१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Friday, 02 May, 2025
मेखराज उदय
२o८१ चैत ३० शनिबार o९:२४:oo
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
मेखराज उदय
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार o९:२४:oo
  • भारत त्यो वेला पनि धर्मनिरपेक्ष मुलुक भएकाले अदालतमा जातभातका मुद्दा चल्दैनथ्यो । नेपाली भने विदेशी जुनसुकै मुलुकमा पुगे पनि नेपालमै ल्याएर धर्माधिकारी अर्थात् राजगुरुद्वारा पतिया गरिने प्रचलन थियो । नेपालमा हुकुम प्रमांगी (हुप्र)बाट अछुतलाई छुत बनाइएको इतिहास छ ।

नेपाल दक्षिण एसियाकै पहिलो स्वतन्त्र र सार्वभौम मुलुक हो । प्राचीन नेपालको वर्णन धेरै पुस्तकमा पढ्न पाइन्छ । विभिन्न जाति–समुदायले राज्यसत्ता र शक्तिका निम्ति रक्तपातपूर्ण उपद्रो मच्चाएर शासन हातमा लिएका ऐतिहासिक कथा (दस्ताबेज ?) लिखित छन् । विशेषगरी गोरखाली राजा पृथ्वीनारायण शाह र उनका सन्तानद्वारा विस्तारित हालको नेपाल के हो, के होइन भन्नेबारे बुझ्नुपर्ने हुन्छ । नेपालमा करिब २४० वर्ष शाह राजाहरूको शासन चल्यो । सुरुवातीकालदेखि नै खस राजा (यद्यपि यो विषय विवादित छ ।) का खस भारदार नै मुख्य सत्ता साझेदार थिए । उता हिन्दु सम्राट् नाम दिइएको शाही राजतन्त्रको मुख्य सञ्चालक, निर्देशक र सर्वाधिकार भने बाहुनवाद, ब्राह्मण धर्ममा निहित थियो ।

प्रधानमन्त्री चन्द्रशमशेर राणा कुनै वेला भारतको कलकत्ता पुगेका थिए । त्यस अवसरमा प्रधानमन्त्री राणा समक्ष सिक्किम गान्तोक निवासी मानवीरसिंह रसाइली नेतृत्वको टोलीले एउटा स्वर्णपत्रमा लिखित बिन्तीपत्र पेस गरे । इतिहास शिरोमणि बाबुराम आचार्यका बमोजिम उक्त बिन्तीपत्रमा लेखिएको थियो, ‘हामी विश्वकर्माका सन्तान हौँ र अज्ञानवश अछुत भएका हौँ । हाम्रो पानी चल्नुपर्छ । यति मात्रै होइन, हामीले अज्ञानतावश त्यागेको यज्ञोपवित (जनै) धारण गर्न पाउनुपर्छ । विश्वकर्माका सन्तान भएकाले हाम्रो स्थान अन्य क्षत्रीसरह हुनुपर्छ ।’ नेपालमा मगर, गुरुङ, नेवारलगायत जनजाति वा अन्य जाति ब्राह्मणलाई गाई, जमिन वा धनदौलत दान गरी ठकुरी, क्षेत्री आदि सरह जातोन्नति गराइएका प्रशस्तै उदाहरण छन् ।

यस प्रसंगमा एउटा घटना जोडिन्छ । भारतमा ‘जांगिलोत्पत्ति’ नामक पुस्तक प्रकाशित भयो । त्यो विश्वकर्माका सन्तानबारे महत्वपूर्ण जानकारी समेटिएको ग्रन्थ हो । त्यसैले भारत प्रवासमा बसोवास गर्ने रसाइली, खाती आदि तत्कालीन समाजमा अछुत मानिने थरका व्यक्तिले आफूहरू विश्वकर्माका सन्तति रहेको विश्वास गर्दै प्रधानमन्त्री राणासमक्ष बिन्तीपत्र पेस गरेका थिए ।

प्रधानमन्त्री चन्द्रशमशेरले जवाफमा भने, ‘म अहिले विदेशमा छु । अर्काको देशमा मैले जातभातको कुरा गर्नु ठिक हुँदैन । त्यसकारण नेपालमा आए जो गर्नुपर्ने कुरा गराैँला ।’ (हाम्रो समाज : एक अध्ययन, लेखक : जनकलाल शर्मा ।) 

भारत त्यो वेला पनि धर्मनिरपेक्ष मुलुक भएकाले अदालतमा जातभातका मुद्दा चल्दैनथ्यो । नेपाली भने विदेशी जुनसुकै मुलुकमा पुगे पनि नेपालमै ल्याएर धर्माधिकारी अर्थात् राजगुरुद्वारा पतिया गरिने प्रचलन थियो । नेपालमा हुकुम प्रमांगी (हुप्र)बाट अछुतलाई छुत बनाइएको इतिहास छ । इतिहासकार डोरबहादुर विष्टको चर्चित पुस्तक ‘भाग्यवाद र विकास’मा राणाहरूको हुप्रद्वारा काठमाडाैँ उपत्यकाका अछुत मानिने ज्यापु जातिको पानी चलाएको अर्थात् छुत बनाइएको प्रसंग उल्लिखित छ । साथै विश्वभक्त दुलाल आहुति लेखक तथा राजेन्द्र महर्जन सम्पादक रहेको पुस्तक ‘नेपालमा वर्णव्यवस्था र वर्ग–संघर्ष’अनुसार नेवार समुदायभित्रको महर्जन र तराईका तेली साहलाई राणाहरूले हुप्रद्वारा नै पानी चल्ने जात (छुत) बनाएको उल्लेख छ । 

अब सिक्किम गान्तोकतर्फ नै फर्कौं, त्यस समयको कट्टर सामाजिक व्यवस्था भएको नेपालमा एउटा अछुत जातले पानी चलाइमाग्नु, त्यसैमाथि यज्ञोपवितसमेत माग्नु जघन्य अपराध मानिन सक्थ्यो । त्यसैले चन्द्रशमशेरले नेपाल आउन भने पनि उनीहरू नेपाल आउने हिम्मत गर्न सकेनन् । त्यसैबिच भारतमा सन् १८७४ मा स्वामी दयानन्द सरस्वतीले ब्राह्मणहरूको पहिलो संगठन ‘आर्य समाज’ नामक संस्था गठन गरे । सरस्वतीद्वारा लिखित एक महत्वपूर्ण ग्रन्थ ‘सत्यार्थ प्रकाश’ सोही साल प्रकाशित भयो । उनले कर्म सिद्धान्त, पुनर्जन्म, ब्रह्मचर्य तथा सन्न्यासलाई आफ्नो दर्शनको चार स्तम्भ बनाएका थिए । सरस्वतीले हिन्दु शब्दको घोर विरोध गरेका थिए र सन् १८७६ मा ‘स्वराज्य’को नारा दिएका थिए । उक्त स्वराज्य, जसलाई बाल गंगाधर तिलक हुँदै अन्त्यमा गान्धीले अघि बढाए ।

सत्यार्थ प्रकाशअनुसार अहिन्दुहरूसमेत संस्कारद्वारा ब्राह्मण, क्षेत्री बन्न सक्थे । त्यस समय केही युरोपियन परिवारका सदस्य पनि संस्कारद्वारा ब्राह्मण बनेका उदाहरण छन् र पछि तिनैले आफ्नो थर शर्मा लेख्न थाले । सोही अवसरमा नेपालमा निराश भएका रसाइली, खाती आदि विश्वकर्मा उपाधिधारी जातिहरू आर्य समाजको सहयोगमा सिक्किम, दार्जिलिङ, भुटान र आसाम आदि स्थानबाट एकै ठाउँमा जम्मा भई संयुक्त रूपमा यज्ञोपवित (जनै) धारण गरे । उनीहरूको धर्म, जात परिवर्तनको अभियानमा काशीहिन्दु विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको विशेष सहयोग एवं साथ थियो ।

यसरी अछुतलाई छुत बनाउने, जातको स्तरोन्नति गर्नेसम्मको सामथ्र्य राख्ने राणाशासक खासमा को थिए र उनीहरू राणा बन्नुपूर्वको सामाजिक हैसियत के थियो ? यो जान्नु यहाँ प्रासंगिक तथा मनासिब देखिन्छ ।

१९१३ सालमा श्री ३ महाराज राणाजी बन्नुपूर्व जंगबहादुर गोरखाका कुँवर थिए । उनको पिताको नाम थियो, वीरनरसिंह कुँवर । अब कुँवर को हुन् र कसरी राणाजी बने भन्ने सवालको जवाफ खोजौँ । 

नेपालमा दासप्रथाको अन्त्य भएको भर्खरै एक शताब्दी पूरा भएको छ । १४ माघ १९८१ मा दासप्रथा अन्त्य घोषणा गरिएको थियो । त्यस समयपूर्व प्रत्येक हुनेखाने परिवारसँग अनेक दासदासी अर्थात् कमाराकमारी हुन्थे । त्यस्ता दासदासीको सामाजिक मर्यादा पशुभन्दा पनि तल्लो दर्जामा हुन्थ्यो र उनीहरूको खरिद–बिक्री पनि गरिन्थ्यो । त्यस्ता दासदासीले नाथ सम्प्रदायमा दीक्षित भएर त्यो मत वा सम्प्रदाय अपनाउनासाथ उनीहरूको सामाजिक मर्यादा बढेर जान्थ्यो । त्यसैकारण पनि अनेक दासदासी नाथ सम्प्रदायमा दीक्षित हुन्थे । नाथयोगीहरू आफूलाई मूलतः सिद्ध गोरखनाथका अनुयायी मान्छन् । नाथ सम्प्रदायमा शैव र बज्रयानी प्रभाव प्रशस्त पाइन्छ । त्यसकारण यिनीहरू पञ्चमकारमा विश्वास राख्थे । पञ्चमकारमा मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन पर्छन् । 

सिद्धिका नाममा राखिने मुद्रा वा साध्याको संख्या पनि प्रशस्त भयो । ती मूलतः साधनाका मुद्रा वा साध्या भए पनि योगाभ्यासको शिथिलताले गर्दा रखौटीमा परिणत भए । रखौटी भएपछि सन्तानलाभ हुनु स्वाभाविकै भयो । यिनको संख्या पनि क्रमशः अत्यधिक बढेर आयो । शाह राजाहरूका अनेक पत्रमा नाथ सम्प्रदायका जोगीले मुद्रा वा साध्याका नाममा रखौटी राखेर मुद्दा परेको पढ्न पाउँछौँ । त्यसरी जन्मेका जातकको एउटा सामाजिक व्यवस्था हुनु आवश्यक थियो र भयो पनि । नाथ सम्प्रदायका कनफट्टा जोगीका यस्ता सन्ततिलाई कँवर वा कुँवर भनियो । यस्ता कँवर वा कुँवर शब्दको तात्पर्य हो, कर्म नचलेका । (उही : जनकलाल शर्मा) नाथ सम्प्रदायका अनुसार कर्म चलाउनुको अर्थ हो, छुराले कान चिराउनु । यो कान चिराउने कार्य अत्यन्त बीभत्स र डरलाग्दो हुन्छ । त्यसको घाउ पाकेर कसैको मृत्युसमेत हुन सक्छ । त्यसैले सबै व्यक्तिले यस्तो कार्यमा भाग नलिनु स्वाभाविक हुन आउँछ । नाथ जोगीका यस्ता कान नचिराउने सन्ततिको सामाजिक मर्यादा दासदासीको भन्दा धेरै माथि हुन्थ्यो । यस्तो कान नचिराउनेको संख्या निकै भयो र ती कुँवर भए । नाथ जोगी यस्ता सन्तानलाई भिक्षा माग्न निषेध गरियो र राति मात्रै भिक्षा माग्न सक्ने नियम बनाइयो । त्यसैकारण यस्ता कर्म नचलेका कुँवर जोगीहरू गाउँ, बस्तीमा गएर रातभरि बराँत अर्थात् कालो मृगको सिङ बजाएर फेरी लगाउँछन् र दिउँसो सीधा उठाउने गर्छन् । नेपालमा अझैसम्म पनि कुँवर जोगीले यस्तो कार्य गर्ने परम्परा यथावत् छ ।

राजा सुरेन्द्रविक्रम शाहबाट जंगबहादुर कुँवरलाई श्री ३ महाराज घोषणा गर्ने कार्यमा ब्राह्मण, पुरोहितहरूले त्यसैकारण अस्वीकार गरे । पछि दक्षिण भारतका राणाजीहरूसँग कुनै नाता सम्बन्धै नरहेका कुँवरहरूलाई काल्पनिक नाता बनाई राणाजी घोषित गरेर मात्रै जंगबहादुर राणा श्री ३ महाराज घोषित गरिएको इतिहास छ । राणाहरू कुँवर रहेको अर्काे पनि प्रमाण छ । राणाहरूको कुलदेउताको पूजा हुने अवसर अर्थात् देवालीमा गोरखाका कुँवरहरूले पनि सम्मिलित हुनु अनिवार्य मानिन्छ । राणाको वंशज नभए यिनीहरू देवालीमा सम्मिलित हुने कुरै आउँदैन । त्यसैले राणाजीहरू ब्राह्मण, पुरोहितको निगाहामा कुँवरबाट जात र मर्यादा बढाइएका हुन् ।

गोरखाली राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरुवाती चरणमा कुलानन्द उपाध्याय ढकाल ज्योतिषी थिए । उनै कुलानन्दको साइतमा आक्रमण गर्न जाँदा पृथ्वीनारायणले भनेजस्तो नभएपछि सिन्धुपाल्चोक जिल्ला जरायोटारका एक ज्योतिषीलाई दरबार पुर्‍याइयो । उनको नाम भवानीशंकर उपाध्याय हो । संयोग कस्तो भयो भने उनको साइतमा पृथ्वीनारायणले गरेको आक्रमणमा जित हुन थाल्यो । 

यस्तै घटना वैदिक कालमा पनि भएको थियो । क्षत्रीय राजा सुदासका पुरोहित थिए, वशिष्ठ । वशिष्ठको जन्म मित्रावरूण देवता (आर्य) र उर्वशी नामकी अप्सराको संयोगबाट भएको थियो । वशिष्ठको प्रतिभासामु सुदासको त्यसै धमिलिएर जाने भएका कारण उनले वशिष्ठको ठाउँमा विश्वामित्रलाई आफ्नो पुरोहित बनाए । ज्ञातव्य छ, विश्वामित्र ज्ञान प्राप्तिका कारण क्षत्रीयबाट ब्राह्मण बनेका थिए । यहाँ स्मरणीय कुरा के छ भने राजा क्षत्रीय सुदास भए पनि ब्राह्मण पुरोहितको सल्लाहमा राज्य चलाइन्थ्यो । पछि दुवै ब्राह्मण पुरोहित वशिष्ठ र विश्वामित्र गोत्र प्रवर्तक ऋषिका रूपमा प्रसिद्ध भए । त्यसैले वैदिक धर्म, यसका शासनसत्ताको सर्वाधिकार ब्राह्मण, पुरोहितको नियन्त्रणमा चल्दै आएको छ ।