राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २६–२८ मंसिरमा हुने महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन मूल आयोजक समिति मातहत विभिन्न समितिहरु गठन गरेको छ। बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ समिति गठन गर्ने निर्णय गरेको हो।
बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र उपाध्यक्ष हेमजङ् गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरेको छ।
यसैगरी, महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति, कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति गठन भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।
सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समितिको संयोजक गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरुङ, बौद्धिक सम्पर्क तथा समन्वय समितिको संयोजक कार्यसम्पादन समिति सदस्य डा विष्णु भण्डारी, प्रचारप्रसार समितिको संयोजक प्रवक्ता श्रेष्ठ र शान्ति सुरक्षा तथा व्यवस्थापन समितिको संयोजक केन्द्रीय सदस्य दिपक रन्जित तोकिएका छन्।
बैठकले केन्द्रीय सदस्य ई. सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य ध्रुब विक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति तथा काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लालाई स्वागतद्वार व्यवस्थापन समितिको जिम्मेवारी दिएको छ।