
महोत्तरीमा एक व्यक्तिको घरमा दिनदहाडै तोडफोड गरी घरधनीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जलेश्वर नगरपालिका– ११, पिगौनानिवासी हरेराम झाको घरमा तोडफोड तथा परिवारका सदस्यमाथि कुटपिट भएको हो।
शनिबार साँझ मिटरब्याजपीडित भन्दै दुई सयभन्दा बढीको संख्यामा आएकाहरूमध्ये केही व्यक्तिहरूले तोडफोड र कुटपिट गरेकाे झाले बताए। आफ्नो जग्गामा लगाएको आँपसहित विभिन्न प्रजातिका रुखहरू काटेर नष्ट गरेको, भित्ता भत्काएको, परिवारका सदस्यहरूलाई कुटपिट गरेको उनको आरोप छ।
आरोपीहरूविरुद्ध आवश्यक वस्तु तोडफोड गर्न नहुने शीर्षकको मुद्दा दर्ता गरी तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिए। उनीहरूमाथि अदालतबाट तीन दिनको म्याद लिई अनुसन्धान सुरु गरेको र अन्य आरोपीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
विपक्षी भोला ठाकुरसँग आफूले जग्गा किनेकोमा पछि उनले मिटरब्याजीको आरोपमा निवेदन दिएको र अहिले जग्गा कब्जा गर्ने उद्देश्यले समूह बनाएर आक्रमण गरेको जिकिर गरेका छन्।