
शोभायात्रा कार्यक्रममा दुई समूहबिच तनाव र झडपपछि वीरगन्जमा कर्फ्यु लगाइएको छ । विश्व हिन्दु परिषद् नेपाल, वीरगन्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगन्ज महानगरपालिका– २ श्रीराम हलस्थित जामा मस्जिदअगाडि पुग्दा झडपको अवस्था आएको थियो । हनुमान जयन्तीको शोभायात्रा नगर परिक्रमा गराउने क्रममा छपकैया चोकमा तनाव भएपछि प्रशासनले आइतबार १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार छपकैया चोकमा रहेको जाइज बिरयानी र अन्य केही पसलमा आगजनी भएको छ । धार्मिक शोभायात्रामा घरको छतबाट कसैले ढुंगा फाल्दा तनाव भएको देखिएको उनले बताए । उनका अनुसार तनावपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । घटनामा एक प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भएका छन् । जसमध्ये तीनजनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार १२ बजेसम्म कर्फ्यु
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै वीरगन्ज महानगरआसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पूर्वमा वीरगन्ज– १५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज– २५ को सिर्सिया चोक, उत्तरमा वीरगन्ज– १४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज– १६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको छ । प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्ने गरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।