नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसद छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका अनुसार बैठक चैत १ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गर्नेछ। चयन गरिएका नामहरू निर्वाचन आयोगमा पठाइने कांग्रेसले जनाएको छ।
निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा तीन दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी बुझाउन गत बिहीबार राजनीतिक दलहरूलाई पत्राचार गरेको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणामअनुसार नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ भने प्रत्यक्षतर्फ १८ स्थानमा विजय हासिल गरेको छ।