
सिराहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डंग्राहा गाउँका बालकको अपरहणपछि हत्या गरिएको अवस्थामा भेटिएपछि प्रहरीले सोधपुछका लागि आफन्तसहित आठजना छिमेकीलाई नियन्त्रणमा लिएको छ ।
करिब १४ वर्षीय बालक अभिषेक सिंहको अपरहणपछि हत्यामा संलग्न आशंकामा सोधपुछका लागि नातामा मृतकका काका पर्नेहरू पाँचजना र अन्य तीनजना छिमेकीसहित आठजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार प्रदेश प्रहरी कार्यालयबाट झिकाएको कुकुरसहितको टोलीले घटनास्थलमा गरेको प्रारम्भिक अनुसन्धान र स्थानीय बासिन्दाले दिएको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरूलाई इलाका प्रहरी कार्यालय गोलबजार पुर्याएर सोधपुछ गरिरहेको उनले बताए । ‘केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश, जिल्ला र गोलबजारको प्रहरी टोलीले सोधपुछ गरिरहेको छ,’ उनले भने, ‘छिट्टै अपराधीसम्म पुग्दैछौँ ।’ अनुसन्धानको क्रममा भेटिएका तथ्य प्रमाण र सोधपुछको क्रममा प्राप्त सूचनाहरूको आधारमा दोषी यकिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले बताए ।
प्रदेश प्रहरी कार्यालयबाट झिकाएको कुकुरसहितको टोली, जिल्ला प्रहरी र गोलबजार प्रहरीको टोलीले मंगलबार बिहानदेखि घटनास्थल मुचुल्कासहित अन्य कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोष्टमार्टमका लागि दिउँसो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । शव भेटिएको ठाउँदेखि करिब १० मिटर दक्षिणपट्टि नयाँ खाल्डो समेत खनिएको पाइएकाले हत्यामा संलग्न भएकाहरूले सोही खाल्डोमा पुर्ने योजना बनाएको प्रहरीको आशंका छ ।
स्थानीय संजयकुमार सिंह र रेखा सिन्हाको छोरा अभिषेकको शव मंगलबार बिहान घर नजिकैको अर्जुन आधारभूत विद्यालय जाने बाटोमा भेटिएको थियो ।
चार बहिनी छोरीपछि जन्मिएका अभिषेकका बाबुको करेन्ट लागेर मृत्यु भएपछि नातिको मुख हेरेर चित्त बुझाएका हजूरबा लक्ष्मण महतो नातिको शव भेटिएपछि रुन समेत सकिरहेका छैनन् । छोरा हराएदेखि नै विक्षिप्त बनेकी आमा रेखा छोराको शव भेटिएपछि पटकपटक मुर्छा परिरहेको गोलबजार–१३ का वडाध्यक्ष नन्दकुमार महतोले बताए ।
पाँच करोड फिरौती मागिएको म्यासेज
वडाध्यक्ष महतोका अनुसार आइतबार साँझदेखि हराइरहेका अभिषेकको खोजीका लागि भोलिपल्ट आफूकहाँ सहयोग माग्न आएका वेला उनले बोक्ने मोबाइलबाट आमाको मोबाइलमा अभिषेकलाई अपहरण गरी आफूहरुले कब्जामा राखेको भन्दै हिन्दी भाषाको म्यासेजमा फिरौती बापतको पाँच करोड रकम २५ सेप्टेम्बर (९ असोज) भित्र बुझाउन तथा प्रहरी, गाउँलेलाई खबर गरे जे पनि हुन सक्छ भन्दै धम्क्याइएको थियो । उनका अनुसार आमाको इमोमा मेसेज आउने बित्तिकै तत्काल फोन गर्दा नम्बर ‘स्वीच अफ’ थियो । त्यति ठूलो रकम माग गरिएपछि आमाले त्यति नसकेपनि थोरबहुत रकम आफन्तहरूसँग सहयोग माग्ने तयारी गरिरहेका बेला शव भेटिएको उनले बताए ।
म्यासेजमा भनिएको छ ‘तुमहारा आदमी हमारी पास है । अगर तुमहारा आदमी सही सलामत चाहिए तो पाँच करोड रुपैयाँ हमे दो, नही देंगे तो मार कर फेक देंगे । पुलिसको बताने की कोशिश कि तो मारके फेक दुंगा । हमे २५ तारिक तक पैसा चाहिए नही तो मार दुंगा । तुमहारे गाउँमे किसिको पता नही चल्ना चाहिए कितना पैसा मगा हैँ । जानकारी के लिए हम बिहार से है । टेन्सन नही लेना, तुमहारा आदमी सही सलामत है । हमारी माग पूरा करदो, हम तमहारा आदमी वापस करदुंगा ।’
मेसेज हिन्दी भाषामा लेखिएको र भारतको बिहारबाट भनिए पनि भाषिक शुद्धता नभएकाले बालकको अपरहण र हत्यामा उनको परिवारसँग दुस्मनी रहेका व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । हत्या गरेको अवस्थामा भेटिएका अभिषेक आइतबार राति करिब साढे ८ बजेतिर घरमा खाना खाएर बाहिर निस्किएपछि बेपत्ता भएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि हजूरबा लक्ष्मण महतोसहित आमाले छरछिमेक र गाउँमा खोजी गरे पनि फेला परेका थिएनन् ।