मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाको शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेश सभामा पेस गरिएको विश्वासको प्रस्तावमा सहभागी भएका सबै सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् ।
शुक्रबार सभाको बैठकमा विभिन्न दलका ९२ जना सांसद उपस्थित थिए । विपक्ष वा तटस्थमा एकजनाको पनि मत नपरेपछि मुख्यमन्त्री यादवले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको उपसभामुख बबिताकुमारी राउत ईश्वरले घोषणा गरिन् ।
एमालेइतर सात दलको सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई एमालेले पनि विश्वासको मत दिएको छ । एमालेको समर्थनसँगै प्रदेश सरकारलाई फराकिलो राजनीतिक आधार प्राप्त भएको छ ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन, विकास र जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेका सांसद समीर मन्सुरले प्रदेशमा स्थिर र मजबुत सरकार निर्माणका लागि आफूहरूले विनासर्त मुख्यमन्त्रीलाई विश्वासको मत दिने संसदीय दलले निर्णय गरेको बताए ।