
सरकारले गृहसचिवको सरुवा गरेको छ । गोकर्णमणि दुवाडीलाई सरुवा गरेर नयाँ गृहसचिवमा रामेश्वर दंगाललाई ल्याइएको छ । गृहसचिवका रूपमा दुवाडीको भूमिका विवादास्पद भएपछि सरकारले उनको सरुवा गरेको हो । तीनकुनेदेखि जेन–जी आन्दोलनमा गृह प्रशासनको भूमिका आलोच्य थियो ।
नयाँ ल्याउन लागिएका दंगाल रक्षासचिवमा कार्यरत छन् । ०७८ माघमा सचिव बढुवा भएका दंगाल कर्मचारी वृत्तमा तुलनात्मक रूपमा स्वच्छ र निर्णय क्षमता भएका कर्मचारी मानिन्छन् ।
दंगाल गृह मन्त्रालयमा उपसचिव र सहसचिव भएर केही वर्ष काम गरेका छन् । उपसचिव हुँदा तीन वर्ष र सहसचिव हुँदा पनि अरू तीन वर्ष उनी गृह मन्त्रालयअन्तर्गत काम गरेका हुन् । उनी धनकुटा र सल्यानको प्रमुख जिल्ला अधिकारी थिए भने गृहअन्तर्गतको विपत् प्राधिकरणमा पनि सहसचिव हुँदा कार्यरत थिए ।
सचिव बढुवा भएपछि उनी राजस्वसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव हुँदै रक्षामा आएका थिए ।