
जनता समाजवादी पार्टीकी नेतृ डा. बबी सिंह यादवले पारिवारिक जमघटमा ‘पेस्तोल’ बोकेर नाच्दै फायरिङ गरेको भिडियोसार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ । ११ वैशाखमा उनले सर्लाहीको मलंगवा नगरपालिका–५ भाड्चौरका बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दीरसम समारोहमा पड्काएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कोमल नेतृ यादवको मामाकी छोरी हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार यादवले सप्तरी प्रहरीमा दिएको बयानको आधारमा नाच्दै फायरिङ गरिएको ‘पेस्तोल’ बिहीबार मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घर खानतलासी गर्दा बरामद गरिएको छ । ‘यादवले सप्तरी प्रहरीमा दिनुभएको बयानका आधारमा तत्काल प्रहरी परिचालन गरी खानतलासी गर्दा ‘पेस्तोल’ बरामद भएको हो,’ उनले भने, ‘बरामद भएको ‘पेस्तोल’ हेर्दा पटाका राखेर पड्काउन मिल्ने खेलौना जस्तो देखिन्छ । सक्कली हो कि नक्कली भन्ने यकिन गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइँदैछ ।’ ‘‘पेस्तोल’’ बरामद गरेपछि घटनास्थल, बरामदी मुचुल्कालगायत आवश्यक प्रक्रिया पूरा गरी परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । यादवले नाच्दै ‘पेस्तोल’ पड्काएको टिकटकमा भाइरल भएको छ ।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले ‘‘पेस्तोल’’ बोकेर नाच्दै फायरिङ गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि तत्काल नेतृ यादवलाई बोलाएर सोधपुछ गरिएको बताए । सोधपुछको क्रममा यादवले त्यसरी पड्काएको खेलौना ‘‘पेस्तोल’’ सर्लाही मलंगवाको वैवाहिक समारोहको रहेको र उतै छाडेर आएको बयान दिएपछि सर्लाही प्रहरीले सोधखोज र अनुसन्धान गरेको उनले बताए । ‘नक्कली भनिएको ‘पेस्तोल’समेत सर्लाही प्रहरीले बरामद गरिसकेकाले उतैबाट अनुसन्धान हुन्छ,’ उनले भने । राष्ट्रिय सभा सदस्य तथा जसपा नेपालका नेता मृगेन्द्रसिंह यादवकी छोरी यादवको घर बोदेबर्साइन र राजविराजमा समेत रहेकाले आफूहरूले बोलाएर सोधपुछ गरेको उनले बताए ।
हतियार प्रदर्शनमा जनमतका सांसद पनि
गत ३ फागुनमा रौतहटको गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा पुगेका जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेदले दुईजना बन्दुकधारीलाई दुई छेउमा राखेर खिचिएको फोटो र भिडियो सार्वजनिक भएको थियो । जिल्ला इञ्चार्ज जमसेदले हतियार प्रदर्शनको फोटो फेसबुकमार्फत् सार्वजनिक गरेपछि स्थानीय प्रशासनले छानबिन थालेलगत्तै कारबाहीमा पर्नसक्ने भयले हटाएका थिए । त्यतिबेला स्थानीय प्रहरीले लाइसेन्सप्राप्त हतियार रहेको भन्दै सामान्य सोधपुछ गरेर दुवैजनालाई छाडेको थियो । बन्दुकधारी दुईजनाको बीचमा सोफामा बसेका सांसद खान र जमसेद त्यसपछि घुमफिरसमेत गरेको फोटो सार्वजनिक भएपछि हतियार प्रदर्शन गरी सर्वसाधारणलाई आतंकित बनाउन खोजिएको भन्दै चौतर्फी आलोचना भएको थियो । इजाजतप्राप्त हतियार बोकेका दुईजनासमेत जनमत पार्टीका स्थानीय सदस्य रहेको खुलेपछि प्रहरीले कुनै कारबाही नगरी हतियार र दुईजनालाई जमसेदको जिम्मा लगाएर छाडेको थियो ।