बैतडीको पुरचौँडी नगरपालिका–१०, महरागाउँमा ज्वरोका कारण दुई किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीय विनोद महरा र उनकै भाइ १० वर्षका विकास महरा रहेका छन्।
उच्च ज्वरो आउने, बान्ता हुने, जिउ तथा आँखा दुख्नेजस्ता लक्षणले सहोदर दाजुभाइको मृत्यु भएको स्थानीय किशोर धामीले बताए। उनका अनुसार दाजु विनोदको गत सोमबार मृत्यु भएको हो भने भाइ विकासको आज बिहान मृत्यु भएको हो।
ज्वरोबाट गम्भीर बनेका उनलाई अस्पताल लैजान गाउँलेहरूले गाडी मगाएका थिए। गाडी आइनपुग्दै बान्ता गरेर पानी पिएपछि छट्पटाउँदै मृत्यु भएको स्थानीय कैलाश महराले बताए । उनका दाजु विकासलाई पनि गत सोमबार अस्पताल लैजान घरबाट १० मिनेट हिँडेर सडकमा पुर्याएपछि गाडी चढ्नै लाग्दा बेहोस भएर मृत्यु भएको महराले जानकारी दिए।
पूरै गाउँभरि सोही लक्षण भएका दर्जनौँ बिरामी रहेको स्थानीयले बताए। ‘एकैघरका दुई किशोरको मृत्यु भएपछि गाउँ नै त्रसित बनेको छ,’ महराले भने, ‘गाउँभरि यस्तै ज्वरोका बिरामी छन्।’
विनोद गलेश्वर माविमा कक्षा ७ र विकास भौनेली माविमा ३ कक्षामा पढ्ने गरेका थिए। मृतक दुबैकी आमा पनि गम्भीर बिरामी परेको र केही दिनदेखि खाना नखाएका कारण अवस्था चिन्ताजनक रहेको स्थानीयले बताएका छन्।
गाउँमा बिरामी फैलिएको खबर पाएपछि जिल्ला अस्पताल बैतडी र स्वास्थ्य चौकी पुरचौँडीबाट डाक्टरसहितको टोली घटनास्थल गइरहेको पुरचौँडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरले बताए।