
आओ यादहरू आओ
म निदाएको छैन कोल्टे फेर्दै छु....
नेपाली सुगम संगीतमा एकताका अत्याधिक सुनिएको गीत हो –आओ यादहरू...। एकनारायण भण्डारीको शब्द र सुरेश अधिकारीको संगीत रहेको यो गीतमा सुमधुर स्वर भर्ने गायक थिए, जगदीश समाल। नेपाली संगीतप्रेमीमाझ जगदीश र उनको एल्बल ‘बुलबुल’ एक समय चर्चाको शिखरमा थियो। डिजिटल युग सुरु हुनुअघि क्यासेटको जमाना थियो त्यो। त्यसबेला ‘बुलबुल’ हजारौं प्रति बिक्रि भएको थियो। एफएम रेडियोहरुमा, गुडिरहेको बस माइक्रोहरुमा यो गीत सँधै गुन्जिरहन्थ्यो। समालको ‘आओ यादहरु’सँगै अर्को पनि गीत चर्र्चित थियो, ‘आधा उमेर निद्रैमा बित्यो...। योसँगै उनका ‘किन आउँछ तिम्रो याद...,’ ‘म त मर्छु क्यारे..’, ‘जब दिन ढल्दै गयो...’जस्ता दर्जनौं गीतहरु नेपाली संगीतप्रेमीहरुले सुनिरहने गीत हुन्। उनै समालले अमेरिकाका संगीतप्रेमीहरुमाझ आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्।
आगामी अक्टोबर ११ मा अमेरिकाको रचेस्टर न्युयोर्कको भव्य कला भवन ‘द हक्सटाइन स्कुल अफ म्युजिक एण्ड डान्स हल’मा उनले प्रस्तुति दिने भएका हुन्। ‘बुलबुल क्लोज टु माई हार्ट– अ ट्रीब्युट टु जगदीश समाल्स थर्टी एअर्स अफ मेलोडी’ नाम दिइएको अर्केष्ट्रा कन्सर्टको मुख्य आयोजक रहेको छ कोकोम्हेन्दो आन्सम्बल र द भुटनिज् नेपाली आर्टिस्ट। उक्त कन्सर्टमा न्युयोर्ककै प्रतिष्ठित संगितज्ञहरुले समाललाई साथ दिने आन्सम्बलका प्रमुख तथा कन्सर्ट आयोजक समितिका संयोजक लामिन तामाङले जानकारी दिए। उनले भने,‘लोकप्रिय गायक जगदीश समालको १५ वर्षे अमेरिका बसाइको यो अन्तिम कार्यक्रम पनि हो। त्यसपछि उहाँ नेपाल फर्किनु हुँदैछ। त्यो अर्थमा यो कार्यक्रम उहाँलाई लाइभ सुन्दै विदाई गर्ने उत्सव पनि हो।’
संयोजक तामाङका अनुसार यो कार्यक्रममा केही संयोगहरु पनि जुरेका छन्। जस्तै, अर्केष्ट्रामा ५० जना बाद्यवादकहरु रहनेछन्। गायक समालको ५०औं जन्म दिन त्यही दिन परेको छ। तामाङले भने,‘तेस्रो संयोग यो कार्यक्रमका लागि कुल बजेट पनि ५० हजार डलर नै लाग्यो। अर्को महत्वपूर्ण संयोग विश्व प्रशिद्ध अमेरिकी महिला अधिकारकर्मी सुसन बि. एन्थोनीले यस क्षेत्रमा ५० वर्ष योगदान गर्नु भएको रहेछ। वहाँले विपन्न वर्गका महिलाहरुको शिक्षाका लागि सन् १९०० मा ५० हजार डलर सहयोग जुटाएर काम गर्नु भएको रहेछ।’
कन्सर्टमा भोइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेरले पनि गायक समाललाई साथ दिने छन्। त्यस्तै गायक तथा संगीतकार किशोर शिवाकोटी, अर्जुन रसाइली, मनोज ढकालले पनि गीत गाएर समाललाई सम्मान गर्ने कार्यक्रम छ। मुख्य आयोजक कोकोम्हेन्दो आन्सम्बललाई समर्थन र सहकार्य गरेको छ, मेनुका मेमोरियल फाउन्डेशन, भुटनीज अमेरिकन म्युजिक एसोसियन(बामा) र सुन्ने घरले। कन्सर्ट अढाइ घन्टासम्म हुने जनाइएको छ।