
अमेरिकाले चैत दोस्रो साता देश निकाला गरेपछि भुटान पुगेका र त्यहाँबाट पुनः निष्कासित भुटानी नागरिकमध्ये चारजना दुई सातादेखि काँकडभिट्टा अध्यागमन कार्यालयको नियन्त्रणमा छन् । उनीहरूलाई भारत फिर्ता पठाउने, नेपालमै शरणार्थी शिविरमा राख्ने वा अन्य कारबाही गर्ने भन्ने विषयमा अध्यागमनकै अधिकारीहरू अन्योलमा छन् ।
भुटानले आफ्ना नागरिक स्वीकार गरेका, तर देशबाट निकाला गरेका १३ जनामध्ये चारजना नेपालमा भए पनि नौजना बेपत्ता छन् । अमेरिकी अधिकारीले पारो विमानस्थलमा बुझाएकामध्ये नेपाल आइपुगेका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङ १५ चैतदेखि काँकडभिट्ट अध्यागमनको हिरासतमा छन् ।
अनुसन्धान सकिएपछि कानुनअनुसार आवश्यक कदम चाल्छौँ : गोविन्दप्रसाद रिजाल, महानिर्देशक, अध्यागमन विभाग
प्रवेशाज्ञाविना गैरकानुनी रूपमा नेपाल प्रवेश गरेका चारजना भुटानी नागरिक हाम्रो हिरासतमा छन् । उनीहरूका सम्बन्धमा अनुसन्धान जारी छ । काँकडभिट्टा अध्यागमन कार्यालयका प्रमुख तुल्सी भट्टराईलाई अनुसन्धान अधिकृत तोकेर जाँचबुझ गरिएको छ । अनुसन्धान प्रतिवेदन तयार भएपछि कानुनअनुसार आवश्यक कदम चाल्छौँ ।
अमेरिकाबाट निष्कासित सबै भुटानी नागरिकलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमार्फत देश निकाला गरिएपछि भुटान प्रहरीले उनीहरूलाई भारत पठाएको थियो । तर, उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेसँगै पक्राउ परेका हुन् । अध्यागमनको अनुसन्धानमा रहेका उनीहरूको भविष्य अझै अनिश्चित छ ।
‘प्रवेशाज्ञाविना गैरकानुनी रूपमा नेपाल प्रवेश गरेका चारजना भुटानी नागरिक हाम्रो हिरासतमा छन् । उनीहरूका सम्बन्धमा अनुसन्धान जारी छ,’ अध्यागमन विभागका महानिर्देशक गोविन्द्रप्रसाद रिजालले नयाँ पत्रिकासँग भने, ‘अनुसन्धान प्रतिवेदन तयार भएपछि कानुनअनुसार आवश्यक कदम चाल्छौँ ।’ उनका अनुसार काँकडभिट्टा अध्यागमन कार्यालयका प्रमुख तुल्सी भट्टराईलाई अनुसन्धान अधिकृत तोकेर जाँचबुझ गरिएको छ ।
अमेरिकी अध्यागमन अधिकारीले १४ चैतमा उनीहरूलाई भुटानको पारो विमानस्थलमा भुटानी अध्यागमन अधिकारीसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । उनीहरूलाई अमेरिकाबाट भारतको नयाँदिल्ली ट्रान्जिट हुँदै पारो विमानस्थल पुर्याइएको थियो । त्यहाँ अमेरिकी अधिकारीले भुटानी अधिकारीलाई ती नागरिक हस्तान्तरण गरेर फर्किएका थिए ।
भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलका अनुसार भुटान सरकारले उनीहरूलाई तत्काल भारत निष्कासित गरेको थियो । ती नागरिकले मानव अधिकारकर्मीसँगको बयानमा भुटानले बाटो खर्च र खानपानसहित उनीहरूलाई भारत–भुटान सीमाबाट पार गराएको बताएका छन् ।
भुटानका अध्यागमन अधिकारीले ती नागरिकलाई धम्कीपूर्ण ढंगमा सोधपुछ गर्दै भुटान छाड्न चेतावनी दिएका थिए । भुटानी अधिकारीले पारो विमानस्थलमै उनीहरूको ट्राभल डकुमेन्ट खोसेका थिए । ‘उनीहरूसँग अहिले कुनै पनि कागजात छैन,’ भुटान पिपुल्स पार्टीका अध्यक्ष पौडेलले भने ।
त्यसपछि सादा पोसाकमा रहेका भुटानी सुरक्षाकर्मीले उनीहरूलाई भारतसँगको सीमावर्ती सहर फुन्चोलिङसम्म ल्याएका थिए । मानव अधिकारवादी संस्था इनहुरेड इन्टरनेसनलको रिपोर्टअनुसार उनीहरूलाई पारोबाट सीधै गाडीमा फुन्चोलिङ ल्याइयो र त्यहाँबाट ट्याक्सीमार्फत भारत पठाइएको थियो ।
हाल भुटानबाट भारत प्रवेश गर्न अध्यागमनमा बायोमेट्रिक प्रक्रिया आवश्यक भए पनि कागजातविहीन ती नागरिकलाई भुटानी र भारतीय सुरक्षाकर्मीको समन्वयमा औपचारिक अध्यागमन प्रक्रिया नपुर्याई सीधै भारतको जयगाउँ प्रवेश गराइएको थियो । जयगाउँबाट सिलगुढीको पानीट्यांकी (नेपाल–भारत सीमा) सम्म पुग्नका लागि भुटानी प्रहरीले नै ट्याक्सी रिजर्भ गरेको र भाडा पनि तिरेको उनीहरूले बताएका छन् ।
पारो विमानस्थलमा भुटानी प्रहरीले उनीहरूलाई प्रतिव्यक्ति १० हजार र फुन्चोलिङमा थप २० हजार नगद प्रदान गरेको जानकारी पनि पीडितहरूले दिएका छन् । नेपाल प्रवेश गरेका तीनजनाले भने नेपाली भाषा बोल्ने व्यक्तिलाई जम्मा २२ हजार पाँच सय नेपाली रुपैयाँ दिएको बयान प्रहरी र मानव अधिकारवादीलाई दिएका छन् ।
नेपाल प्रहरीले तीनजनालाई एकपटक र एकजनालाई बेग्लै पक्राउ गरेको थियो । भुटानी नागरिक आशिष, रोशन र सन्तोष एकपटक तथा अशोकलाई अर्कोपटक प्रहरीले पक्राउ गरेको थियो । उनीहरू सबै नेपालको भुटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वासमा गएका थिए । अमेरिकामा भने उनीहरू विभिन्न मुद्दाको आरोपमा कानुनी दायरामा थिए । उनीहरू अमेरिकाको न्युजर्सी र पेन्सलभेनियामा बस्दै आएका थिए ।
मानव अधिकारवादी संस्था इनहुरेड इन्टरनेसनलका अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटीले पक्राउ परेका चार भुटानी नागरिकलाई सम्मानपूर्वक स्वदेश फिर्ता गराउन नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । यस विषयमा उनले मानव अधिकार आयोगको ध्यानाकर्षण गराइसकेका छन् ।
‘हामीले सरकारका सम्बन्धित निकायहरू अमेरिकी दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी कार्यालय र अन्य अन्तर्राष्ट्रिय समुदायलाई यसबारे जानकारी दिँदै ध्यानाकर्षण गराएका छौँ,’ शिवाकोटीले भने, ‘भुटानले आफ्ना नागरिकलाई स्वीकार गरेर छाप लगाउने, तर देश पुगेपछि पुनः निकाला गर्ने रबैया निकै दुःखद छ । नेपाल सरकारले उनीहरूलाई सम्मानपूर्वक भुटान फिर्ता गराउन तत्काल कूटनीतिक पहल गर्नुपर्छ ।’ ३४ वर्षपछि भुटानले ती नागरिकलाई आफ्नो नागरिक भनेर स्वीकार गर्नु नेपालमा रहेका अन्य भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि आधार हुन सक्ने उनी बताउँछन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने, ‘चार व्यक्तिबारे गृह मन्त्रालयले हेरेको छ ।’ उनले भुटानी शरणार्थी स्वदेश फिर्ता हुनुपर्ने नेपालको सैद्धान्तिक अडान रहेको बताए । ‘नेपालमा रहेका भुटानी शरणार्थी यथाशीघ्र र सम्मानपूर्वक स्वदेश फर्किन पाउनुपर्छ ।’
साढे ६ हजार भुटानी शरणार्थी स्वदेश फिर्ताको पर्खाइमा
पूर्वी नेपालका दुई शिविर (बेलडाँगी र पथरी–शनिश्चरे)मा रहेका ६ हजार पाँच सय भुटानी शरणार्थी स्वदेश फिर्ताको पर्खाइमा छन् । तेस्रो मुलुक पुनस्र्थापनामा एक लाख १३ हजारभन्दा बढी भुटानी अमेरिका, बेलायत, नर्वे, नेदरल्यान्ड, न्युजिल्यान्ड, डेनमार्क, क्यानडा र अस्ट्रेलियामा गएका छन् । अन्तर्राष्ट्रिय समुदायको सक्रियतामा सन् २००६ देखि भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वासमा गएका हुन् । उनीहरूमध्ये अधिकांश सम्बन्धित देशको नागरिक भइसकेका छन् । अमेरिकासहित पश्चिमा मुलुकले बाँकी शरणार्थीलाई नागरिकता दिएर नेपालमै राख्न कूटनीतिक दबाब दिँदै आए पनि नेपालले अस्वीकार गर्दै आएको छ । भुटानले सन् १९९० को दशकमा जबर्जस्ती खेदिएका नागरिक शरणार्थी नभएको जिकिर गर्दै आएको छ ।
नेपाल र भुटानबिच भुटानी शरणार्थीका विषयमा २२ वर्षदेखि वार्ता हुन सकेको छैन । दुई देशबिच २००३ फेब्रुअरीमा १५औँ चरणको वार्तापछि पन्छिएको भुटान संवादमै बसेको छैन । दुई देशबिच सन् १९९३ देखि २००३ सम्म शरणार्थीको मुद्दामा भएका वार्ता निष्कर्षविहीन बनेका थिए । पछिल्लोपटक ०७२ को मंसिर पहिलो साता भारत र भुटानका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायले थिम्पुमा भुटानी राजा जिग्मी गेसर नाम्ग्याल वाङचुकसँग ओहोदाको प्रमाणपत्र बुझाउँदा शरणार्थी समस्याको विषय स्मरण गराएका थिए । उपाध्यायका अनुसार त्यतिवेला उनले नेपालमा रहेका भुटानी शरणार्थीले अझै पनि राजा र भुटानप्रति बफादार रहेको कुरा उठाएपछि उनले वार्ता अघि बढाउने आश्वासन दिएका थिए । पूर्वराजदूत उपाध्याय सम्झिन्छन्, ‘तर, भुटानी राजाले आश्वासन पूरा गरेनन् ।’