मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार o७:१७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

 नेपाली प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्यान्ड भ्रमण : प्रधानमन्त्री ओली बिमस्टेक सम्मेलनमा सहभागी हुने, मोदीसँग भेट अनिश्चित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o७:१७:oo

प्रधानमन्त्री केपी ओली मंगलबार थाइल्यान्ड जाँदै छन् । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीको पहिलोपटक थाइल्यान्डमा औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंगलबार दिउँसो १३ः३० बजे थाई एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ ।प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

औपचारिक भ्रमण सकिएलगत्तै प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् । बिमस्टेक सम्मेलनमा सहभागी हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता अझै तय भएको छैन । ‘भारतीय प्रधानमन्त्रीसँग हाम्रा प्रधानमन्त्रीको भेटका लागि कूटनीतिक च्यानलमार्फत अनुरोध पठाइएको छ । तर, भारतीय पक्षबाट भेटवार्ता यकिन भएको जानकारी प्राप्त भएको छैन,’ सोमबार साँझ एक उच्च कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘शिखर सम्मेलन २२ चैतमा हुँदै छ, २१ चैतमा मोदीसहित सदस्य मुलुकका कार्यकारी प्रमुख थाइल्यान्ड पुग्दै छन् र २३ चैतमा सबै नेता स्वदेश फर्किनुपर्ने समयसीमाका कारण भेटवार्ताबारे भन्न सकिने स्थिति छैन ।’ 

प्रधानमन्त्रीले संसद्मा भने- समयको चाप छ, अधिकांश सदस्य देशका नेता २१ गते मात्र बैंकक आइपुग्ने तालिका छ । तर, पनि शिखर सम्मेलनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई भ्रमणबारे जानकारी दिने क्रममा पनि मोदीसँग भेटवार्ता नहुने संकेत गरेका छन् । ‘समयको चाप छ, अधिकांश सदस्य देशका नेता २१ गते मात्र बैंकक आइपुग्ने तालिका छ । तर, पनि शिखर सम्मेलनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने । बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य छन् । बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री ओली, भारतीय प्रधानमन्त्री मोदी, थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात्रा, बंगलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाकी प्रधानमन्त्री हरिनी अमरासूर्य र म्यानमारका मिन आङ अङ सहभागी हुने कार्यक्रम छ । 

प्रधानमन्त्री ओली २१ चैतमा बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई थाई प्रधानमन्त्रीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । उनी २२ चैतमा बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन् । त्यही दिन प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । बिमस्टेक नेताहरूबिच बिहीबार मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर हुने कार्यक्रम रहेको ओलीले संसद्लाई जानकारी दिएका छन् । सोही साँझ बैंककस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी भएर ओली शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 

 नेपाल–थाइल्यान्ड सम्झौताको तयारी
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहनेछन् ।  भ्रमणको तयारीका क्रममा परराष्ट्र मन्त्रालयका दुई अधिकारी बैंकक पुगेका छन् । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीसहित दूतावासका चार अधिकारी नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी भ्रमण दलमा सामेल हुनेछन् । भ्रमणमा नेपालको निजी क्षेत्रका प्रतिनिधि पनि सामेल हुनेछन् ।

बुधबार दुई प्रधानमन्त्रीबिच औपचारिक वार्ता हुनेछ भने त्यस क्रममा दुई सरकारी र ६ निजी क्षेत्रबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । ‘यति नजिकको र ट्रान्जिट प्वाइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने, तर औपचारिक भ्रमणचाहिँ नभएको त्यस्तो अवस्था रहेछ । त्यसलाई अन्त्य गर्न नेपालको तर्फबाट कार्यकारी प्रमुखको पहिलोपटक भ्रमण हुँदै छ । यस अर्थमा यो भ्रमण आफैँमा महत्वपूर्ण हो भन्ने ठान्दछुु,’ प्रधानमन्त्री ओलीले भने, ‘यसपटक पर्यटन र संस्कृतिको सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुन्छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबिच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।’

द्विपक्षीय वार्तापछि नेपाल र थाइल्याण्डका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । उनले थाइल्यान्डका नरेश महा वजिरालोङकोर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले २१ चैतमा थाइल्यान्डका प्रतिष्ठित व्यावसायीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । सोही दिन उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।