
जेन–जी आन्दोलनका कारण खाना पकाउने एलपी ग्यास आयातमा असहजता उत्पन्न भएको छ । भ्रष्टाचार छानबिनको माग राखेर जेन–जीले गरेको आन्दोलनका कारण सुरक्षा चुनौती बढेको तर्क गर्दै भारतबाट ग्यास आयात गर्ने बुलेटहरू नेपाल आउन मानिरहेका छैनन् ।
ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले तीन–चार दिनदेखि ग्यास ढुवानी गर्ने बुलेट आयात ठप्प भएको बताए । ‘सुरक्षा चुनौती बढेको भन्दै भारतबाट ग्यास ल्याउन चालक, सहचालकले मानेकै छैनन्, यहाँको स्थिति पनि त्यस्तै छ,’ उनले भने । बुधबार साँझ वीरगन्ज भन्सार जाँचपास भएर निस्कँदै गरेको एक बुलेट चालकलाई स्थानीय युवाले कुटपिट गरेर टाउको फुटाइदिएपछि स्थिति झन् बिग्रेको छ ।
नेपालमा ग्यास आयातका लागि भारतीय ट्रान्सपोर्टरहरूको करिब सात सय बुलेट प्रयोग हुने गरेको छ । अहिले यहाँ सुरक्षा चुनौती देखाउँदै भारतीय व्यवसायीले बुलेट पठाउन नमानिरहेको अध्यक्ष घिमिरेले बताए । ‘सबै बुलेट भारतीय व्यवसायीका छन्, उनीहरूले पठाउन नमानेका कारण पर्याप्त मात्रामा ग्यास ल्याउन सकिएको छैन,’ उनले भने ।
उद्योगीले आयल निगमको समन्वयमा भारतको बन्थरा, हल्दिया, पाराद्वीप, बरौनीलगायत रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । सबैभन्दा बढी बरौनी रिफाइनरीबाट ग्यास आउने गरेको छ । तर, बरौनी रिफाइनरी मर्मतका लागि करिब दुई सातादेखि बन्द छ । जसकारण उद्योगीले लामो दूरीमा पर्ने पाराद्वीप रिफाइनरीबाट ग्यास आयात गरिरहेका छन् ।
‘बरौनीमा ग्यास लोड भएको बुलेट दुई दिनमा नेपालस्थित उद्योगमा आइपुग्छ । तर, पाराद्वीपबाट आइपुग्न एक हप्ता लाग्छ,’ घिमिरेले भने, ‘यही कारण उद्योगमा ग्यास कम आइरहेको थियो, यही वेला जेन–जीको आन्दोलनले मुलुक विषम परिस्थितिमा पुग्दा वितरण च्यानल नै बिग्रयो र बजारमा ग्यासको आपूर्ति कम हुन पुगेको छ ।’
उद्योगमा भएको ग्याससमेत बजारमा बिक्री–वितरण गर्न कठिनाइ भोगिरहेको उनले बताए । ‘सेनाले ग्यास ढुवानी गर्ने साधन चल्न दिएकै छैन,’ उनले भने, ‘उद्योगमा रहेको ग्यास खुद्रा विक्रेताकहाँ पुर्याउन नसक्दा पनि उपभोक्ताले सहजै पाउने वातावरण बनिरहेको छैन ।’ उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम र नेपाली सेनालाई लिखित रूपमै ग्यास ढुवानीमा सहजीकरण गर्न पत्राचार गरे पनि सुनुवाइ नभएको बताए ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले सुरक्षा चुनौतीका कारण ग्यास आयातमा केही समस्या देखिए पनि बिस्तारै समस्या हल भइरहेको बताए । ‘वीरगन्ज भन्सारबाट बिहीबार साँझ ४१ वटा बुलेट पास भइसकेको छ । नेपालगन्ज भन्सार हुँदै तीनवटा बुलेट आइसक्यो, थप १७ वटा बुलेट रुपैडिया नाकामा छ । त्यो पनि आइहाल्छ,’ उनले भने, ‘आइओसीको विभिन्न रिफाइनरीमा पनि बुलेट लोड भएर बसेकाले आयातको समस्या हटिहाल्छ ।’
ठाकुरले सुरक्षा चुनौती कारण भारतीय व्यवसायी र चालक–सहचालक नेपाल आउन डराइरहेको पनि बताए । अर्कातिर, खुद्रा विक्रेतासँग भएको ग्यास मौज्दात सकिएकाले पनि उपभोक्ता अत्तालिएको उनको भनाइ छ । ‘कुनै विपत् पर्यो भने चाहिनेभन्दा बढी सामान मौज्दात राख्ने हाम्रो पुरानै शैली हो, अहिले पनि उपभोक्ताले घरमा चाहिनेभन्दा बढी ग्यास मौज्दात राख्दा समस्या भएको हो,’ उनले भने । बजारमा एक महिनालाई पुग्ने ग्यास खुद्रा विक्रेताको पसलमा मौज्दात हुने गरे पनि अहिलेको संकटको कारण एक–दुई दिनमै सकिएको उनले बताए । निगमका अनुसार दैनिक औसतमा एक लाख ग्यास सिलिन्डर खपत हुने गरेको छ ।
सुरक्षा चुनौतीका कारण केही दिनयता देशभरका पेट्रोलपम्प बन्द छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले प्रशासनबाट पेट्रोलपम्प खोल्न वा बन्द गर्न कुनै निर्देशन नआएको बताए । ‘प्रशासनले पेट्रोलपम्प खोल्नु वा बन्द गर्नु केही भनेको छैन,’ उनले भने, ‘हामीले सुरक्षा चुनौती देखेर नै सञ्चालन नगरेको हो ।’ पेट्रोलपम्पमा आगलागी भए ठूलो क्षेत्रमा असर गर्ने जोखिम भएकाले निगमले पनि सञ्चालनका लागि दबाब दिएको छैन । निगम प्रवक्ता ठाकुरले सुरक्षा चुनौतीका बिचमा पम्प खोल्ने निर्देशन दिन नसकिने बताए ।