नक्कली प्रहरी बनेर १० लाखभन्दा बढी रकम लुटेको आरोपमा चारजना पक्राउ

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको परिचय दिँदै हतकडी लगाएर १० लाख ९५ हजार रुपैयाँ, मोबाइल फोन तथा बैंकका खाली चेक लुटेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार असार ९ गते साँझ करिब ७ बजे सिन्धुली घ्याङलेख गाउँपालिका– ५ घर भई काठमाडौं महानगरपालिका– १६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तानको कोठामा घटना भएको थियो। त्यहाँ उनका चिनजानका साथी सर्लाही लालबन्दी नगरपालिका– ८, खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान रहेका वेला ५–६ जनाको समूह पुगेको प्रहरीले जनाएको छ।

उक्त समूहले आफूहरू प्रहरी भएको भन्दै डरत्रास देखाई धनबहादुर मोक्तानलाई नियन्त्रणमा लिई हतकडी लगाएको तथा उनीसँग रहेको रु. १० लाख ९५ हजार नगद, मोबाइल फोन र सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएको प्रहरीको भनाइ छ।

घटनापछि अनुसन्धानका क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चारजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा रामशरण दमाईं, सविन खवास, लक्ष्मी गोले र शेरबहादुर मोक्तान  रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट रु. दुई लाख नगद (एक हजार दरका नोट) बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सुझावित समाचार