किमाथांका पुग्यो ट्याक्टर

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको खाँदबारी–किमाथांका सडकखण्ड अन्तर्गत पहिलो पटक ट्याक्टर किमाथांका पुगेको छ। शनिबार दिउँसो खाँदबारी–किमाथांका सडकखण्ड अन्तर्गत गुडेर किमाथांका गाउँसम्म पहिलो पटक ट्याक्टर गाउँ पुगेको हो ।

नेपालको तर्फबाट च्याम्ताङ गाउँ देखि गुडेर नै पहिलो पटक किमाथांका गाउँसम्म ट्याक्टर पुगेको भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकाका वडाध्यक्ष नुर्वु च्यावाले जानकारी दिए । उनको अनुसार, सडकको स्तरोन्नती गर्दै स्काइभेटरले बाटोको ढुङगा पन्छाउर्दै ट्याक्टर किमाथांका गाउँसम्म पुगेको हो । खाँदबारी–किमाथांका सडकको १६२ किमि सडक पार गर्दै किमाथांका गाउँ सम्म पहिलो पटक ट्याक्टर पुगेको हो । पहिलो पटक किमाथांका गाउँसम्म ट्याक्टर पुगेपछि गाउँलेहरु खुशीले दंग परेको वडाध्यक्ष च्यावाको भनाइ छ । 

किमाथांका संखुवासभाको दुर्गम र चीनसँग सिमाना जोडिएको गाउँ हो । सदरमुकाम खाँदबारी देखि १६२ किमि दुरीमा रहेको किमाथांका गाउँ यातायातको साधान नजोडिदाँ आउनजान १० दिनसम्म लाग्ने गरेको थियो । उत्तरदक्षिण कोशी सडक आयोजनाले ट्रयाक ओपन गरेर किमाथांका गाउँसम्म सडक सञ्जाल जोडेको हो । भोटखोलाको च्याम्ताङ देखि घोङघोप्पा सम्मको १०.८१ किमि कडा चट्टान भएको क्षेत्र नेपाली सेनाले ट्रयाक ओपन गरेर सडक कार्यालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिसकेको छ । 

अब घोङघोप्पा देखि किमाथांका सम्मको १२ किमि सडकको स्तरोन्नती गरि जेठ दोस्रो साताभित्र नियमित रुपमा सवारी साधान किमाथांका गाउँसम्म पुर्याइने उत्तरदक्षिण कोशी सडक आयोजना प्रमुख रामबहादुर गुरुङले बताए । उनको अनुसार, खाँदबारी–किमाथांका सडकको काम तीव्र गति अघि बढेको छ ।

अहिले भर्खरै यही आर्थिक वर्षभित्र सक्ने गरि ४ अर्ब २ करोड रुपैयाँको अर्थ मन्त्रालयबाट बजेट प्राप्त भएको छ । घोङघोप्पा–किमाथांका सम्मको १२ किमि सडक स्तरोन्नतीको लागि एक अर्ब ५९ करोड १३ लाख ३० हजार रुपैया प्राप्त भएको छ । त्यसैगरि बहुबर्षिय योजना अनुरुपमा फ्याक्सिन्दा दोभानदेखि बरुणसम्म २७.५ किमि सडक कालोपत्रे गर्न २ अर्ब ४३ करोड रुपैया ४ लाख ८३ हजार रुपैया बजेट प्राप्त भएको कार्यालय प्रमुख गुरुङले जनाएको छ ।

पछिल्लो समयमा राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका सडक आयोजनाले छलाङ मार्दै अघि बढेको छ । त्रिदेशीय लिंक भारत–नेपाल–चीन जोडने सबैभन्दा छोटो ३९० किमि र मानववस्ती भएको बाह्रै महिना चल्न सक्ने कोशी राजमार्ग हो। ०६५ सालमा खाँदबारीमा उत्तरदक्षिण कोशी सडक आयोजनाको कार्यालय स्थापना भई सडक निर्माणको काम थालेको हो ।

किमाथांका–जोगवनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । सिधा यातायातको रुपमा जोगमुनी देखि किमाथांका सम्म सडक जोडिएपछि धेरै लाभ लिन सकिने स्थानीयको भनाइ छ । 


 

सुझावित समाचार