
गएराती बर्दियाको ठाकुरबाबा नगरपालिकामा आएको बाढीले करिब दुईसय भन्दा बढी घर डुबानमा परेका छन् । बिहीबार साँझ गिठेनाला र ओहरीबाट आएको बाढीले ठाकुरबाबा नगरपालिकाको वडा नं ६, ७ र ८ का करिब दुईसय भन्दा बढी घर डुबानमा परेका हुन् ।
बाढीले कर्मला कालीगौडी, सुन्दरपुर, मुक्तिपुर, जाउला खोखरपुर, गोब्रेला, तल्लो बनखेत, माथिल्लो बनखेत, चिटकैया लगायत आसपासको बस्ती जलमग्न भएको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र ठाकुरबाबाले जनाएको छ ।
बाढीमा परेमा स्थानीयलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय र जनप्रतिनिधीको सहयोगमा उद्दार कार्य भइरहेको नगर उपप्रमुख बिना भट्टराईले बताइन् ।
उनले भनिन्, ‘बाढीमा मानवीय क्षति भएको छैन । बाढी प्रभावितहरु कोही घरको छतमा बस्नु भएको छ भने केहीलाई विद्यालयमा राख्ने काम भएको छ । आज दिनभरमा बाढीमा परेकालाई एक ठाउँमा बन्दोबस्द मिलाउने काम हुन्छ ।’