Skip This
४ साउनदेखि अवरुद्ध कोदारी सडक सोमबारबाट सञ्चालनमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८२ असोज ७ मंगलबार १७:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

४ साउनदेखि अवरुद्ध कोदारी सडक सोमबारबाट सञ्चालनमा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १७:२२:oo

नेपाल–चीन सीमाना जोड्ने मितेरीपुलनजिकै कोदारीमा गएको पहिरोले अवरुद्ध सडक सोमबारबाट खुलेको छ। ४ साउनदेखि अवरुद्ध सडक सोमबार बेलुका खुलेको हो।

पहिरो पन्छाएर सडक सुचारु भएपछि खासामा अड्किएका मालवाहक कन्टेनर मंगलबारदेखि तातोपानी भन्सार आउन थालेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार कोदारीदेखि लिपिङसम्म लाइनमा रहेका ५७ कन्टेनर मंगलबार रातिसम्म तातोपानी भन्सार यार्डमा ल्याइनेछ। लगत्तै, खासाको सामान लिन नेपाली ट्रक चिनियाँ क्षेत्र पठाइनेछ।

इको पहिरोले अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर र कर्मचारी दुई महिनादेखि फिल्डमा खटिएका थिए। वेला वेलामा खुल्दै बन्द हुँदै गरेको कोदारी सडक ८ भदौबाट पूर्ण रूपमा बन्द भएको थियो। इकोमा झरेको ठुलो पहिरो, मिनीट्रक पार्किङ र डाक्लाङमा गएको ससाना पहिरो पन्छाउन भोटेकोसी वडा नंं ३ र ४ मा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावर कम्पनीले चारवटा एक्स्काभेटर मेसिन र १५ वटा ट्रिपर सहयोग गरेको थियो।

वर्षा कम हुँदै गएपछि एक सातासम्म दैनिक ठुला मेसिन प्रयोग गरेर पहिरो पन्छाउने, भूबनोट स्लोप बनाउने र अस्थायी नयाँ ट्रयाक निर्माण गर्ने काम भएको छ। अवरुद्ध सडक खुल्नुअघि ऊर्जा जलस्रोत तथा सिँचाइ , भौतिक पूर्वाधार  र सहरी विकासमन्त्री कुलमान घिसिङले इको क्षेत्रमा पुगेर निरीक्षण गरेका थिए।

चाडपर्व र जाडो महिनाका लागि ल्याइएका फलफूल, रेडिमेड र इलेक्ट्रोनिक्स सामान दुई महिनादेखि चिनियाँ क्षेत्रमा अड्किएका थिए। करिब दुई सय कन्टेनर मुस्ताङको कोरोलाबाट नेपाल भित्रिएका छन्। अहिले पनि लगभग एक हजार कन्टेनर सामान खासा, न्यालम र केरुङमा छ।

बाढीले पुल बगाएपछि असार २४ देखि रसुवा नाका बन्द छ। जसको चाप तातोपानीमा परेको थियो। तर, दुई महिनादेखि अरनिको राजमार्गअन्तर्गत रहेको २६ किलोमिटर-कोदारी खण्डको इकोमा पहिरोले सडक अवरुद्ध भएकाले दसैँलक्षित सामान उतै अड्किएका थिए। अब सडक सुचारु हुने हो भने काठमाडौं आसपासका बजारमा दसैंका लागि ल्याइएको नयाँ फेसनका रेडिमेड सामान पुर्‍याउन सकिने अध्यक्ष बस्नेतले बताए।