छ। यसका अलवा काठमाडौंको गुहेश्वरीमा नयाँ हवाई इन्धन डिपो र रुपन्देहीको ओमसतिया तथा रोहिणी गाउँपालिकामा नयाँ इन्धन भण्डारणगृह निर्माणको योजना भने अघि बढ्न सकेको छैन। सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापना गर्ने योजना पनि थाती बसेको छ।