उत्पीडित समुदाय उभिएको स्थानबाट देखिने राज्य जस्तो र जसको देखिन्छ, त्यस्तै धारणा बनाउनु उत्पीडित समुदायको मुक्तिसंघर्षका निम्ति पहिलो काम हो
सन्त कविर वाणी भन्छ– ‘पाहन पुजे हरि मिले तो मैं पुजु“ पहार । अर्थात्, पत्थर (मूर्ति)को पूजा गर्दैमा भगवान् मिल्ने भए म पहाडै पुजिदिन्थेँ ।’ कविर १५औँ शताब्दीका रहस्यमयी सन्त, कवि थिए । सन् १३९८ मा भारत उत्तरप्रदेशको वाराणसीमा जन्मिएका उनी समाजमा फैलिएका कुरीति, अन्धविश्वास, कर्मकाण्ड तथा सामाजिक विकृतिको निन्दा, विरोध गर्थे । यसैले कविरको जीवनकालमा हिन्दू तथा मुस्लिम दुवै समुदाय धार्मिक अतिवादीहरूद्वारा प्रताडित बन्नुपर्यो ।
सन् १९७७, २० जुनको दिन चितवनस्थित जुगेडीमा ‘जुगेडी किसान काण्ड’ भयो । नेपाल कम्युनिस्ट पार्टी, किसान संघर्ष समिति चितवनको योजनाअनुसार सामन्त धर्मलाल मुल्मी र अर्का साहु सानुलाल जोशीको धानको गोदाम कब्जा गरी गरिब, किसानलाई बाँड्ने योजना बन्यो । साहु धर्मलाल घरमा नभेटिएपछि करिब चार सयको संख्यामा उपस्थित आमसर्वसाधारणको समूहले सानुलालको धान–गोदाम तथा कपडा पसल कब्जा गरी लुट्यो ।
घटना भएको सूचनापश्चात् प्रहरी कारबाहीमा दशरथ चेपाङ र सन्तबहादुर चेपाङको गोली हानी घटनास्थलमै हत्या गर्यो । पक्राउ गरेका नन्दलाल चेपाङको यातनाका कारण जेलभित्रै र रुद्रबहादुर चेपाङको जेलबाट छुटेलगत्तै मृत्यु भयो । यसरी जुगेडी काण्डमा चारजना सहिद भए । उक्त कुराको स्वीकारोक्ति तत्कालीन समयमा टुक्रा–टुक्रामा बाँडिएका विभिन्न कम्युनिस्ट समूहहरूले विभिन्न समयमा गरेका छन् । जुगेडी काण्ड कम्युनिस्ट विद्रोहको एक उदाहरणीय काण्ड बन्न पुग्यो ।
सन् १९५३ मा पशुपति मन्दिर प्रवेशका लागि संघर्ष हुनुपूर्व काठमाडौंको पशुपतिनाथ मन्दिरको ढोकामा ‘अछुतलाई प्रवेश निषेध’ लेखिएको बोर्ड झुन्डिएको हुन्थ्यो । हिन्दूहरूको प्रख्यात र ठूलो धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा अछुत (दलित) समुदायलाई प्रवेशमा निषेध गरिएको थियो । सिद्धिबहादुर खड्गीको नेतृत्वमा मोहनलाल कपाली, सहर्षनाथ कपाली, मेवा कपाली, गणेश योगीलगायतको पशुपति मन्दिर प्रवेश संघर्ष समिति गठन भयो । संघर्षमा राज्यद्वारा व्यापक दमन भई करिब ७५० जनाको ठूलो संख्यामा गिरफ्तारी भयो । उक्त संघर्षपश्चात् पशुपति मन्दिरको ढोकामा झुन्ड्याइएको अछुत प्रवेश निषेधको बोर्ड हटाइयो ।
सन् १९७२ तिर कम्युनिस्ट कार्यकर्ता रूपलाल विश्वकर्मा तथा प्रजातन्त्र सेनानी क्याप्टेन लालबहादुर परियारको योजना तथा नेतृत्वमा चितवनमा दुग्ध संघर्षलगायत जातीय विभेद र छुवाछुतविरुद्धका संघर्षको नेतृत्व भएका थिए । चितवन जिल्ला भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको यही असोज १८ गते टोलस्थित दुर्गा मन्दिरमा दलित प्रवेशका सम्बन्धमा विवाद हुँदा हत्या भयो । पक्राउ परेका हत्याराहरूले अपराध स्वीकार गरिसकेको र हाल हत्याराहरूमाथि कानुनसम्मत दण्डसजाय हुने चरणमा छ । तथापि, भरतपुर महानगरपालिकाभित्रै सार्वजनिक स्थल मन्दिरमा हुँदै आइरहेका जातीय छुवाछुत र विभेदको दारुण दृश्यको पर्दाफास भएको छ । स्मरण रहोस्, माओवादी क्रान्तिका सुप्रिमो पुष्पकमल दाहाल चितवन स्थायी घर भएका र सोही जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित बहालवाला जनप्रतिनिधि हुन् भने उनकी छोरी तथा माओवादी नेता रेणु दाहाल हाल भरतपुर महानगरपालिकामा मेयर छिन् ।
स्थायी सत्ता : शोषित–उत्पीडित समुदायका मसिहा डा. भीमराव अम्बेडकर भन्ने गर्थे, ‘संघर्ष गर्ने हो भने संसद्मा पुग्नका लागि गर, मन्दिरमा त कुकुर पनि पस्छ ।’ जनता र देशको सार्वभौमिकता तथा सार्वभौमसत्ता प्रयोग गर्ने सर्वाेच्च जनप्रतिनिधि संस्था हो, संसद् । नेपालको संविधान २०७२ को धारा २४ को छुवाछुत तथा भेदभावविरुद्धको हक (१) मा भनिएको छ, ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिनेछैन ।’ नेपालको संवैधानिक इतिहासमा पहिलोपटक निजी स्थानमा समेत जातका आधारमा छुवाछुत र भेदभाव गर्न नपाइने व्यवस्था गरिएको छ, जुन ऐतिहासिक उपलब्धि हो ।
स्थायी सत्ता अर्थात् आर्य–खस समुदायले देख्ने या भोगेको राज्य र दलित, मूलवासी, उत्पीडित समुदायले भोगेको राज्य फरक छ र हुन्छ । जब आफूले भोगेको राज्य फरक छ भने दृष्टिकोण पनि फरक हुन्छ ।
राज्य निर्माण गर्न देश हुनु अनिवार्य छ । देश हुनका लागि कम्तीमा भूगोल र जनता हुनु अनिवार्य हुन्छ । जनताको नेतृत्व राज्यले गर्छ, त्यसैले राज्य नै सत्ता हो । सत्ता भनेको सरकार हो । हामीले भोगिरहेको राज्य या सत्ता कस्तो छ, गुण, चरित्र र प्रवृत्तिका हिसाबले मूल्यांकन गर्नुपर्ने हुन्छ । हामीले भोगेको राज्य कस्तो राज्य हो ?
नेपाली जनताले लोकतन्त्रका निम्ति अतुलनीय योगदान दिँदै आएका छन् । क्रूर जहानिया राणा शासनका विरुद्ध विद्रोह भयो । राणा शासनविरुद्धको आन्दोलनमा दृश्य÷अदृश्य सयौँ व्यक्तिको हत्या भयो, हजारौँको अंगभंग हुन पुग्यो । धेरैलाई कठोर यातना भोग्न बाध्य पारियो । ००७ सालको आन्दोलनबाट राणातन्त्रको अन्त्य गरी राजासहितको बहुदलीय प्रजातन्त्र स्थापना गरिएपछि जनतामा आशाको त्रिमूल उम्रियो । समयसँगै राजाबाट प्रजातन्त्रमाथि खतरा बढ्दै जान थाल्यो । अन्ततः ०१७ सालमा जननिर्वाचित सरकार अपदस्त गर्दै राजा महेन्द्रद्वारा प्रजातन्त्रमाथि कु गरी कथित पञ्चायत व्यवस्था लादियो । नेपाली कांग्रेसको एकल दुईतिहाइ बहुमतसहितको बिपी कोइराला नेतृत्वको सरकारमाथि बज्रपात भयो ।
०४६ सालको जनआन्दोलनद्वारा राजाको प्रत्यक्ष शासन ‘पञ्चायत व्यवस्था’को अन्त्य भएपछि संवैधानिक राजासहितको बहुदलीय व्यवस्था लागू गरियो । तत्पश्चात् ०५२ सालको सुरुवातदेखि थालिएको नेकपा माओवादीको सशस्त्र विद्रोहले मुलुक आक्रान्त हुन पुग्यो । करिब १० वर्षसम्म चलेको हिंसापूर्ण विद्रोहका कारण १७ हजार मानिसको ज्यान गयो । करोडौँ सम्पत्तिको क्षति, लाखौँको घरबार विस्थापित भई सयौँ मानिस अंगभंग भई अपांग जीवन जिउन बाध्य पारिए । राज्यका अकल्पनीय र अमूल्य भौतिक सम्पत्ति ध्वस्त पारिए । सशस्त्र विद्रोहको अन्त्यसँगै संविधानसभाको निर्वाचन, शान्ति र संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता आदि महत्वपूर्ण उपलब्धि प्राप्त भएका छन् ।
नेपालको संवैधानिक इतिहास लामो छैन । राणाहरूको एक शताब्दीभन्दा लामो पारिवारिक शासनकालमा उनीहरूको बोली, मनमस्तिष्क र सनक नै कानुन थियो । पछि राजा, राजपरिवार तथा तिनका भाइ–भारदारहरूको मर्जीमा राज्य चलाइन्थ्यो । ९० को दशकबाट प्राप्त भएको बालिग मताधिकार र नागरिकको मतद्वारा निर्वाचित प्रतिनिधिको शासन व्यवस्था प्राप्त भइसकेपछि मात्रै राज्यको स्वरूप देखिन थालेको हो । यद्यपि, राणा शासनकालदेखि आजसम्मको स्थायी सत्ता टसमस भएको छैन । विडम्बना ! आज पनि त्यो सत्ता स्थिर छ । हिजो राणा–राजा–शाहको स्थायी सत्ता आज दलहरूको नाममा यथावत् र जीवित छ ।
कसको राज्य, कसरी राज्य ? : दक्षिण एसियाको समथर मैदानदेखि हिमालय पर्वतसम्मको विशाल महाभारत खण्डको इतिहास भनेको आर्याक, इराक र इरान क्षेत्रका आर्यभूमिबाट यता प्रवेश गरेका आर्य समुदाय (सुर) र यस क्षेत्र वा भूमिका मूलवासी विशेषतः द्रबिड, आस्ट्रिक तथा मंगोल समुदाय (असुर)बीचको रणसंग्रामको हो । यति मात्रै होइन, पछिल्लो कालमा रसियन मुलुक ककेसियालगायतबाट आप्रवासनमा आएका खस समुदाय र आर्य शासकबीचको भौतिक एवं रणनीतिक युद्ध, शासनसत्ता र द्वन्द्व नै वास्तविक इतिहास हो । त्यो राज्यसत्तालाई कालक्रमसँगै धार्मिक मान्यता दिइयो र धार्मिक, सांस्कृतिक सत्तामा रूपान्तरितसमेत हुन पुग्यो ।
यसरी धर्म, जात व्यवस्था, सुर–असुर, देवता–दानवको कथाको तथ्य यही नै हो । महाभारत युद्धमा पाण्डव र कौरवबीच भएका रणसंग्रामको कलात्मक कथ्य आदि यसका उदाहरण हुन् । त्यस कारण जात व्यवस्था, हिन्दू धार्मिक राज्यसत्ताको इतिहास हो । शासनसत्ताका निम्ति आर्य र खस समुदायबीच र कहिलेकाहीँ दुवै मिलेर मूलवासीविरुद्ध गरिएका द्वन्द्व, युद्ध, छलकपट, हार–जितको परिणाम नै पितृसत्ता र जातव्यवस्था हो । निष्कर्षमा त्यो ‘हिन्दू धार्मिक राज्यसत्ता’ अर्थात् ब्राह्मणवादी राज्यसत्ता हो । नेपाल र भारतको हालसम्मको स्थायी राज्यसत्ता यही नै हो ।
नेपाल राज्यको एकीकरण, राज्यसत्ता सञ्चालन, धार्मिक–सांस्कृतिक सत्ता र शासक जातिको इतिहास हेर्दा यही इतिहासको निरन्तरता देखिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका हतियारहरूको गोरखकाली मन्दिरमा पूजा गरिने प्रचलन मात्रै होइन, देशका विभिन्न क्षेत्रमा शासन गरेका मूलवासी शासकका राजदरबारहरूलाई मन्दिर तथा धार्मिक स्थलहरूमा परिणत गरिनु यसैका प्रमाण हुन् ।
नेपाली जनताको चेतनाले सधैँ अग्रगमनको नेतृत्व गरेको छ । जनताको बलिदानी, त्याग, योगदान र मिहिनेतले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरिएको छ । तथापि, राज्यसत्ता, जनजीविका, विभेदबाट मुक्ति, न्याय, समानता र समावेशिता तथा विधिको शासन व्यवहारमा लागू हुन किन सकेको छैन ? हिजो राजा ज्ञानेन्द्र शाहले नियुक्त र बर्खास्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पनि देशका प्रधानमन्त्री छन् । व्यक्ति उनै, तर प्रक्रिया फरक छ भन्ने व्यावहारिक बुझाइ र भोगाइ दिलाउने कसरी ? देउवा वा कांग्रेस नेतृत्वका निम्ति फरक होला, तर जनताको नजरमा किन फरक परेन ? आजको मूल सवाल हो, यो ।
किनभने, देउवा र उनको समुदाय (खस) उभिएको स्थान र शोषण–उत्पीडनमा पारिएका समुदाय उभिएको स्थानमा धेरै ठूलो अन्तर छ । फरक स्थानबाट हेर्दा देखिने दृश्य अवश्य नै फरक हुन्छ । यसैले स्थायी सत्ता अर्थात् आर्य–खस समुदायले देख्ने या भोगेको राज्य र दलित, मूलवासी, उत्पीडित समुदायले भोगेको राज्य फरक छ र हुन्छ । जब आफूले भोगेको राज्य फरक छ भने दृष्टिकोण पनि फरक हुन्छ ।
उत्पीडित समुदाय उभिएको स्थानबाट देखिने राज्य जस्तो र जसको देखिन्छ, त्यस्तै धारणा बनाउनु उत्पीडित समुदायको मुक्तिसंघर्षका निम्ति पहिलो काम हो । त्यही स्थानबाट देखिएको या भोगिएको राज्य बदल्ने योजना बनाउन सके मात्रै सत्ताको चरित्र बदल्न सकिन्छ । लोकतन्त्रमा पनि राणाकालीन स्थायी सत्ता रहनु सुखद होइन, बदल्ने हो भने आफ्नो स्थानबाट देखिने या भोगिएको राज्य पहिचान गर्न ढिला गर्नुहुँदैन । अरूले देखेको वा भोगेको राज्य फरक छ, त्यसैले उनीहरूको दृष्टिकोण अलग छ । के हामीले भोगेको राज्य लोकतान्त्रिक छ ?