बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ । गुलरिया नगरपालिका– ७, डिभिजन वन कार्यालयनजिक एम्बुलेन्सको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको हो ।
कोहलपुरबाट राजापुर बिरामी लिन जाँदै गरेको एम्बुलेन्सले बिहान सवा ५ बजे योग गर्नका लागि जाँदै गरेका पैदलयात्री ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट पैदल यात्री गुलरिया नगरपालिका– ७ बस्ने ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति पाँच वर्षीय रियान्स खरेलको मुत्यु भएको हो ।
रियान्सको घटनास्थलमा मृत्यु भएको थियो भने लामिछानेलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए।
त्यसैगरी, एम्बुलेन्सको ठक्करबाट लामिछानेकी श्रीमती ५० वर्षीया सीता लामिछाने र सोही ठाउँका ६५ वर्षीय सूर्य उपाध्याय घाइते भएको प्रहरी निरीक्षक बेल्बासेले जानकारी दिए । घाइते दुवैजनालाई थप उपचार नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सचालक गेरुवा गाउँपालिका– ५ का ४३ वर्षीय जगतराम थारूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।