
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन बाँकी आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा २० चैतभित्र चुनाव गरिसक्न निर्देशन दिएको छ ।
५ चैतमा निर्वाचन तय भए पनि कतिपय आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएपछि त्रिविले शैक्षिक क्यालेन्डरमा असर परेको भन्दै समयसीमा नै तोकेर क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो ।
त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले चुनाव लम्बिँदै जाँदा शैक्षिक क्यालेन्डर बिथोलिने र पढाइ प्रभावित हुने भएकाले २० चैतको समयसीमा दिइएको बताए । ‘स्ववियु चुनावका लागि त्रिविका केही परीक्षा सारिएको छ । स्नातक तह र स्नातकोत्तर तहको पठनपाठन रोकिएको छ,’ उनले भने, ‘यसबारेमा विद्यार्थी संगठनले पनि बुझ्नुपर्छ ।’
यद्यपि, प्राविधिक विषय पढाइ हुने क्याम्पसमा भने नियमित कक्षा सञ्चालन भइरहेका छन् । हालसम्मको नतिजाअनुसार नेविसंघले ११९, अनेरास्ववियुले ९५ र अखिल क्रान्तिकारीले ८४ क्याम्पसमा जितेका छन् । अन्य चारवटा क्याम्पसमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । त्रिवि प्रशासनका अनुसार चुनाव तय भएका ६२ आंगिकमध्ये २१ र सम्बन्धनप्राप्तमध्ये ३६० मध्ये १४० मा चुनाव हुन बाँकी छ ।
पद्मकन्यामा ऐर विजयी
पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा भुपेश्वरी (भूपी) ऐर विजयी भएकी छन् । नेविसंघकी पूर्णिमाया परियारलाई पराजित गर्दै उनले बाजी मारेकी हुन् । भुपेश्वरी पनि नेविसंघकै रहे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएकी थिइन् । ऐरले ७३० मत प्राप्त गर्दा परियारले ३७९ मत ल्याइन् । सचिवमा ऐर प्यानलकै सन्ध्या बस्याल र कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन् ।
कहाँ–कहाँ रोकियो चुनाव ?
त्रिविअन्तर्गत एक हजार ५३ वटा क्याम्पस भए पनि आंगिकसहित ४६२ मा स्ववियु चुनाव तय भएको थियो । त्रिवि प्रशासनका अनुसार चुनाव तय भएका ६२ आंगिकमध्ये २१ र सम्बन्धनप्राप्तमध्ये ३६० मध्ये १४० मा चुनाव हुन बाँकी छ । काठमाडौं उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पस, आरआर, शंकरदेव, विश्वभाषा, पाटन, अमृत साइन्सलगायत क्याम्पसमा चुनाव हुन सकेको छैन ।
केन्द्रीय क्याम्पसमा शुक्रबारका लागि चुनाव तय भए पनि अदालतमा रिट परेपछि चुनावी प्रक्रिया अघि बढेको छैन । त्रिविले अमृत साइन्स र पोखराको पृथ्वीनारायण क्याम्पसमा ९ चैतका लागि मिति तय गरेको छ । चितवनको वीरेन्द्र क्याम्पसमा शनिबार चुनाव हुने भनिए पनि निश्चित छैन । पाटन संयुक्त क्याम्पसमा १६ चैतमा चुनाव तय भएको छ ।