जात व्यवस्था के हो ? यसको सुरुवात कहिले र कसरी भयो ? जातीय विभेद र छुवाछुत अपराधबाट कसरी मुक्ति प्राप्त गर्न सकिन्छ ? जातका आधारमा गरिने विभेद र छुवाछुत प्रथाविरुद्ध राजीतिक र सामाजिक अभियान सञ्चालन गरिरहेका अधिकांश अभियन्तासमेत यी सवाल बुझ्न जरुरी ठान्दैनन् । अर्थात्, यी सवाल गौण ठान्दै मुक्ति आवश्यक रहेको जिकिर गर्दै आइरहेका छन् ।
विगतमा जात (वर्ण) व्यवस्था राज्यको सैद्धान्तिक, निर्देशक सिद्धान्त, धार्मिक मान्यता मात्रै होइन, बाध्यकारी वैधानिक एवं कानुनी व्यवस्था, सामाजिक—सांस्कृतिक र आर्थिक उत्पीडनको साधन थियो, हो । विश्वका राजनीति, राज्यसत्ता र शासनको साधन धर्म र धर्म शास्त्रहरू हुन् । साध्य भने राज्यसत्ता, शक्ति, सम्पत्ति र राजनीति हुन् । उदाहरणका लागि हाम्रो पूर्वीय दर्शनको यथेष्ट ऐतिहासिक तथ्य, प्रमाण उपलब्ध छैनन् ।
पौराणिक कथाहरू, जो प्रायः मिथकीय कथा हुन्, तिनै हाम्रा इतिहाससमेत हुन् । पाप र धर्म नै अपराध र न्यायको रूपमा विकसित भए । अर्थात्, पाप लाग्ने कार्य भन्नु गैरकानुनी वा अपराध कर्म हो । धर्म वा पुण्य कर्म भन्नु आधुनिक जमानामा न्यायिक वा वैधानिक कार्य हो । स्मरणीय के भने शासकले आफुअनुकूल धर्म र पाप अर्थात् न्याय र अपराधको सिद्धान्त र नियम निर्धारण गरे । तिनलाई कडाइसाथ लागू गरे । जस्तै– वेद, मनुस्मृति आदि शास्त्रीय पुस्तक नै तत्कालीन कानुनका रूपमा लागू गरिए ।
निःसन्देह विधान, ऐन–कानुन निर्माण गर्ने जाति–समुदायले त्यसलाई आफूअनुकूल बनाए र लागू गरे । जात व्यवस्था, महाभारत युद्ध, सेनापति इन्द्रलाई कथित स्वर्गका राजाको मान्यता दिइनु, ब्रह्मालाई सृष्टिकर्ता घोषणा गरिनु इत्यादि आर्य र अनार्य समुदायबीचको सत्ता द्वन्द्वका (धेरैजसो मिथकीय) कथा हुन् । आर्य वा आर्याक, इराक, इरान आदि मुलुक हुँदै विशाल महाभारत भूमिमा प्रवेश गरेको प्रामाणिक इतिहास जीवितै छ ।
जात व्यवस्थाको सुरुवात वैदिक कालमा भएको मानिन्छ । त्यसअघि वर्ण व्यवस्था थिएन । समाजमा वर्ग विभाजन भने त्यसअघि नै विकसित भइसकेको थियो ।
आर्य शब्दबाट इरान शब्द बन्यो, जो अहिले विश्व मानचित्रमा एक देश हो । जुन देशको प्राचीन नाम फारस हो । आर्य घुमन्ते, फिरन्ते जाति थिए । यहाँ अनार्य समुदायको साम्राज्य विकसित भइसकेको थियो । उनीहरूले परिवार, खेतिपाती, पशुपालन, फलाम आदि धातु र औजारको आविष्कार गरिसकेका थिए । अनार्य भन्नाले द्रविड, आस्ट्रिक, मंगोल आदि जाति थिए । आर्य र अनार्यबीच भाषा, धर्म, रङ, शारीरिक बनोट आदिमा भिन्नता थियो ।
आर्यहरूले यहाँका अनार्य अर्थात् मूलवासी समुदायका खेतिपाती, आवास, पशुपक्षी र तिनका चरन, स्त्री आदि कब्जा गरे । आर्यहरूले आफूभन्दा पृथक् वा कालो वर्ण (रङ ) भएका मूलवासी समुदायप्रति घृणाभाव देखाउन उनीहरूलाई दैत्य घोषित गरे । कालो भैँसीलाई दैत्यको प्रतीक मान्दै भैँसीको दूधसमेत अपवित्र करार गरे । तसर्थ मन्दिरमा गाईको दूध पवित्र मानेर चढाइने तर भैँसीको दूध अपवित्र ठानी नचढ्ने नियम बनाए । कालो बिरालोदेखि तर्सने कारणसमेत यही वर्णगत मान्यता हो । यी कुराले धेरै कुरा बताउँछन् । हडप्पा र मोहेनजोदाडो (इ.पू. ३३०० देखि १३०० को बीच)को इतिहासले यही तथ्यलाई प्रमाणित गर्छ । सिन्धु नदी सभ्यतामा आर्य–अनार्यबीच द्वन्द्व र संघर्ष चलि नै रह्यो । सत्ता विरासतको संघर्ष अझै समाप्त भएको छैन, बरु आमने–सामने हुँदै छ ।
जात व्यवस्थाको सुरुवात वैदिक काल वा सभ्यताको समयमा भएको मानिन्छ । त्यसअघि वर्ण (जात) व्यवस्था थिएन । समाजमा वर्ग विभाजन भने त्यसअघि नै विकसित भइसकेको थियो । वैदिक काललाई दुई भागमा बाँडिएको छ । पहिलो ऋग्वैदिक काल (१५००—१००० ई.पू.) र दोस्रो उत्तर वैदिक काल (१०००—६०० ई.पू.)। वैदिक काल प्राचीन भारतीय संस्कृतिको एक कालखण्ड हो, जति वेला वेदहरू रचना गरिए ।
हडप्पा सभ्यताको पतनपश्चात् विकसित गरिएको सभ्यता, संस्कृति नै वैदिक सभ्यता हो । ‘ऋग्वेद पुरुष सूक्त’मा आधारित व्यवस्था नै वर्णाश्रम व्यवस्था हो । हिन्दू वा ब्राह्मण धर्म वर्णाश्रम धर्म हो, किनभने यसको मुख्य आधार नै वर्ण व्यवस्था वा विभाजन हो । त्यो सूक्तका अनुसार ब्रह्मा भनिने आदि पुरुषको शरीरबाट चार वर्णको उत्पत्ति भयो । ब्रह्माको मुखबाट ब्राह्मण, छातीबाट क्षेत्रीय, पेटबाट वैश्य तथा पैतालाबाट शूद्र वर्णको जन्म भएको उल्लेख गरिएको छ ।
त्यस्तै भागवत गीताको सार हो, ‘वर्णाश्रम व्यवस्था वर्णमा आधारित छ । वर्णको अर्थ रङ नै हो । रङ पुस्तान्तरणसँगै बदलिन सक्छ, तर यो वर्णाश्रम व्यवस्था बदलिँदैन । किनभने यो व्यवस्था जन्मको आधारमा निर्धारण गरिएको छ । जस्तै– कालो वर्णको व्यक्तिको सन्तान गोरो र गोरो वर्णको व्यक्तिको सन्तान कालो वर्णको हुन सक्छन् । तर, शूद्र वर्णको सन्तान शूद्र, ब्राह्मण वर्णको सन्तान ब्राह्मण नै हुन्छ । यहाँ सन्तानको रङ बदलिएजस्तो वर्ण व्यवस्था बदलिँदैन । किनभने वर्ण व्यवस्था जन्मका आधारमा निर्धारित हुन्छ, कर्म वा अन्य आधारमा होइन ।’
श्रीमद् भागवत् गीताका अनुसार स्त्री, वैश्य र शूद्रको पापयोनीबाट जन्म भएको हो । वर्णाश्रम व्यवस्थामा स्त्रीको स्थानसमेत शूद्रकै स्थानमा राखिएको छ । स्त्री वा महिलालाई भूमिसँग तुलना गरिनुका दुइटा कारण छन् । पहिलो, महिलामा सन्तान उत्पादन गर्ने क्षमता हुनुका कारण हो । भूमि वा पृथ्वीमा कुनै अनाज वा कुनै वनस्पतिको बीज झारियो भने उम्रिएजस्तै स्त्रीको कोखमा कुनै पुरुषको वीर्य पर्यो भने सन्तान उत्पादन गर्ने अद्भूत क्षमता राख्छन् । दोस्रो कारण भने सामूहिक बसोवासको कालखण्डमा स्त्रीलाई बेलगाम जोकोही पुरुषले भोग गर्न पाउने नियम थियो । त्यसैले शास्त्रहरूमा ‘वीर भोग्या वसुन्धरा’ अर्थात् जो पुरुष ताकतवर छ, उसले महिलालाई बलपूर्वक नियन्त्रणमा लिई भोग गर्न सक्छ । स्त्रीलाई कुनै वस्तु वा सामानजस्तै दान गर्ने प्रचलन पनि यही सिद्धान्तमा आधारित छ ।
संस्कृतमा एउटा भनाइ छ, ‘स्त्री धनम् सर्व धनम् प्रधानम् ।’ अर्थात स्त्री (पुरुषको ) सबै धनमध्येको प्रमुख धन हो । ब्राह्मण धर्मले स्त्रीलाई धन वा सम्पत्तिको रूपमा परिभाषित गर्छ । कन्यादान यसको एक उदाहरण हो । स्त्रीलाई धन (सम्पत्ति) भनियो भन्ने विरोध आउन थालेपछि आधुनिक समयमा पण्डितहरूले घुमाउरो व्याख्या गरे । भन्दै छन्, स्त्रीलाई धन भनिएको होइन ।
स्त्रीबाट प्राप्त हुने अर्थात् बिहे हुँदा उनको माइतीबाट प्राप्त हुने धनलाई सबैभन्दा प्रमुख धन भनिएको हो । स्त्रीसँगै प्राप्त गरिने धन अर्थात् दाइजो । दाइजो प्रथा अत्यन्तै घृणित प्रथा हो । त्यस्तै धर्मपत्नी घृणित शब्द हो । शास्त्रअनुसार पत्नीको अर्थ दासी, कमारी आदि हो । तसर्थ धर्मपत्नी अर्थात् धर्मले दिएको दासी । धर्मअनुसार (पुरुषले) राखेको दासी । स्मरण रहोस्, सती प्रथा जीवित रहुन्जेल ब्राह्मण धर्म विश्वकै सबैभन्दा ठूलो आततायी धर्म थियो । स्त्रीलाई मरेको पतिको लाससँगै जिउँदै जलाइने कुप्रथाले धर्म नै घृणित बन्न पुग्यो ।
हुन त कतिपय दलित, उत्पीडित समुदायको संघर्षरत अभियन्ताको कुतर्क यस्तो पनि सुनिन्छ, जातीय मुक्तिका लागि निरपेक्ष नेपाली समाधानको बाटो खोजौँ । भारत वा अन्य देशको कुरा वा समाधानको बाटो त्यागौँ । यो कुतर्कको कुनै जवाफ छैन । किनभने जातीय व्यवस्था र छुवाछुत प्रथा नेपालको उत्पादन होइन । केही वर्षअघि पूरा विश्वमा फैलिएको कोरोना महामारीको विश्वभरि एउटै उपचार विधि छ । खोप एउटै छ । नेपालको कोरोना र भारत, अमेरिका, चीन, बेलायत, जापान वा कोरियामा कोरोनाको भाइरस एउटै भएकाले त्यसको उपचार विधि र खोप पनि समान भएका हुन् ।
केही दशकअघि ठूलो महामारीका रूपमा फैलिएको र धेरै मानिसको ज्यान लिएको बिफर फरक देशमा फरक भाइरसका कारण भएको थिएन । विश्वमा बिफरबाट मुक्ति दिलाउने भ्याक्सिन पनि एउटै हो । क्यान्सरको उपचार विधि विश्वभर उस्तै हुन् । त्यसैले ब्राह्मणीय धर्म व्यवस्था र हिन्दू अतिवादी राजनीतिको कारण उत्पादित वर्ण (जात) व्यवस्था नामको महामारी संसारभर एउटै समस्या हो । त्यसैले यसको उपचार विधिसमेत एउटै हुनु स्वाभाविक हुन्छ । अन्त्यमा, भारतका प्रसिद्ध जातिवादविरोधी बहुआयामिक व्यक्तित्व महात्मा ज्योति राव फुलेको स्मरणीय भनाइसँगै यो लेखको बिट मारौँ । उनी भन्छन्, ‘मुक्ति संघर्षमा समर्पित भई लागेको व्यक्तिको जाति, समुदाय नसोध्नुस् ।’ आउनुस् यो अन्याय, अपराधबाट मुक्तिका लागि न्यायप्रेमी, मानवतावादी सबै एकजुट भई लागौँ ।