मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ३ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण ३ आइतबार २o:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खाडी मुलुकमै केन्द्रित नेपाली श्रमिक, युरोपतर्फ पनि बढ्दै आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण ३ आइतबार २o:४९:oo

वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको संख्या ५.६० प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष ०८२/८३ मा कुल सात लाख ९२ हजार एक सय ८७ नेपाली सयभन्दा बढी मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेका छन्। यो संख्या अघिल्लो आव ०८१/८२ को तुलनामा ४७ हजार ७९ ले कम हो।

तुलनात्मक रूपमा बढी आम्दानी, राम्रो सुविधा र सहज जीवनशैलीको खोजीमा नेपाली श्रमिकको आकर्षण पछिल्लो समय युरोपियन मुलुकतर्फ पनि बढ्दै गएको छ। वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख गन्तव्य अझै खाडी मुलुक नै भए पनि युरोपका केही देशमा जानेको संख्या उल्लेख्य रूपमा बढिरहेको छ।

नेपाली श्रमिकको रोजाइमा पर्ने शीर्ष १० गन्तव्य मुलुकको सूचीमा युरोपका रोमानिया र साइप्रस पनि परेका छन्। गत आर्थिक वर्षमा रोमानियामा ३३ हजार ९२० जना र साइप्रसमा ११ हजार ६९ जना नेपाली श्रमिक श्रम स्वीकृति लिएर पुगेका छन्।

त्यस्तै, क्रोएसियामा ७ हजार ६६२, टर्कीमा ६ हजार ३७०, मोरिससमा ६ हजार ३३४, माल्टामा ६ हजार ११०, पोर्चुगलमा ३ हजार ८००, सर्बियामा ३ हजार ७८८, बुल्गेरियामा ३ हजार ६७९ र ग्रिसमा ३ हजार १२६ नेपाली श्रमिक पुगेका छन्।

यसबाहेक पोल्यान्ड, अस्ट्रिया, स्लोभाकिया, मोल्डोभा र बेलायतलगायतका युरोपियन मुलुकमा पनि नेपाली श्रमिक जाने क्रम बढिरहेको छ।

यद्यपि, वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको मुख्य निर्भरता अझै खाडी मुलुकमै रहेको छ। गत वर्ष सबैभन्दा धेरै नेपाली श्रमिक पुगेका गन्तव्यको सूचीमा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कतार, साउदी अरब र कुवेत क्रमशः पहिलो पाँच स्थानमा रहेका छन्।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा युएईमा १ लाख ८३ हजार ५८०, मलेसियामा १ लाख ३२ हजार ६४६, कतारमा १ लाख ३२ हजार ५१, साउदी अरबमा १ लाख २४ हजार ५८३ र कुवेतमा ४३ हजार ३६० नेपाली श्रमिक पुगेका छन्।

विशेष गरी खाडी मुलुकमा रोजगारीका अवसर सहज भए पनि युरोपियन मुलुकमा तुलनात्मक रूपमा राम्रो तलब, श्रमिक अधिकार र दीर्घकालीन अवसरको अपेक्षाले नेपाली श्रमिकको रुचि बढ्दै गएको देखिन्छ।