
२६ मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात गरिने सबै कार र हल्का ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो नीति अमेरिकी व्यापार साझेदारविरुद्ध ‘पारस्परिक भन्सार शुल्क’ घोषणा गरिएको भोलिपल्ट अर्थात् ३ अप्रिलदेखि लागू भयो । चिन्तित अमेरिकी नागरिकलाई आश्वस्त पार्ने प्रयास गर्दै ट्रम्पले ‘हाम्रो अटोमोबाइल व्यवसाय व्यापक फस्टाउनेछ’ भनेका थिए । तर यसको सम्भावना छैन ।
ट्रम्पका यी भन्सार शुल्क एडम स्मिथ, डेभिड रिकार्डो, जोन मेनार्ड केन्सदेखि मिल्टन फ्रिडम्यानसम्मका परम्परागत आर्थिक सिद्धान्तविपरीत छन् । यद्यपि, ट्रम्पको आत्मविश्वासले केहीलाई यी निर्णयमा कुनै तर्क लुकेको हुन सक्छ भन्ने लाग्न सक्छ । कार र ट्रकमा लगाइएको भन्सार शुल्कले गाडी उत्पादक कम्पनीलाई अमेरिकाभित्रै कारखाना स्थापना गर्न प्रेरित गर्ने उद्देश्य राखेको देखिन्छ । तर, नजिकबाट नियाल्दा यो तर्क त्रुटिपूर्ण भएको प्रस्ट हुन्छ । उसो त यसले धेरै देश विशेषतः क्यानडा, मेक्सिको र जापानलाई नकारात्मक रूपमा असर पार्नेछ, तर यसको सबैभन्दा विनाशकारी प्रभाव अमेरिका आफैँमा पर्नेछ ।
ट्रम्पका आलोचकले यो भन्सार शुल्कले अमेरिकी बजारमा गाडीको मूल्य बढाउने भनी गरेको आकलन ठिक हो । र, यो भन्सार शुल्कका धेरैमध्ये केवल एउटा समस्या हो । उदाहरणका लागि अटोमोबाइल (र सेमिकन्डक्टर) जस्ता उद्योगमा ठुलो स्थायी उत्पादन लागत हुन्छ । जग्गा खरिद गर्ने, कारखाना बनाउने, अनुमति लिनेजस्ता लगानी एकपटक भइसकेपछि सरकारले अचानक भन्सार शुल्क घटाइदियो भने लगानीकर्तालाई ठूलो घाटा हुन सक्छ । त्यसैले लगानीकर्तालाई कम्तीमा १०–१५ वर्षसम्म भन्सार शुल्क यथावत् रहने विश्वास दिलाउनु आवश्यक हुन्छ ।
संरक्षणवादले नभई नवप्रवर्तन र न्यायपूर्ण वितरणले मात्र दीर्घकालीन समृद्धि र प्रतिस्पर्धात्मकता सुनिश्चित गर्न सक्छ
सरकारले कुनै ढंगले भन्सार शुल्क दीर्घकालसम्म रहने संकेत दिन सक्यो भने अमेरिकाभित्र नयाँ कलकारखाना खोलिन सक्छन् जसले श्रमिकको माग बढाउनेछ । यद्यपि, यसबाट सकारात्मक नतिजा नआउन पनि सक्छ । अमेरिकी अटोमोबाइल उद्योगलाई ‘फेरि महान्’ बनाउने प्रयासको सट्टा कृत्रिम श्रम मागले अमेरिकाको दीर्घकालीन आर्थिक स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । भन्सार शुल्कको पर्खालले अमेरिकी बजारलाई सुरक्षित गरेपछि घरेलु उत्पादन झनै महँगो बन्दै जानेछ । र चीन, भारत, मेक्सिको, इन्डोनेसियाजस्ता सस्तो श्रम भएका देशले धेरै सस्तोमा कार उत्पादन गर्न सक्नेछन्, नतिजा उनीहरूले अमेरिकीलाई प्रतिस्पर्धामा पछि पार्दै विश्व बजारमा आफ्नो पकड अझ बलियो बनाउनेछन् ।
अटोमोबाइल उत्पादन फर्काउने ट्रम्पको यो हतारोले अमेरिकाले आफ्नो कपडा उद्योगको ह्रासबाट पाठ सिकेको देखिँदैन । उन्नाइसौँ शताब्दीको सुरुमा अमेरिका कपडा उद्योगमा अग्रमोर्चामा थियो, जहाँ कपास र ऊनका कारखाना पूर्ण क्षमतामा सञ्चालनमा थिए । दोस्रो विश्वयुद्धपछि पनि कपडा तथा गार्मेन्ट क्षेत्र फस्टाइरहेका थिए, जसमा विशेषतः उत्तर क्यारोलिना अगाडि थियो । तर, अमेरिका समृद्ध हुँदै श्रम खर्च बढ्दै जाँदा उसले क्रमशः आफ्नो तुलनात्मक लाभ गुमाउँदै गयो र अनुसन्धान तथा नवप्रवर्तन चाहिने क्षेत्रमा अमेरिका सर्यो । आज कपडा उद्योग भियतनाम, बंगलादेश र टर्कीजस्ता देशको नियन्त्रणमा छ ।
अमेरिकाले २०औँ शताब्दीको उत्तरार्धमा आयातीत कपडा र गार्मेन्टमा भारी भन्सार शुल्क लगाएर घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने निर्णय गरेको भए सम्भवतः यो गार्मेन्ट उत्पादनको केन्द्र रहन सक्थ्यो । तर, यसो गरेको भए अमेरिकाले ठुलो मूल्य चुकाउनुपर्ने थियो र त्यहाँको अमेरिकी अर्थतन्त्र अहिलेको जस्तो हुने थिएन, बरु अमेरिकाभरि ठुल्ठुला कारखानामा श्रमिक श्रमप्रधान काममा खटिइरहेका हुने थिए । तर, यसको अर्थ भन्सार शुल्क कहिलेकाहीँ रणनीतिक रूपमा प्रयोग गर्दा प्रभावकारी वा आवश्यक हुँदैनन् भन्ने होइन । तथापि ट्रम्पले ल्याएजस्तो भन्सार शुल्कले देशको प्रतिस्पर्धात्मक क्षमतालाई कमजोर पार्छ र यसले क्षति मात्रै पु¥याउँछ ।
इतिहासले उग्रराष्ट्रवाद र संरक्षणवादी व्यापार नीतिका खतराबारे महत्वपूर्ण पाठ सिकाएको छ । २०औँ शताब्दीको सुरुमा अर्जेन्टिनाले तीव्र गतिमा विकास गरिरहेको थियो र संसारकै सबैभन्दा धनी देशमध्ये एक मानिन्थ्यो र यसले जर्मनी र फ्रान्सलाई समेत उछिनेको थियो । केहीले त अर्जेन्टिनाले आर्थिक रूपमा अमेरिकालाई नै पछि पार्ने भविष्यवाणीसमेत गरेका थिए । तर, सन् १९३० मा जब होसे फेलिक्स उरिबुरुले सैनिक कू गरेर आफूलाई राष्ट्रपति घोषणा गरे, तब सबै बदलियो । तीन वर्षभित्रै उनले आप्रवासनमा कडाइ गरे र भन्सार शुल्क झन्डै दोब्बर बनाए । त्यही समयमा अमेरिका भने आफ्नो अर्थतन्त्रलाई वस्तु तथा मानिसप्रति खुला बनाउँदै थियो, उच्च शिक्षामा लगानी गर्दै थियो र अत्याधुनिक अनुसन्धान गरिरहेको थियो । यसैबिच अमेरिकी अर्थतन्त्र तीव्र गतिमा अघि बढ्न थाल्यो जब कि अर्जेन्टिनाको अर्थतन्त्र जस्ताको त्यस्तै रह्यो, अर्थात अर्जेन्टिनाले अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्ने अपेक्षा समाप्त भयो ।
पुराना उद्योगमा टिकिरहने संरक्षणवादी नीति अपनाउनुको सट्टा देशहरूले नवप्रवर्तनलाई अँगाल्नुपर्छ । प्रविधिले आर्थिक अवसर त ल्याउँछ, तर सँगसँगै श्रमको माग घटाउँछ । तसर्थ, यसको समाधान पुनर्वितरणमूलक कर र नाफा बाँडफाँडमा छ जसका कारण समृद्धिको लाभ सबैमा बाँड्न सकियोस् । यस्तो नीति सजिलै लागू हुँदैन किनभने यसलाई नवप्रवर्तन र प्रेरणामा अवरोध नपुर्याउने गरी तयार गर्नुपर्छ । तर, यो ट्रम्पका भ्रामक नीतिभन्दा धेरै उपयुक्त र आजको प्रविधिमूलक युगमा अत्यावश्यक छ ।
(प्राध्यापक बासु भारत सरकारका पूर्वआर्थिक सल्लाहकार हुन्) प्रोजेक्ट सिन्डिकेटबाट