मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
नरेश कौशिक
२o८१ चैत २४ आइतबार o९:३८:oo
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

टर्कीमा दोहोरिने रक्तपातपूर्ण इतिहासले बढार्नेछ एर्दोगानको शासन

इस्तानबुलमा २०१३ को गेजी विद्रोेहपछि टर्कीले यति ठुलो विरोध प्रदर्शन सामना गरेको थिएन, १२ वर्षअघिको उक्त प्रदर्शनलाई पनि सरकारले क्रूर दमन गरेको थियो

Read Time : > 4 मिनेट
नरेश कौशिक
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार o९:३८:oo

दुई हप्ताअघि इस्तानबुलका विपक्षी नेता तथा मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरेपछि टर्कीमा गत शनिबार सबैभन्दा ठुलो सरकारविरोधी प्रदर्शन भयो । इस्तानबुलमा सो प्रदर्शन आयोजना गर्ने इमामोग्लुको रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी)का नेता ओजगुर ओजेलले एक्समा दाबी गरे कि भिडमा २२ लाख मानिस थिए । अधिकांश रिपोर्टहरूले प्रदर्शनकारीको संख्या लाखौँमा रहेको बताए । भेलामा प्रतिबन्ध, यातायात सेवामा कडा रोक र पक्राउ पर्ने वास्तविक सम्भावनाको बाबजुद उल्लेख्य संख्यामा प्रदर्शनकारी कार्यक्रममा सहभागी भएका थिए ।

यो सबै मार्च १९ को बिहान सुरु भयो । काममा जान तयार हुँदै गर्दा इमामोग्लुले थाहा पाए कि उनलाई हिरासतमा लिइँदै छ । उनले आफ्ना समर्थकका लागि तुरुन्तै भिडियो सन्देश रेकर्ड गरेः ‘सयौँ प्रहरी मेरो ढोकामा छन् । हामी ठुलो धम्कीविरुद्ध छौँ । तर, म पछि हट्नेछैन,’ उनले एक उग्र सन्देशमा घोषणा गरे । ‘यो अनैतिक र अत्याचारी दृष्टिकोण निःसन्देह हाम्रा जनताको इच्छाले उल्ट्याउनेछ ।’ इमामोग्लुलाई इस्तानबुलको उच्च सुरक्षा प्रहरीचौकीमा लगिएको थियो र पछि भ्रष्टाचार र आतंकवादको झुटा आरोपमा औपचारिक गिरफ्तारीपछि देशको कुख्यात सिलिभ्री जेलमा सारिएको थियो । गिरफ्तारीले टर्कीभर ठुलो विरोधको लहर निम्त्यायो, जसले राष्ट्रपति रेसेप तैयप एर्दोगानको २२ वर्षको शासनका लागि सबैभन्दा ठुलो खतरा खडा ग¥यो । इस्तानबुलमा २०१३ को गेजी विद्रोेहपछि टर्कीले यति ठुलो विरोध प्रदर्शन देखेको थिएन । १२ वर्षअघिको प्रदर्शनलाई उनको शासनले क्रूर दमन गरेको थियो । 

 किन त्रसित  छन् एर्दाेगान ?
२०२८ को राष्ट्रपति पदको उम्मेदवारको रूपमा आफ्नो रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी)ले छनोट गर्ने अपेक्षा गरेको केही दिनअघि इमामोग्लुलाई हिरासतमा लिइएको थियो । लामो समयदेखि एर्दोगानको मुख्य राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिएका इमामोग्लु नजरबन्द गरिनुअघि नै जनमत सर्वेक्षणमा अगाडि थिए । उनको गिरफ्तारीको पूर्वसन्ध्यामा इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिग्री रद्द ग¥यो, जसले गर्दा उनी राष्ट्रपति पदका लागि उम्मेदवार हुन अयोग्य ठहरिए । टर्कीमा राष्ट्रपति पदका उम्मेदवारका लागि उच्च शिक्षा अनिवार्य छ । २०२८ सम्म देशमा राष्ट्रपति चुनाव हुनेछैन र एर्दोगान तेस्रो कार्यकालको लागि उम्मेदवार हुन योग्य छैनन् । त्यसोभए उनले किन चिन्ता लिनु पर्छ ? टर्कीका अधिकांश विश्लेषकहरू र राजनीतिक पर्यवेक्षकहरू विश्वास गर्छन् कि एर्दोगानले आफूलाई योग्य बनाउन संविधान संशोधन गर्नेछन् र आगामी निर्वाचनमा सहभागी हुनेछन् । उनलाई थाहा छ कि मतदानमा उनलाई हराउन सक्ने एक मात्र व्यक्ति इमामोग्लु हुन् ।

 प्रभावशाली र चतुर इमामोग्लु 
इमामोग्लु राजनीतिक रूपमा चतुर छन् र उनी एर्दोगानजत्तिकै लोकप्रिय हुन सक्छन् । उनले देशको सबैभन्दा ठुलो सहर र यसको आर्थिक इन्जिन इस्तानबुलमा मेयरको चुनावमा एर्दोगानका उम्मेदवारहरूलाई तीनपटक पराजित गरेर आफ्नो चुनावी शक्ति प्रमाणित गरेका छन् । सन् २०१९ मा इमामोग्लुसँग इस्तानबुलको हार टर्कीका राष्ट्रपतिका लागि अपमानजनक थियो । चुनाव रद्द गरियो र नयाँ मतदानको आदेश दिइयो । तर, राष्ट्रपतिको घाउमा नुनचुक छर्कने गरी इमामोग्लु अझ ठुलो अन्तरले पुनः निर्वाचित भए । सन् २०२४ मा तेस्रोपटक इस्तानबुलको मेयरको चुनावमा इमामोग्लुको विजयले एक शक्तिशाली राजनीतिज्ञको रूपमा उनको स्थितिलाई बलियो बनायो र उनलाई टर्कीको शीर्ष कार्यालयमा एर्दोगानको पकडलाई चुनौती दिने व्यक्तिको रूपमा चिनायो । परम्परागत रूपमा, इस्तानबुललाई नियन्त्रण गर्ने जोकोहीले टर्कीलाई पनि नियन्त्रण गर्छ । एर्दोगान आफैँले सहरमा आफ्नो राजनीतिक करिअर सुरु गरे र राष्ट्रिय नेता बन्नुअघि मेयरको पदमा पुगे । 

ठुलो विरोध प्रदर्शनको कारण यो पनि हो । धेरैजसो प्रदर्शनकारी जेनेरेसन जेड छन्, जसले एर्दोगानलाई मात्र राष्ट्रिय नेताको रूपमा देखेर हुर्किए । उनीहरूले अब एर्दोगानको विकल्प देखेका छन् । ठुलो संख्यामा युवा बाहिर निस्किरहेका छन् किनभने उनीहरूको प्रदर्शन अब इमामोग्लुको गिरफ्तारीको विरोधमा मात्र सीमित छैन, बरु टर्कीको लोकतन्त्रलाई बचाउनका लागि पनि हो । तिनीहरू एर्दोगानको बढ्दो निरंकुश शासनको अन्त्य हेर्न चाहन्छन्, जुन अवधिमा उनले देशको न्यायपालिका, प्रहरी र सेनामा व्यापक प्रभाव प्राप्त गरेका छन् । 

विगतमा जस्तै एर्दोगानले विरोध प्रदर्शनलाई दबाउन आफ्नो सबै शक्ति प्रयोग गरिरहेका छन् । रेल स्टेसन बन्द गरिएका छन् । इस्तानबुलको प्रतिष्ठित तक्सिम स्क्वायरलाई घेराबन्दी गरिएको छ । विरोध स्थलमा पुग्न खोज्ने सवारीसाधन रोकिएका छन् । र, लगभग २,००० मानिसहरूलाई पक्राउ गरिएको छ, जसमा एक दर्जन पत्रकार र वकिल पनि छन् । पक्राउ पर्नेहरूमा इमामोग्लुका अधिवक्ता मेहमेट पेहलिभान र सिएचपीका युवा अनुहार २१ वर्षीय बर्के गेजगिन पनि छन् । एक स्विडेनी पत्रकारलाई जेल पठाइएको छ र बिबिसी संवाददाता मार्क लोबेनलाई निष्कासन गरिएको छ । उल्लेखनीय कुरा के छ भने देशभित्र र विदेशमा विरोध प्रदर्शनका तस्बिर फैलिन नदिन फोटोग्राफरहरूलाई विशेष रूपमा लक्षित गरिएको छ । ५० वर्षदेखि इस्तानबुलका बासिन्दा तथा नोबेल पुरस्कार विजेता ओरहान पामुकले भने, ‘मैले विगत केही दिनमा सडकमा देखेका तथााकथित सुरक्षा उपाय यसअघि देखेको थिइनँ ।’ तथापि, एर्दोगानको दमनले अहिलेसम्म काम गरेको छैन । गत हप्तामा प्रदर्शनकारीहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।

 दोहोरिएला इतिहास ?
इतिहास आफैँ दोहोरिरहेछ जस्तो देखिन्छ । सन् १९९८ मा इस्तानबुलको मेयर हुँदा एर्दोगानलाई जातीय घृणा फैलाएको आरोपमा पक्राउ गरिएको थियो र चार महिना जेल चलान गरिएको थियो । गिरफ्तारीले उनलाई अझ लोकप्रिय बनायो र राष्ट्रिय मञ्चमा ल्यायो । त्यसले उनलाई प्रधानमन्त्री र त्यसपछि टर्कीको राष्ट्रपति बन्न मद्दत ग¥यो । के यस्तै नियति इमामोग्लुको पर्खाइमा छ ? कसैले पनि निश्चित रूपमा भन्न सक्दैन । तर, एर्दोगानको कदमले जेलमा परेका इस्तानबुलका मेयरलाई राष्ट्रपतिका लागि सबैभन्दा ठुलो राजनीतिक खतराको रूपमा हेरिएको संकेत गर्छ । 

एर्दोगान र इमामोग्लु दुवै टर्कीको कालो सागर क्षेत्रबाट आएका हुन् र आफ्ना आमाबाबुसँग इस्तानबुल सरेका थिए र सहरमै हुर्केका थिए । इमामोग्लु धर्मनिरपेक्षतावादीमाझ बढी लोकप्रिय भए पनि एर्दोगानलाई एनाटोलिया क्षेत्र, टर्कीको एसियाली भाग र ग्रामीण क्षेत्रहरूमा नायकको रूपमा हेरिन्छ । उनले आफ्नो आधार विस्तार गर्न राजनीतिक इस्लामको प्रयोग गरेका छन् । वास्तवमा सन् १९९८ मा एर्दोगानलाई पक्राउ गरी जेल हाल्नुको कारण उनले मुस्तफा केमाल अतातुर्कद्वारा स्थापित आधुनिक टर्की राज्यको कडा धर्मनिरपेक्ष सिद्धान्तहरूलाई एउटा कविता सुनाएर चुनौती दिएका थिए । ‘मस्जिदहरू हाम्रा ब्यारेक हुन्, गुम्बजहरू हाम्रा हेलमेट हुन्, मीनारहरू हाम्रा संगीन हुन् र विश्वासीहरू हाम्रा सिपाही हुन् ।’ उनले कवितामार्फत भनेका थिए । 

उनको पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो, तर रिहा भएपछि एर्दोगानले नयाँ राजनीतिक समूह गठन गरे । सत्तामा आएपछि उनले आफ्नो इस्लामी आधार विस्तार गरे । पहिले २००३ बाट प्रधानमन्त्री र त्यसपछि २०१४ देखि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको रूपमा एर्दोगानले आफूलाई एक प्रजातान्त्रिक इस्लामाबादीको रूपमा चित्रण गर्ने प्रयास गरेका छन् । उनले टाउकोमा स्कार्फ लगाउने प्रतिबन्ध हटाए । यद्यपि, उनले टर्कीका जनतालाई धेरै बच्चा जन्माउन पनि आग्रह गरेका छन् । चार सन्तानका पिताको रूपमा उनले घोषणा गरे कि ‘कुनै पनि मुस्लिम परिवारले’ जन्म नियन्त्रण वा परिवार नियोजनको बारेमा विचार गर्नुहुँदैन । ‘हामी हाम्रा सन्तानहरूलाई बढाउनेछौँ,’ उनले मे २०१६ मा भनेका थिए । एक वर्ष पछि उनले युरोपमा बस्ने टर्कीका जनतालाई कम्तीमा पाँच सन्तान जन्माउन अपिल गरे । उनी पुरुष र महिलाको समान अधिकारमा पनि विश्वास गर्दैनन् । धेरै टर्कीहरू त्यस्ता विचार र एर्दोगानको राजनीतिक इस्लाम नीतिसँग सहज छैनन् किनकि तिनीहरू अझै पनि अतातुर्कको धर्मनिरपेक्ष सिद्धान्तहरूमा विश्वास गर्छन् ।

न्यायपालिकामाथि नियन्त्रण
एर्दोगानले २०१६ को असफल सैन्य विद्रोेहलाई आफ्ना आलोचकविरुद्ध ठुलो दमन सुरु गर्ने माध्यमको रूपमा प्रयोग गरेका थिए । उनले विद्रोहीलाई गुलेन आन्दोलनसँग सम्बन्धित रहेको आरोप लगाए । गुलेन आन्दोलन टर्कीका दिवंगत मुस्लिम विद्वान् फेतुल्लाह गुलेनको शिक्षाबाट प्रेरित थियो, जसलाई विद्रोहको प्रयास गरेको आरोप लगाइयो । एर्दोगानले एक लाख ५० हजारजनालाई सरकारी पदबाट बर्खास्त गरे । पत्रकार, वकिल, विद्यार्थी र अन्य आलोचकसहित ५० हजारलाई पक्राउ गरे । तर, टर्कीहरूका लागि सबैभन्दा चिन्ताजनक कार्य न्यायपालिकामा शुद्धीकरण थियो । ४३ सयभन्दा बढी न्यायाधीशलाई हटाइयो र ११ सय जनालाई गिरफ्तार गरियो । एर्दोगानका वफादार र अनुभवहीन नयाँ व्यक्तिहरूलाई नियुक्त गरियो । लगभग १६ सय वकिलहरूलाई मुद्दा चलाइयो र करिब ५०० जनालाई लामो जेलसजाय सुनाइयो । २०१७ को संविधान संशोधनपछि न्यायाधीश नियुक्त गर्ने तरिका पनि परिवर्तन भयो । राष्ट्रपतिले अब न्यायाधीशलाई नियुक्त गर्ने र बर्खास्त गर्ने समितिका चार सदस्य नियुक्त गर्छन् । सात सदस्य संसद्द्वारा नियुक्त हुन्छन्, जहाँ एर्दोगानको बहुमत हुन्छ र बाँकी दुई न्यायमन्त्री र उनका एक उपाध्यक्ष हुन् । 
(भारतीय समाचार संस्था एनडिटिभीबाट)