
सरकारले एक महिनामै सवा तीन अर्ब रुपैयाँ रकमान्तर गरेको छ । संघीय सरकारका विभिन्न मन्त्रालयले एक करोडभन्दा बढीको एउटा बजेट उपशीर्षकबाट अर्कोमा तीन अर्ब २८ करोड रुपैयाँ रकमान्तर गरेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी, गृह, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, सहरी विकास, स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५८ वटा उपशीर्षकका बजेट अर्कोमा रकमान्तर गरेका हुन् । एउटा आयोजना तथा कार्यक्रममा खर्च हुन नसकेको रकम अर्कोमा लागेर खर्च गर्ने गरी रकमान्तर गरिएको हो ।