
वर्ष ०८१ खेलकुदका लागि मिश्रित रह्यो । नेपाली खेलकुदमा केही उपलब्धि रहे पनि प्रशासनतर्फ भने भद्रगोल नै भयो । खेलकुदका तीन महत्वपूर्ण निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)बिचको विवाद सतहमा रह्यो । तीनै निकायले एक–अर्काको अस्तित्व स्वीकार नगर्दा खेलाडी मर्कामा परेका छन् । यसै वर्ष हुनुपर्ने दसौँ राष्ट्रिय खेलकुद मन्त्री तेजुलाल चौधरीकै कारण तेस्रोपटक सरेको छ । मन्त्री चौधरीको ध्यान दसौँ राष्ट्रिय खेलकुदमा भन्दा पनि एनओसीको स्वार्थसँग जोडिएको खेलकुदसम्बद्ध पदाधिकारीहरूको आरोप छ ।
खेलकुद संघहरूमा नेपाल क्रिकेट संघ (क्यान)को चर्चा निकै भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता धेरैभन्दा धेरै भए । क्रिकेटले धेरै उपलब्धि हासिल ग¥यो । फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना भयो । तर, यसको विवाद पनि त्यस्तै छ । फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) सधैँभरि विवादमा रह्यो । पदाधिकारीबिच कहिल्यै पनि सुमधुर सम्बन्ध बनेन । हरेक कार्यसमिति बैठक विवादमा रह्यो । संस्थापन पक्षलाई बहुमत पु र्याउन धौ–धौ पर्न थालेको छ । कार्यसमिति बैठकबाट पारित भएका निर्णय कार्यान्वयन भएका छैनन् । घरेलु फुटबल आयोजना तथा व्यवस्थित गर्न नसकेको एन्फालाई आरोप छ । तर, मैदानभित्र महिला फुटबल टोलीको चर्चा निकै रह्यो । अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाली टिमले लगातार फाइनल खेलेको थियो ।
फुटबल र क्रिकेटपछि भलिबल चर्चामा रह्यो । भलिबलमा फेरि नेपालले मुख्य विधातर्फ उपाधि जित्न सकेन । क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले काभा च्याम्पियनसिप र नेपालको बिच महिला टोलीले उपाधि उचालेका थिए । समग्र खेलकुदका लागि खेलाडी पलायन हुँदा टाउको दुखाइको विषय बनेको छ ।
आन्तरिक विवादमा रुमलियो एन्फा
यस वर्ष एन्फाका पदाधिकारी आन्तरिक विवादमै रुमलिएर बसे । अध्यक्ष पंकज नेम्वाङ र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काका निकट सदस्यले एकआपसमा आरोप–प्रत्यारोपण गर्दै वर्ष कटाए । बहुसंख्यक कार्यसमितिका पदाधिकारी आफ्नो साथमा रहँदा नेम्वाङले एकपक्षीय रूपमा एजेन्डा पास गरेका छन् । असन्तुष्ट पक्षका पदाधिकारीले त्यसको विरोध जनाउँदै हिँडेका छन् । यस्तै, आन्तरिक विवादका कारण नै एन्फाले तीन वर्षदेखि फुटबलकै मेरुदण्ड सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न सकेन । ‘ए’ डिभिजन लिग नगरी लिगकम नकआउट प्रतियोगिता आगामी वैशाखमा गर्ने तयारी गरेको छ ।
लगभग तीन वर्षपछि एन्फाले ‘बी’ डिभिजन लिग आयोजना गरिरहेको छ । सातदोबाटोमा चलिरहेको ‘बी’ डिभिजन अहिले छैटौँ चरणमा पुगेको छ । तेस्रो संस्करणको नेपाल सुपर लिग रंगशालामा भइरहेको छ । तर, यसपटक दर्शकको उपस्थित न्यून छ । एनएसएलमा दर्शक आउने अपेक्षा थियो । राम्रा खेलमा समेत दर्शकको संख्या कम देखिएको छ । एन्फाले आफ्नो नियमित कार्यक्रम र दीर्घकालीन योजना सार्वजनिक नगर्दा खेलाडीहरू विदेश भासिन बाध्य भएका छन् । मंसिरदेखि चैतसम्म मोफसलमा गोल्डकपले निरन्तरता पायो । चर्च ब्वाइज क्लब यसपटक मोफसलमा सफल देखियो ।
अधिकांश गोल्डकपको फाइनलमा स्थान बनाएको चर्च ब्वाइजले चार उपाधि हात पारेको छ । मच्छिन्द्र, एनआरटी, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले मोफसलमा आयोजित फरक–फरक गोल्डकप जिते । रंगशालामा भएको साफ च्याम्पियनसिपमा नेपाली महिला टोली पुनः एकपटक उपविजेतामै सीमित भयो । गत १२ असोजमा वर्षापछि आएको पहिरोमा सिस्नेरी एकेडेमीका ६ बालबालिकाले ज्यान गुमाए । फुटबलमा अस्ट्रेलियन म्याट रोस नयाँ मुख्य प्रशिक्षक बनेका छन् । उनको प्रशिक्षणमै नेपालले पहिलोपटक सिंगापुरमाथि जित निकाल्यो ।
चर्चामा क्रिकेट
यस वर्ष नेपाली क्रिकेट निकै चर्चामा रह्यो । तर, राष्ट्रिय पुरुष क्रिकेट टोलीको अन्तर्राष्ट्रिय यात्रा त्यति सुखद भएन । सन् २०२७ को एकदिवसीय विश्वकपको रोडम्यापका रूपमा रहेको आइसिसी विश्वकप लिग २ मा नेपालले एक जित मात्र निकाल्यो । नेपालले गत नोभेम्बरमा स्कटल्यान्डमाथि जित हात पारेको थियो । यस वर्ष नेपाली टोली लगातार आठ खेलमा पराजित भयो । लिग २ मा गतिलो नतिजा निकाल्न नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण गरेन । क्यानले अस्ट्रेलियन पूर्वखेलाडी स्टुवार्ट ललाई मुख्य प्रशिक्षक बनाएको छ । स्टुवार्टले १३ वैशाखमा जिम्मेवारी सम्हाल्नेछन् । हङकङमा चलिरहेको चारदेशीय टी–२० आईमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा नेपालले लगातार खेलमा कतार र कुवेतमाथि सानदार जित निकालेको छ । क्यानले पुरुष तथा महिला खेलाडीको वर्गीकरण गरी मासिक पारिश्रमिक तोकेको छ ।
क्यानले पहिलोपटक आयोजना गरेको नेपाल प्रिमियर लिग भव्य रूपमा सम्पन्न भयो । जनकपुर बोल्ट्सले रोमाञ्चक फाइनलमा धनगढीलाई हरायो । लिगमा विश्व क्रिकेटकै चर्चित खेलाडीको आगमन भएको थियो । भारतका पूर्वखेलाडी शिखर धवनदेखि न्युजिल्यान्डका मार्टिन गुप्तिलसम्मका खेलाडीले लिगमा प्रतिस्पर्धा गरे । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानको निर्माण कार्य भइरहँदा क्यानले मोफसलमा पुरुष तथा महिला प्रधानमन्त्री कप आयोजना ग¥यो । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई हराउँदै तेस्रोपटक उपाधि उचाल्यो ।
प्रधानमन्त्री कपमा सय विकेट लिने पुलिसका ललितनारायण राजवंशी पहिलो क्रिकेटर बने । धनगढीमा भएको महिलातर्फको प्रधानमन्त्री कपमा नेपाल एपिएफले सुदूरपश्चिमलाई हराउँदै उपाधि उचाल्यो । नेपालको यू–१९ टोलीले अफगानिस्तानसँग २–१ ले सिरिज गुमायो । यसै वर्ष महिला क्रिकेटरले युगान्डामा भएको चारदेशीय टी–२० आईमा प्रतिस्पर्धा गर्यो । जसमा नेपालले खराब नतिजा निकालेको थियो । नेपालले हङकङलाई हराउन सफल भयो ।
दसौँ राष्ट्रिय खेलकुदको मिति सरेको सर्यै
गत वर्ष घरेलु खेलाडीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको निकै आशा गरेका थिए । तर, खेलकुदको सर्वोच्च निकाय खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बिचको खिचातानीका कारण प्रतियोगिता तेस्रोपटक सारियो । कर्णालीको सुर्खेतमा पहिलोपटक आयोजना गर्ने भनिएको प्रतियोगिताको तयारीमा मात्र दुई अर्ब खर्च भइसकेको छ । अझ सरकारले ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । २ देखि ९ मंसिरसम्म प्रतियोगिता हुनुपर्ने थियो । त्यसवेला मन्त्री र सदस्यसचिव टंकलाल घिसिङबिचको सम्बन्ध राम्रो हुन नसक्दा मिति सारियो । दोस्रोपटक २३ देखि ३० चैतसम्म आयोजना हुने भनियो । तर, यसपटक पनि प्रतियोतिगा भएन । मन्त्रालय र परिषद् मिलेर आगामी जेठमा प्रतियोगिता हुने भनियो, तर मन्त्री चौधरीले चैतको अन्तिम साता अचानक प्रतियोगिता तेस्रोपटक नहुने घोषणा गरे । पर्याप्त बजेट तथा पूर्वाधार हुँदा र खेलाडीको तयारीबिच पनि आपसी लडाइँका कारण राष्ट्रिय प्रतियोगिता हुन सकेन ।
आइसिसी र ओसिएको नजरमा एनओसी
वर्षभर खेल संस्थामा स्वार्थको राजनीति अत्यधिक भयो । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी) बिच एकआपसमा सहयोग भएन । एकआपसमा स्वार्थ बाझिँदा यी तीनवटै खेलका प्रमुख संस्था आपसी जुँगाको लडाइँमै व्यस्त भएको देखियो । विशेषतः एनओसीमा लगातार तीनपटक अध्यक्ष बन्नका लागि जीवनराम श्रेष्ठले विधान नै परिवर्तन गरे । सन् २०११ मा आफैँ महासचिव रहँदा लगातार दुईपटक अध्यक्ष र महासचिव बन्न नपाउने विधान नै उनले परिवर्तन गराए । विभिन्न पदमा भागबन्डा गरी श्रेष्ठले अदालत र सरकारले निर्वाचन नगर्न दिएको निर्देशनको बेवास्ता गर्दै अनलाइन भोटिङ गराए ।
१३ पुसमा अनलाइन भोटिङबाट उनी लगातार तेस्रोपटक निर्वाचन भए । यद्यपि, यो निर्वाचनलाई राज्यले मात्र नभएर आइओसी र ओसिएले समेत मान्यता दिएको छैन । गत चैत ओसिएले नेपालको ओलम्पिक विवाद मिलाउन कुवेतमा बैठक बोलाएको थियो । ओसिएको मध्यस्थतामा अदालत पुगेका पाँच संघलाई पूर्णकालीन सदस्य प्रदान गर्ने श्रेष्ठ जारी भए । उनले भर्चुअल विशेष साधारणसभामा पाँच संघलाई ओलम्पिकको पूर्ण सदस्यताको मान्यता प्रदान गरे । यति गर्दा पनि एनओसीलाई मान्यता दिन आइओसी पर्ख र हेरको अवस्थामा छ । खेलकुद मन्त्रालयले अदालत र राज्यकै नियम मिचेर निर्वाचित भएका एनओसीका पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । एनओसीका पदाधिकारीले सहज रूपमा विदेश भ्रमण गर्न पाइरहेका छैनन् ।