Skip This
सुनकोशी-मरिण र भेरी-बबईका ठेक्का तोड्नुको विकल्प छैन : मन्त्री घिसिङ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ७ मंगलबार १८:१७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनकोशी-मरिण र भेरी-बबईका ठेक्का तोड्नुको विकल्प छैन : मन्त्री घिसिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १८:१७:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी-मरिण र भेरी-बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने प्रस्ट पारेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छलफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन्।

दुवै आयोजनाको निर्माणमा अस्वाभाविक ढिलाइ भएपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका हुन्। तराई क्षेत्रमा सिँचाइ पुर्‍याएर कृषिको उत्पादकत्व बृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने आयोजनाहरूको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे।

‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने, आयोजना त्यस्तो वातावरण दिइराख्ने। यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ? राज्यको अर्बौँ रुपैयाँ लगानी भइसकेको छ, ब्याजको मात्र हिसाब गर्ने हो भने अर्बौँ हुन्छ, यस्तो अवस्थामा आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ?’ मन्त्री घिसिङले चेतावनी दिँदै भने।

दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध, विद्युत् गृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका छन्। तराई-मधेशमा सिँचाइका लागि पानीको हाहाकार रहेको उल्लेख गर्दै उनले भने, ‘यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियत देखिँदैन। तसर्थ, म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौँ।’

भेरी-बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो। बाँध तथा विद्युत् गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो। आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ। सुनकोशी-मरिण बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत छ। ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ। यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो।