मृत्युपछि पनि मिलेन मुक्ति

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण
  • परिवारले चार लाख उपचार खर्च तिर्न नसक्दा मलेसियाको अस्पतालमा सप्तरीका मनजय सदाको शव १० दिनदेखि बन्धक

परिवारले चार लाख उपचार खर्च तिर्न नसक्दा मलेसियाको अस्पतालमा सप्तरीका मनजय सदाको शव १० दिनदेखि बन्धक छ । १० वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको विष्णुपुर गाउँपालिका– ६, रामटोलका ३३ वर्षीय सदाको तेङ्कु अम्पुआन रहिमा क्लाङ अस्पतालमा उपचारका क्रममा २६ चैतमा मृत्यु भएको थियो । तर, उपचारमा लागेको चार लाख तिर्न नसकेका कारण अस्पतालले शव निकाल्न नदिएको हो । 

मनजयकी २७ वर्षीय श्रीमती शिवकुमारी सदाका अनुसार श्रीमान्लाई अचानक पेट दुख्न थालेपछि एक साथीले अस्पताल लगेका थिए । केही दिनको उपचारपछि श्रीमान्का तिनै साथीले मृत्युको खबर पठाएको र उपचारमा लागेको चार लाख नतिरेसम्म शव नदिने जनाएको शिवकुमारीले सुनाइन् । 

‘अस्पतालमा उपचारका क्रममा लागेको चार लाख तिरेपछि मात्रै शव दिन्छौँ भनेर अस्पतालले भनेको छ । तर, हामीसँग भएको यही झुप्रो घर मात्रै हो, यो पनि ऐलानी जग्गामा बनाएको हो,’ शिवकुमारीले भनिन्, ‘हामी विपन्नले त्यति धेरै पैसा कहाँबाट ल्याउने ? 

मनजय कावेली ह्युमन रिसोर्सेज प्राइभेट लिमिटेडमार्फत फ्याक्ट्री वर्करका रूपमा मलेसिया गएका थिए । मलेसियामा काम गरेको कम्पनीले पनि शव ल्याउन कुनै पहल नगरेको उनको गुनासो छ । श्रीमान्को शव झिकाइदिन जिल्ला प्रशासन कार्यालय, सप्तरी र वैदेशिक रोजगार बोर्डमा निवेदन दिएकी छिन् । तर, कसैले कुनै पहल नगरेको उनको गुनासो छ । 

मनजयको मृत्युपछि रुवाबासी चलेको घरमा शव नै मलेसियामा बन्धक बनेको खबरले थप पीडा दिएको छ । घरमा श्रीमती शिवकुरमारी, एक छोरी र बुबा–आमा छन् । उनीहरूको जिम्मेवारी मनजयको काँधमा थियो । 

बुढेसकालको सहारा गुमाएका ७० वर्षीय बुबा बुधन सदा छोराको शव विदेशमा बन्धक भएको सुनेर झन् धेरै मर्माहत छन् । ‘मेरो सहारा ढल्यो । यो उमेरमा भारी बोकेर वा खेताला गएर परिवारको पेट पाल्ने सामर्थ्य मसँग छैन । परिवारको छाक कसरी टार्ने होला, बिरामी पर्दा औषधि कसले ल्याइदेला ?’ उनले चिन्ता व्यक्त गरे, ‘हाम्रो परिवारको भविष्य त धरापमा परेको छ नै, मृत्युपछि पनि उसले समेत मुक्ति पाएन । अस्पतालबाट शव निकाल्न चार लाख तिर्ने हैसियत हामीसँग छैन ।’

जिल्ला प्रशासन कार्यालयमातहतको आप्रवासी स्रोत केन्द्रकी केस स्टडी प्रमुख नीता चौधरीले भने मनजयको शव ल्याउन पहल भइरहेको बताइन् । ‘पहल जारी छ, छिट्टै उहाँको शव नेपाल आउँछ,’ उनले भनिन् । आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीमा समस्यामा परेकाहरूको उद्धारमा सहजीकरणको काम गर्दै आएको छ । 
 

See More On

सुझावित समाचार