
एकपटक एक युवक एक सन्तकहाँ पुगे । उनले भने– सन्त महाराज, म आफ्नो जीवनदेखि हैरान भएको छु । कृपया यस हैरानीबाट मुक्ति पाउने उपाय बताउनुहोस् । सन्तले भने– पानीको ग्लासमा एक मुठी नुन हाल र त्यसलाई घटघट पिइदेऊ । युवकले सन्तको आदेश शिरोपर गरे । सन्तले सोधे– यसको स्वाद कस्तो लाग्यो ? युवकले मुख बिगार्दै जवाफ दिए– निकै खराब ! जिभै्र पाछ्ने एकदमै चर्को ! सन्तले मुसुक्क मुस्कुराउँदै भने– एक मुठी नुन लिएर मेरो पछि–पछि आऊ ।
दुवै बिस्तार–बिस्तारै अघि बढ्न लागे । केही पर पुगेपछि एउटा स्वच्छ, सफा झरना भेटियो । दुवै झरनाको नजिकै रोकिए । सन्तले निर्मल झरना देखाउँदै भने– ल अब अघि साथमा ल्याएको नुन यो झरनाको पानीमा मिसाऊ । युवकले सन्तको आदेशको पालना गरे । सन्तले भने– अब यो झरनाको पानी पिइरहे त ! युवकले पानी पिए । पुनः सन्तले सोधे– यसको स्वाद कस्तो रहेछ ? के अझै यो त्यस्तै चर्को छ ? युवकले शिर हल्लाउँदै जवाफ दिए– अहँ, यो त निकै मिठो छ ।
सन्तले युवकको छेउमा बस्दै भने– जीवनको दुःख पनि नुनजस्तै हो । न योभन्दा बढी न योभन्दा कम ! जीवनमा दुःखको मात्रा उही रहन्छ । तर, हामीले त्यसलाई कुन पात्रमा हाल्छौँ, केमा मिलाउँछौँ, त्यसले हाम्रो दुःखको स्वाद निर्धारण गर्छ । त्यसैले, गिलास बन्नुको साटो जहिल्यै झरना बन्ने प्रयत्न गर । जीवनको दुःखदेखि मुक्त हुनेछौ ।