
जेन–जी आन्दोलनका क्रममा घाइतेको विवरण आउने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म अस्पतालहरूबाट प्राप्त तथ्यांकअनुसार घाइते भएकाको तथ्यांक एक हजार ७६० छ । तीमध्ये ३२२ जना अझै अस्पतालमै उपचाररत छन् । उनीहरूमध्ये २८ जना आइसियूमा छन् । हालसम्म ३५ जनाको मृत्यु भएको यकिन भएको छ ।
स्वास्थ्य मन्त्रालयको काम गर्ने स्थान नै जलेका कारण कर्मचारीले घरमै बसेर तथ्यांक संकलन गरिरहेका छन् । मन्त्रालयका अनुसार २३ र २४ भदौमा भएको प्रदर्शनमा गोली लाग्दा ४४२ जना घाइते नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा लगिएको थियो । ट्रमा सेन्टरमा १६९ र एभरेस्ट अस्पतालमा १०९ जना घाइते लगिएको थियो । ट्रमा सेन्टरमा ५८ जना उपचाररत छन् । उनीहरूमध्ये अधिकांशको सर्जरी भइसकेको छ ।
निजामती अस्पतालमा ४८, झापास्थित बी एन्ड सी अस्पतालमा ५३, केएमसी सिनामंगलमा ३५ र त्रिवि शिक्षण अस्पतालमा ३५ जनाको उपचार भइरहेको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबै घाइतेको नि:शुल्क उपचार भइरहेको र उपचारलाई सहज पारिएको बताए । ‘सबै स्वास्थ्यकर्मी खटिनुभएको छ, घाइतेको सर्जरी भइसकेको छ, उहाँहरूको अवस्थाअनुसार उपचार जारी छ,’ उनले भने ।