
कडा सुरक्षाबिच नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार ग्रहण गरेका छन् । सरकारबाट नियुक्तिपत्र प्राप्त गरेपछि उनले ऊर्जामन्त्री दीपक खड्काबाट शपथ लिएर रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदभार सम्हालेका हुन् । शाक्यको पदभार ग्रहणलाई लक्षित गरी प्राधिकरण परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उच्च सुरक्षा प्रबन्ध गरेका थिए । मंगलबार बिहानैदेखि परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । पदभार ग्रहणपछि पनि उनी प्रहरी सुरक्षामै कार्यालयबाट निस्किएका थिए ।
शाक्य चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । उनी यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक थिए । २७ माघ ०७७ को मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई कार्यकारी निर्देशक बनाइए पनि पछि जलस्रोत तथा ऊर्जा आयोगमा सरुवा गर्दै कुलमान घिसिङलाई पुनः नियुक्त गरिएको थियो । सो निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए र मुद्दा अझै विचाराधीन छ । उनको पुरानो नियुक्तिअनुसारको कार्यकाल गत माघमै सकिएको छ ।
हितेन्द्रको पहिलो निर्णय– परियोजनाको नाम मात्रै परिवर्तन
प्राधिकरणको कार्यकारी निर्देशकमा पदभार गर्दै हितेन्द्रले एक प्रसारणलाइन परियोजनाको नाम परिवर्तन गरेका छन् । गल्छी–रातामाटे २२० केभी प्रसारण लाइनको नाम परिवर्तन गरेर ‘त्रिशूली–३ बी–रातामाटे–गल्छी २२० केभी प्रसारणलाइन’ कायम गरिएको छ । पदभार सम्हाल्दै हितेन्द्रले आफूसँग लामो अनुभव रहेको र नियुक्त आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । ‘अनुभवका आधारमा आवश्यक देखिएका काम पूरा गर्नेछु । अहिले ऊर्जा क्षेत्रमा ठुला चुनौती छन् । बाहिर देखिएजस्तो राम्रो छैन, भित्र केही समस्या छन्,’ उनले भने, ‘व्यक्तिभन्दा पनि संस्थालाई प्राथमिकता दिएर काम गर्नेछु । लोडसेडिङ हुन्न दिन्न । यद्यपि, उद्योगमा लोडसेडिङ भइरहेको अवस्था छ । अबको चुनौती लोडसेडिङ होइन । विद्युत्को गुणस्तर हो । उद्योगीबाट बक्यौता उठाउने विषयमा राजनीतिक रूपमा भन्दा पनि प्राविधिक रूपमा समाधान निकाल्नेछु ।’