बर्डफ्लु कस्तो खालको रोग हो ?
यसलाई एभियन इन्फ्लुएन्जा पनि भनिन्छ । बुझ्ने भाषामा भन्ने हो भने यो रोग पक्षी प्रजातिको रुघाखोकी हो, जुन रोगी कुखुराको र्याल एवं सुलीबाट मान्छेमा पनि सर्न सक्छ । मान्छेमा यो रोग लागिसकेपछि घातक पनि हुन सक्छ । राम्रोसँग पकाएको मासु एवं अन्डाबाट यो रोग नसर्ने हुँदा बर्डफ्लु लागेका वेला मासु एवं अन्डा सेवन गर्नै हुँदैन भन्नेचाहिँ होइन ।
अहिले नेपालमा यो रोगको संक्रमणको अवस्था कस्तो छ ?
यो वर्ष पूर्वी नेपालका तीन जिल्ला र मध्य नेपालको चितवनसहित जम्मा ६ वटा जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको छ । अहिले बिस्तारै नियन्त्रणमा आउने क्रम जारी रहेको छ । पहिलेका वर्षभन्दा अहिलेसम्म यो वर्ष त्यति डरलाग्दो तरिकाले रोग भने फैलिएको छैन ।
बर्डफ्लुको रोकथाम गर्न र यसबाट जोगिन के गर्नुपर्छ ?
यसको रोकथाम गर्न या यसबाट जोगिन सर्वप्रथम कुखुरापालन व्यवसाय गर्ने व्यवसायीले जैविक सुरक्षाको पूर्ण पालना गर्नुपर्ने हुन्छ । रोगको लक्षण देखिएको भान भएमा तुरुन्त भेटेरिनरी प्रयोगशालामा परीक्षण गर्न पठाउनुपर्छ । नियामक निकायले द्रुत गतिमा यो रोगको परीक्षण गरेर आमजनमानससम्म यसको सही सूचना तुरुन्त दिनुपर्छ । आमउपभोक्ताले सफासँग काटिएको ठाउँबाट मात्र कुखुराको मासु खरिद गर्नुपर्छ । जहिले पनि अन्डा एवं कुखुराको मासु राम्रोसँग पकाएर सेवन गर्ने विषयमा सचेततापूर्वक ध्यान दिनुपर्छ ।