बस दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा पाँचसदस्यीय समिति गठन

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडास्थित बिपी राजमार्गमा बनेपाबाट रोशी खोपासीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनाको घटनाबारे छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले पाँचसदस्यीय समिति गठन गरेको छ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले शुक्रबार जारी गरेको पत्रअनुसार २०८३ जेठ २९ गते दिउँसो करिब २:१५ बजे भएको उक्त दुर्घटनामा बस सडकबाट करिब ३०० मिटर तल खस्दा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सत्य–तथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, बनेपाका प्रमुख प्रहरी एसएसपी कमल थापाको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक गंगा सारू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक दिनेश खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायब निरीक्षक टंक सिवाकोटी (सदस्यसचिव) तथा इलाका प्रहरी कार्यालय देवीटार, काभ्रेका प्रहरी सहायक निरीक्षक वासुदेव खड्का सदस्य रहेका छन्।

प्रहरी प्रधान कार्यालयले समितिलाई सात दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
 

सुझावित समाचार