२५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कपको उपाधि सहारालाई

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

आयोजक सहारा क्लबले २५ औँ संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ को उपाधि हात पारेको छ। सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुडस प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिता शनिबार सम्पन्न फाइनलमा जावलाखेल युथ क्लबलाई ०—२ गोल अन्तरले पराजित गर्दै सहाराले दोस्रोपटक उपाधि हात पारेको हो ।

०७० सालमा पहिलोपटक उपाधि हात पारेको १२ वर्षपछि सहाराले दोस्रोपटक उपाधि हात पार्दा १४ वर्षपछि फाइनलमा स्थान बनाएको जावलाखेल भने यसपटकसमेत उपविजेतामै सीमित बन्न पुग्यो ।

पोखरा रंगशालास्थित फुटबल स्टेडियममा भएको फाइनल खेलमा सहाराका लागि पहिलो हाफको २५औँ मिनेटमा मुकुन्दकुमार निउरेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। प्लयेर अफ दी म्याच शुशिल लामाले कर्नरबाट हानेको प्रहारलाई डी- बक्सभित्रबाट हेड गर्दै निउरेले बललाई जाली चुमाउन सफल भएका थिए। पहिलो हापमा एक गोलले अग्रता लिएको सहाराले दोस्रो हापमा अर्को गोल गर्दै अग्रता दोब्बर पारेको थियो। विदेशी खेलाडी टाए डिनियल बादारुले ७३औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए। सुशील लामाले दिएको क्रस पासलाई उनले उपयोग गरेका थिए।

यसअघि सहाराले प्रि-क्वाटरफाइनमा पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–०, क्वाटरफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई सडन डेथमार सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधियात्रा तय गरेको थियो। जावलाखेलले यसअघि प्रि-क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–०, क्वाटरफाइनलमा चर्चब्वाइज युनाइटेड क्लबलाई ३–० र सेमिफाइनलमा पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

तीन विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेता सहाराले १४ लाख एक हजार र उपविजेता जावलाखेलले सात लाख एक हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाए। यसैगरी, सहाराका मुकुन्दकुमार निउरे प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै स्कुटर पुरस्कार पाए।

विधागत रूपमा उत्कृष्टगोलकर्ता प्लानिङ ब्वाइजका पापा आइबुकेबे, गोलरक्षक सहाराका टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डरमा सहाराका टाए डानिइल बाद्ररु, मिडफिल्डर जावलाखेलका बाउबाकार सिसीको, स्टाइगर जावलाखेलका धबेन्द्र कुँवर, प्रशिक्षकमा सहाराका सुनील रानामगर, उदीयमान खेलाडीमा सहाराका मुकुन्दकुमार निउरे र अनुशासित टिम उज्वेकिस्तानको आभा फुटबल क्लब घोेषित हुँदै जनही २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाए। यसैगरी, हरेक खेलका म्यान अफ दी म्याचले १० हजार र ट्रफी पाउँदा, हरेक खेलका भाग्यशाली दर्शकले पाँच हजार र हरेक म्याचको फ्यान अफ दी म्याचले दुई हजार पाँच सय नगद पाए ।
 

सुझावित समाचार