Skip This
भवनमा आगजनीपछि प्रदेश सभा बैठक सञ्चालन अन्योलमा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
Invalid date format १४:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भवनमा आगजनीपछि प्रदेश सभा बैठक सञ्चालन अन्योलमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५७:oo

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा भवन तहसनहस भएपछि प्रदेश सभा बैठक सञ्चालनमा अन्योल देखिएको छ । आगजनीबाट क्षतिग्रस्त प्रदेश सभा भवनमा प्रदेश सभा बैठक बस्न सक्ने अवस्था छैन ।

प्रदेश सभाको बैठक सञ्चालन हुने बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, भिडियो क्यामेरा, फोटोकपी मेसिन, प्रिन्टर, एसीलगायत सामान जलेर नष्ट भएका छन्, हल खण्डहर बनेको छ। सचिवालय, विषयगत समितिका कार्यालयहरू, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयहरूमा पनि आगजनी गरिएको थियो । सचिवालयका अनुसार प्रदेश सभाका ६ वटा चारपांग्रे गाडी र पाँच मोटरसाइकल आगजनीबाट नष्ट भएका छन्।

सभामुख, उपसभामुख, विषयगत समितिका सभापति, प्रतिपक्षी दलका नेता र उपसचिवले चढ्ने गाडी तथा सदस्यहरू सामूहिक अनुगमनमा जाँदा चढ्ने एउटा हाइस जलाइएको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । त्यस्तै, सचिवालयमा रहेका लेखा स्रेस्ताहरू जलेका छन्। प्रदेश सभा भवनको माथिल्लो तलामा रहेको सभामुख र उपसभामुखको कार्यकक्ष भने सुरक्षित छ। 

कार्यालय जलेपछि कर्मचारीहरू आएर हाजिर लगाएर फर्कने गरेका छन् । हलमा आगजनी भएकाले त्यहाँ प्रदेश सभा बैठक सञ्चालन गर्न सक्ने अवस्था छैन । टेबुल, कुर्सी, कम्प्युटरलगायत सामान नष्ट हुनुका साथै आगोले भवनमा समेत क्षति पुगेकाले बैठक सञ्चालन गर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ। 

गत ५ भदौमा प्रदेश सभा बैठक बसेको थियो । सूचना अधिकारी जैसीका अनुसार प्रदेश सभामा अहिले चारवटा विधेयक विचाराधीन रहेका छन्। प्रदेश सभाको अधिवेशन अन्त्य भएको छैन। 

सभामुख भीमबहादुर भण्डारीले अहिले प्रदेश सभा बैठक राख्न सक्ने अवस्था नरहेकाे बताए । उनले दसैँ–तिहारको बिचमा प्रदेश सभा हल मर्मत र पुनर्निर्माण गर्नेबारे छलफल भइरहेको जानकारी दिए। ‘अहिले अन्य विकल्प प्रयोग गरेर बैठक सञ्चालन गर्नेतर्फ सोचिएको छैन,’ उनले भने, ‘दसैँ–तिहारको बिचमा हल बनाउँछौँ, त्यसपछि बैठक बस्छ।’ 

प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका अधिकांश सरकारी निकायमा तोडफोड तथा आगजनी भएको छ। अन्य सरकारी भवनका हलमा प्रदेश सभा बैठक सञ्चालनका लागि संरचनासमेत नरहेको बताइएको छ।