मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
रमेश सुवेदी काठमाडाैं
२o८१ चैत १९ मंगलबार o८:४१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग : एनएसएलको तेस्रो दिनमै खेलाडीको श्रम स्वीकृतिसम्बन्धी विवाद

चितवनले अनुबन्ध गरेका ६ खेलाडीको श्रम स्वीकृत नभएको भन्दै पोखरा थन्डर्सले खेलअघि नै ग¥यो उजुरी, आयोजक पदाधिकारीहरूले पोखराको ड्रेसिङ रुममै गएर खेल्न दिए दबाब

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o८:४१:oo

एफसी चितवनले अनुबन्ध गरेका ६ विदेशी खेलाडीको भिसा र श्रम स्वीकृत विवाद निस्किएपछि तेस्रो नेपाल सुपर लिग (एनएसएल) तेस्रो दिनमै विवादमा तानिएको छ । दरशथ रंगशालामा सोमबार चितवन र पोखरा थन्डर्सबिच साँझ ६ बेज खेल थियो । खेल सुरु हुनुअगाडि नै पोखराले चितवनविरुद्ध विदेशी खेलाडीको भिसा र श्रम स्वीकृतिको उजुरी राख्यो । दुई पक्षबिच मैदानबाहिर विवाद चल्दा खेल १८ मिनेटपछि सुरु भयो । 

चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीका म्यानेजिङ डाइरेक्टर श्रेयान्स कार्की पोखराको ड्रेसिङ रुम गएर खेलाउने वातावरण मिलाउन पुगेका थिए । पोखराले आयोजकबाट राम्रो व्यवहार नभएको आरोप लगाएको छ । ‘हामीलाई आयोजकको म्यानेजमेन्ट टिमबाट सोचेजस्तो व्यवहार भएन, योजनाअनुसार खेल्न सकेनौँ र मानसिकता नै कमजोर बन्यो,’ पोखरा थन्डर्सका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘हामीले राखेको उजुरीमाथि कुनै कारबाही नहुने देखियो, त्यसैले खेलपछि उजुरी नहालेका हौँ ।’ 

फिफाले यस किसिमको घटनामा दोषी ठहरिने टोलीको तीन अंक खोस्छ । साथै खेलाडीलाई कारबाहीसमेत हुनेछ । अघिल्लो पटकको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि यस्तै घटना भयो । विभागीय टोली नेपाल एपिएफ क्लबले थ्री स्टारले श्रम स्वीकृति नलिएका दुई विदेशी खेलाडीलाई खेलाएको आरोप लगाएको थियो । एन्फाको अनुशासन समितिले आरोप प्रमाणित गर्दै थ्री स्टारलाई ५० हजार जरिवाना गरे पनि तीन अंक खोसेन । एपिएफले तीन अंक खोस्नुपर्ने मागसहित अपिल कमिटीमा उजुरी गरेको छ । तर, दुई वर्ष बित्नै लाग्दा पनि यो मुद्दाको टुंगो लागेको छैन । 

चितवनका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीको श्रम स्वीकृत नभएको पछि मात्रै थाहा पाएको बताए । यो विवादले गर्दा प्रतियोगिताको स्तर गुमेको उनको भनाइ छ । पोखराविरुद्ध २–० को जितपछि न्यौपानेले एनएसएल स्थानीय प्रतियोगिताजस्तो भएको प्रतिक्रिया दिए । ‘हामीले एनएसएलबाट ठुलो आशा गरेका छोैँ, तर आज जुन घटना भयो यसले यसको स्तर स्थानीय प्रतियोगिताजस्तो देखायो,’ उनले भने, ‘व्यावसायिक क्लब वा खेलाडी नआए आयोजकले कारबाही गर्न सक्नुपर्छ ।’

सन् २०१९ देखि सुरु भएको फ्रेन्चाइज एनएसएल लगातार विवादमा छ । पहिलो संस्करणपछि दोस्रो संस्करण हुन तीन वर्ष लाग्यो । दोस्रो संस्करणमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका मनाङ मस्र्याङ्दी र थ्री स्टारसहितका आठ क्लबले सार्वजनिक रूपमै एनएसएलको विरोध गरेका थिए । तेस्रो संस्करणमा नेपालका सिनियर तथा युवा खेलाडी विदेश पलायन भएको भन्दै आयोजकले विदेशी खेलाडी कोटा ६ पु¥याएको छ । यसैगरी, पहिलो संस्करण खेलेको विराटनगर सिटी र दोस्रो संस्करणमा जोडिएको स्पोर्टिङ इलाम मेची तथा वीरगन्ज युनाइटेड तेस्रो संस्करणमा छैनन् । 

माब्लोनोभ र नीरजको गोल 
चितवनलाई जिताउन मिडफिल्डरद्वय नोदिर माब्लोनोभ र नीरज चौधरीले समान एक गोल गरे । प्रतियोगिताको तेस्रो खेलमा एक टोलीले स्पष्ट तीन अंक बटुल्यो । यसअघि उद्घाटन खेलमा काठमाडौं र ललितपुरले २–२ बराबरी खेलेका थिए । दोस्रो खेलमा बुटवल लुम्बिनी र झापा एफसीले गोलरहित बराबरी नतिजा निकाले । माब्लोनोभले खेलको १५औँ मिनेटमा गोल गरेका हुन् । स्ट्राइकर भिक्टर मानसारेले दायाँ साइडबाट निकालेको कटब्याकमा माब्लोनोभले गोल गरेका हुन् । इन्जुरी समयको छैटौँ मिनेटमा वैकल्पिक खेलाडी नीरजले गोल गरेका हुन् । पोखराका गोलरक्षक प्रिसो एनजांगाले केही राम्रा बचाउन गरे । पोखराका मार्की समीर तामाङ र कप्तान नवयुग श्रेष्ठ फिनिसिङमा चुके । 

लोकल प्रतियोगिताजस्तै भयो
 नवीन न्यौपाने, प्रशिक्षक, चितवन 

यो तीन अंक निकै महत्वपूर्ण थियो । आफैँले हेरेको पूर्वक्लब पोखराविरुद्ध जित निकाल्दा खुसी छु । तर, म्यानेजमेन्ट र आयोजकको नियमअनुसार खेल खेलाउनुपर्ने थियो । एनएसएलजस्तो फ्रेन्चाइज लिग लोकल प्रतियोगिताजस्तै भयो । हरेक खेलाडीको श्रम स्वीकृति हुनुपर्छ । तर, दुभाग्र्यवश हाम्रो टोलीका खेलाडीसँग श्रम स्वीकृति रहेनछ । सुरुवातमा विवाद आउँदा प्लान बी बनाएको थिएँ । खेल्ने निर्णय भएपछि विदेशीलाई मैदान पठाएँ । 

नियमअनुसार खेल भएन
 सुमन श्रेष्ठ, प्रशिक्षक, पोखरा

हामीले राम्रो तयारी गरेका थियौँ । चितवनविरुद्ध खेल्नुअघि नै मानसिक रूपमा कमजोर बनाइयो । हामीमाथि आयोजकले राम्रो व्यवहार गरेन । खेलमा श्रम स्वीकृतिले समस्या भयो । हाम्रो ड्रेसिङ रुममा आयोजकबाट जुन व्यवहार भयो त्यो राम्रो होइन । उजुरी हाल्न जाँदा नलाग्ने भनी फर्कायो । व्यवस्थापन पक्षले खेलाडीहरूको कागजात भोलि आउँछ भन्ने उत्तर दियो । मानसिक तनावका बिच बाँकी खेल खेल्नुपर्छ । नियमअनुसार प्रतियोगिता भएको छैन ।