Skip This
दिल्लीबाट फर्काइएका ४७ महिलाको एनओसी नै नक्कली
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
टेकराज थामी काठमाडाैं
२o८२ श्रावण २६ सोमबार o७:o६:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दिल्लीबाट फर्काइएका ४७ महिलाको एनओसी नै नक्कली

मानव तस्करको पहिचान भएको, तर सबैजना भारतमै लुकेर बसेकाले पक्राउ गर्न केही समय लागेको प्रहरीको भनाइ

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार o७:o६:oo

भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएका महिलाका लागि जारी भएको एनओसी (नो अब्जेक्सन लेटर) नै नक्कली रहेको खुलेको छ । गत ६ साउनमा भिजिट भिसामा कुवेत जान लागेका ४७ महिलालाई भारतीय अध्यागमनले नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै उनीहरूलाई अध्यागमनले दिल्लीस्थित नेपाली दूतावासमा जिम्मा लगाइयो । उनीहरूलाई नेपाल फिर्ता ल्याइसकिएको छ । अनुसन्धानपछि उनीहरूका नाममा जारी भएको एनओसी नक्कली रहेको खुलेको थियो । 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले भारतबाट फर्काइएका नेपाली महिलाका नाममा जारी भएको एनओसी नक्कली भएको बताए । ‘गत ६ साउनमा कुवेत हिँडेका ४७ महिना भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइए । घटनाको अनुसन्धान हुँदै छ । यसक्रममा उनीहरूका नाममा जारी भएको कागजात अनुसन्धान गर्दा एनओसी लेटर नक्कली रहेको खुलेको छ,’ उनले भने ।

ब्युरोका अनुसार उनीहरूले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको नामबाट जारी भएको एनओसी लेटर लिएका थिए । अनुसन्धानका क्रममा ब्युरोले लेटर भेरिफाई गर्न महावाणिज्य दूतावास पठाएको थियो । तर, दूतावासको रेकर्डमा उनीहरूका नाममा जारी भएको एनओसी लेटर नभेटिएपछि नक्कली भएको प्रमाणित भएको थियो । ‘फिर्ता भएका महिलासँग रहेको कागजात अनुसन्धान गर्दा एनओसी लेटर कोलकाताबाट जारी भएको भेटियो । शंका लागेपछि भेरिफाई गर्न कोलकातास्थित महावाणिज्य दूतावास पठाइयो । दूतावासबाट उनीहरूका नाममा कुनै लेटर जारी नभएको सूचना प्राप्त भयो । त्यसो हुँदा लेटर नक्कली रहेको खुल्यो,’ एसएसपी पंगेनीले भने ।

ब्युरोका अनुसार फिर्ता आएका सबै महिलालाई दलालले नै एनओसी लेटर उपलब्ध गराइदिएका थिए । तर, प्रहरीले हालसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । घटनामा संलग्न अभियुक्तको पहिचान भएको र सबैजना भारतमै लुकेर बसेकाले पक्राउ गर्न केही समय लागेको ब्युरोको भनाइ छ । ‘सबै महिलालाई दलालले नै एनओसी लेटर बनाएर लिएको देखिन्छ । उनीहरूको पहिचान खुलेको छ । पक्राउ गर्न केही समय लाग्न सक्छ । खोजीकार्यलाई तीव्र तुल्याइएको छ,’ उनले भने ।

१९ महिलाले दिए दलालविरुद्ध जाहेरी
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार फिर्ता भएकामध्ये १९ महिलाले दलालविरुद्ध जाहेरी दिएका छन् । सोही जाहेरीपछि छुट्टाछुट्टै आठ मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । कुवेतस्थित हाउस मेडमा लैजान लागिएका महिला ३२ जिल्लाका छन् । गन्तव्यमा पुर्‍याएपछि दलालले प्रतिव्यक्ति साढे तीन लाख रुपैयाँ बुझ्ने सहमति प्रहरीको भनाइ छ ।
कुवेतलगायत खाडी मुलुकमा महिलाका लागि वर्किङ भिसामा जान अनुमति छैन । यद्यपि, खाडी मुलुकमा मात्रै ६० हजारभन्दा धेरै महिला घरेलु मजदुरका रूपमा कार्यरत छन् ।

उनीहरू सबै भिजिट भिसामा सम्बन्धित मुलुक जाने र पछि सोही भिसालाई वर्किङमा बदल्ने गर्छन् । वर्किङ भिसामा जान अनुमति नभएपछि नेपाली महिला जोखिम मोलेर भारत हुँदै खाडी मुलुक पुग्ने गरेका छन् । कतिपय महिला भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा दुबई जाने र त्यसपछि उक्त भिसालाई वर्किङमा बदलेर सम्बन्धित मुलुक जाने गरेका छन् । प्रहरीका अनुसार दुबईमा भिजिट भिसामा जाने महिलाको ‘सेन्टर कलेक्सन’ हुन्छ । उनीहरूलाई बिक्रीका लागि स्टलमा राखिन्छ । खरिद गर्न खाडीलगायत विभिन्न मुलुकका दलाल स्टल पुग्छन् । महिलाको खुलेआम मोलमोलाइ चल्छ । मूल्य भुक्तानीपछि उनीहरूलाई दलालले सम्बन्धित मुलुक लैजान्छन् । र, उनीहरूलाई घरेलु मजदुरका रूपमा प्रयोग गर्छन् । 

नेपालको अध्यागमन विभागले भिजिट भिसामा कडाइ गरेपछि पछिल्लो समय भारतस्थित विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली महिला खाडीलगायत मुलुक लैजाने गरिएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट ४७ महिला सोही क्रममा पक्राउ परेका हुन् । विशेषगरी गत ७ जेठपछि नेपालको अध्यागमनले भिजिट भिसामा कडाइ गरेको छ । भिजिट भिसामा मातहतका कर्मचारी नै सेटिङमा संलग्न रहेको खुलेपछि अध्यागमनले भिजिट भिसामा कडाइ गरेको हो ।

 भिजिट भिसामा स्पेन पुगेको घटनाको अनुसन्धान प्रक्रिया सुस्त 
स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघीय ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स’ सम्मेलनमा भएको मानव तस्करीसँग सम्बन्धित तथ्यांक संकलनमा ढिलाइ हुँदा अनुसन्धान प्रक्रिया प्रभावित बन्न पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनाको अनुसन्धान गरिरहेको छ । जसका लागि सिआइबीले गत ३१ असारमै एसएसपी होविन्द्र बोगटीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवर पनि छन् । 

सिआइबीले समिति गठन गरेलगत्तै कूटनीतिक च्यालनमार्फत भारतस्थित स्पेनी दूतावाससँग सम्मेलनमा भाग लिन गएका नेपालीको विवरण माग गरेको थियो । तर, दूतावासले विवरण दिन मानेका छैन । जसले गर्दा स्पेनमा लुकेका नेपालीको विवरण र उनीहरूलाई लैजाने गैरसरकारी संस्थाको विवरण संकलनमा ढिलाइ भइरहेको छ । सिआइबीका प्रमुख एआइजी चन्द्रकुवेर खापुङले घटनाको अनुसन्धान भइरहेकाले केही बताउन नसकिने बताए । ‘अनुसन्धानको आफ्नै प्रक्रिया हुन्छ । सबै अनुसन्धान भन्न आवश्यक छ जस्तो लाग्दैन । यो अनुसन्धान पनि चलिरहेको छ । तथ्य खुल्दै होलान् । अन्य सन्दर्भमा मलाई जानकारी भएन,’ उनले भने ।

प्रहरीका अनुसार सम्मेलनमा भाग लिन ६२ नेपाली सहभागी भएका थिए । जसमध्ये ४९ जना एउटा र बाँकी १३ अर्को लटमा स्पेन पुगेका थिए । जसमध्ये २८ जना उतै लुकेको प्रहरीको भनाइ छ । भिजिट भिसामा स्पेन गएका उनीहरू गैरसरकारी संस्थामार्फत पुगेका थिए । सोही सम्मेलनमा भाग लिन हिँडेका ५५ नेपाली भने भारतबाट फर्काइएका थिए । सम्मेलनमा विश्वभरका एक हजार चार सय गैरसरकारी संस्थाबाट १० हजार प्रतिनिधि स्पेन पुगेका थिए । जसमध्ये पाँच हजार प्रतिनिधि भारत र बंगलादेशका नागरिक थिए । सम्मेलनमा प्रधानमन्त्री केपी ओलीसहितको २१ जनाको टोली पनि सहभागी भएको थियो । १४ असारमा गएको टोली कार्यक्रम समापनसँगै स्वदेश फर्किएको थियो । 

कृष्ण पंगेनी, एसएसपी, मानव बेचबिखन अनुसन्धान ब्युरो
गत ६ साउनमा कुवेत हिँडेका ४७ महिना भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइए । घटनाको अनुसन्धान हुँदै छ । यसक्रममा उनीहरूका नाममा जारी भएको कागजात अनुसन्धान गर्दा एनओसी लेटर नक्कली रहेको खुलेको छ,’ उनले भने ।