
अन्ततः आशंका गरिएझैँ नै भयो । इस्तानबुलका मेयर एकरेम इमामोग्लु जो सन् २०२८ को राष्ट्रपतीय चुनावमा राष्ट्रपति रिसेप तैयप एर्दोगानका मुख्य प्रतिस्पर्धी मानिन्थे, उनलाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ । चार दिनको हिरासतपछि भएको यो गिरफ्तारी कुनै साधारण राजनीतिक चाल मात्र होइन । अहिलेको समयमा ‘कु’ प्रायः रक्तपातविनै लोकतन्त्रलाई कैद गरेर गरिन्छ ।
२३ वर्षदेखि सत्तामा रहेका र टर्कीको संकटग्रस्त अर्थतन्त्रबिच, एर्दोगानलाई कुनै पनि चुनाव धाँधलीपूर्ण नै भए पनि सुरक्षित छैन भन्ने थाहा छ । त्यसैले, उनले चुनाव रद्द गर्ने वा प्रतिस्पर्धीलाई हटाउने दुई विकल्प मात्रै देखे । उनले पहिले भूराजनीतिक अवस्था आफ्ना पक्षमा पार्न पिकेकेसँग युद्धविरामको सहमति गरे, युरोपेली युनियनलाई आप्रवासी लहरको धम्की दिए र टर्कीको सैन्यशक्ति प्रदर्शन गर्दै नेटोप्रति अमेरिकाको कमजोर प्रतिबद्धतालाई आफ्नो लाभका लागि उपयोग गरे । यसबाट उनले टर्कीविनाको युरोप असुरक्षित रहने स्पष्ट सन्देश दिए ।
आफ्नो स्थिति बलियो बनाएपछि एर्दोगानले कदम चाले र इमामोग्लुलाई राजनीतिबाट हटाए । यो निर्णयका कारण छोटो अवधिमा ठुलो मूल्य चुकाउनुपर्यो, अर्थात् टर्कीको केन्द्रीय बैंकले लिरालाई बचाउन १२ अर्ब डलर खर्च गर्नुपर्यो । तर, विपक्षीको प्रतिक्रिया भने अत्यन्त कमजोर रह्यो, मानौँ उनीहरू प्रारम्भिक चरणमै चिप्लिए । तर, टर्कीका जनता आक्रोशित छन् । इमामोग्लुको गिरफ्तारीपछि लाखौँ नागरिक उनलाई रिहा गर्न र लोकतन्त्र तथा मानव अधिकारका लागि प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । यो आन्दोलन इस्तानबुल र अंकारामा मात्र सीमित छैन । अदाना, अन्ताल्या, चानाकाले, चोरुम, एडिर्ने, एसकिसेहिर, कायसेरी, र यहाँसम्म कि धार्मिक रूपमा कट्टर मानिने कोन्या सहरसम्म फैलिएको छ, जहाँ दुई सयभन्दा बढी किसान आफ्ना ट्र्याक्टर लिएर आन्दोलनमा सहभागी भएका थिए ।
टर्कीको जनआक्रोशले सुसंगठित आन्दोलनको रूप लिन्छ अनि एर्दोगान र आसेपासेलाई हराउन सक्छ भनेर अहिले नै भन्न सकिन्न
जनताको यो विरोधले एर्दोगानलाई स्पष्ट रूपमा झस्काएको छ । देशभर प्रदर्शन प्रतिबन्धित गरिएका छन् र नियम तोड्नेलाई सरकारले लाठीचार्ज, वाटर क्यानन, अश्रुग्याँस प्रहारजस्ता दमनकारी उपाय लगाएर दबाउने प्रयास गरेको छ । हालसम्म एक हजार चार सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेका छन् । सरकारले इस्तानबुल आउजाउमा रोक लगाएको छ । इन्स्टाग्राम, टिकटक, एक्स र युट्युबजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ, प्रदर्शनको प्रत्यक्ष प्रसारण रोकेको छ, र एजेन्सी फ्रान्स–प्रेसका यासिन अकगुल तथा पुरस्कार विजेता फोटो पत्रकार बुलन्त किलिचलगायत सञ्चारकर्मीलाई गिरफ्तार गरेको छ ।
एर्दोगानले ‘टर्की कुनै सडक आन्दोलन गर्ने देश होइन र यो देश सडक आतंकवादको सिकार हुनेछैन’ भन्ने चेतावनी दिएका छन् । टर्कीको प्रमुख विपक्षी पार्टी रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)का लागि यो एर्दोगानविरुद्ध एकजुट हुने अनुकूल समय हो । तर, हालसम्म सिएचपीले पुराना, मक्किएका राष्ट्रवादी र लोकप्रियतावादी नारा दोहोर्याइरहेको छ जुन टर्कीको इतिहासका लागि सान्दर्भिक हुन सक्छ, तर अहिलेको संकटसँग मेल खाँदैन । सन् २०१३ को गेजी पार्क आन्दोलन जसले यस्तै आधारभूत जनशक्ति उत्पन्न गरे पनि सफल हुन सकेन । कारण कुर्द जनतासँग कुनै संवाद गरिएको थिएन र अहिले पनि छैन । कुर्दिस जनताले बारम्बार चुनावमा निर्णायक भूमिका खेलेका छन्, तर अझै पनि दमनको सामना गरिरहेका छन् । सिएचपीले यो मामिला अब पार्टी राजनीतिभन्दा ठूलो छ भन्ने स्विकारिसकेको छ ।
वास्तवमा यो केवल एक गल्ती मात्र नभई गम्भीर समस्याको संकेत हो । सिएचपी अझै पुरानो राजनीतिक मानसिकतामा अडिग छ जहाँ मुख्य उद्देश्य चुनाव जित्नु हो न कि लोकतन्त्रको रक्षा गर्नु । यही कारणले गर्दा प्रदर्शनकारी सिएचपीका लागि उभिनुको सट्टा सिएचपीलाई विनम्रतापूर्वक तर दृढ ढंगले बाटो खाली गर्न भनिरहेका छन् । यदि सिएचपीले इमामोग्लुको गिरफ्तारीबाट केही सिक्नुपर्ने हो भने त्यो हो पुराना रणनीति अब उपयुक्त छैनन् । यसको अर्थ केवल रणनीति परिवर्तन गर्नु मात्र होइन, सिएचपीले अब टर्कीको राजनीतिमा नायक उनीहरू होइनन् भनेर बुझ्न जरुरी छ । यो भूमिका अब जनताको हो अर्थात् असन्तुष्ट, क्रोधित र विद्रोही जनता, जसले इमामोग्लुको गिरफ्तारीलाई एक व्यक्तिको मात्र नभई आफ्नो सामूहिक भविष्यमाथिको हमला ठानेका छन् ।
इमामोग्लुको गिरफ्तारीले टर्कीलाई अझै पनि ‘असमान तर वास्तविक चुनाव हुने हाइब्रिड शासन’ भनेर मानिरहने विश्लेषक र विज्ञका लागि पनि एउटा चेतावनी हुनुपर्छ । प्रतिस्पर्धी अधिनायकत्व भन्ने अवधारणा प्रस्ताव गर्ने राजनीतिशास्त्री स्टिभन लेभिट्स्की र लुकान वेलेसमेत सन् २०२० मा आफ्नो परिकल्पनामा पुनर्विचार गर्दै आधुनिक शासकले जातीय राष्ट्रवाद र ध्रुवीकरणको रणनीति प्रयोग गरेर आफ्नो शक्ति मजबुत पारिरहेका छन् भनेका थिए । यदि सिएचपीमा साँच्चिकै विवेक छ भने उसले पुराना राजनीतिक सिद्धान्त, चुनावी तथ्यांक र केवल अतितका कथा सुन्नुको साटो आन्दोलनकारीसँग समन्वय गर्ने योजना बनाउनुपर्छ । एउटा कुरा स्पष्ट छ, पुरानो टर्कीको अवसान भइसकेको छ । अब प्रश्न उठ्छ, नयाँ टर्की कस्तो बन्नेछ र त्यसको भविष्य कसले तय गर्नेछ । यो जनआक्रोशले सुसंगठित आन्दोलनको रूप लिन्छ र अन्ततः एर्दोगान र उनका आसेपासेलाई हराउन सक्छ भनेर अहिले नै भन्न गाह्रो छ । तर, जब खेलै धाँधलीपूर्वक खेलिन्छ त्यसलाई सुधार गरेर खेल्ने प्रयास गर्नु व्यर्थ हुन्छ भन्ने प्रस्ट छ । अर्थात् जित्नका लागि तख्तापलट नै आवश्यक छ ।
(ओजकिरिम्ली आइबिइआईमा वरिष्ठ अनुसन्धान फेलो र रामोन लुल युनिभर्सिटी ब्लान्केर्नाका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट