मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ का लागि संघ सरकारले निर्धारण गरेको सार्वजनिक बिदाबाहेक थप ६ दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रदेश सरकारले दिने सार्वजनिक विदा प्रदेशभरि लागू हुन्छ।
प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सांस्कृतिक तथा धार्मिक महत्वका पर्वहरूलाई लक्षित गरी थप बिदा स्वीकृत गरिएको जनाएको हो । निर्णयअनुसार २ वैशाखमा ‘सिरुवा पावनी’, ३० कात्तिक छठ पर्वअन्तर्गत उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन, तथा २८ मंसिर ‘विवाह पञ्चमी’ का अवसरमा सार्वजनिक बिदा दिइनेछ।
यसका साथै प्रदेश सरकारले आवश्यकताअनुसार थप ३ दिनसम्म बिदा घोषणा गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव गणेश नायकका अनुसार फागुन १८ गते प्रकाशित प्रदेश राजपत्र (खण्ड ७५, संख्या ६७, भाग ५०) मा उल्लेख भएअनुसार वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने गरी एक वर्षको अवधिमा संघीय बिदाबाहेक थप ६ दिन सार्वजनिक बिदा स्वीकृत गरिएको हो ।
प्रदेश सरकारले स्थानीय संस्कार, परम्परा र जनभावनालाई सम्मान गर्दै यस्तो निर्णय गरेको जनाएको छ।