मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ५ मंगलबार १o:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक उत्तरदायित्व कोषलाई व्यवस्थित गर्न राष्ट्र बैंकले ल्यायो मार्गदर्शन

मुनाफाबाट जम्मा भएको कोषको ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्नुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १o:१४:oo

बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले मार्गदर्शन जारी गरेको छ । हालसम्म एकीकृत निर्देशनमार्फत कोषलाई व्यवस्थित गर्दै आएकोमा राष्ट्र बैंकले मार्गदर्शन नै जारी गरेको हो । यो मार्गदर्शन जारी भएको मितिपछि स्वीकृत हुने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि मात्रै यो मार्गदर्शनअन्तर्गतका व्यवस्था लागू हुने भनिएको छ ।

मार्गदर्शनअनुसार प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्नुपर्नेछ । हाल कोषमा जम्मा भएको रकम अर्को आर्थिक वर्षमा खर्च गर्नुपर्ने व्यवस्था छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्दा सरकारी, सामुदायिक तथा अन्य गैरनाफामूलक संस्थाका लागि मात्र गर्नुपर्ने उल्लेख छ । परियोजना वा कार्यक्रम छनोट गर्दा त्यसबाट समुदायस्तरमा पर्ने प्रभाव र मुलुकको आवश्यकताको विश्लेषण गर्नुपर्ने उल्लेख छ । 

मार्गदर्शनअनुसार संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दा कुनै पनि व्यावसायिक वा व्यक्तिगत स्वार्थ बाझिने गरी विशेष भौगोलिक क्षेत्र तथा विषयमा अधिकेन्द्रित नभई जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्य, समाजको आवश्यकतालाई प्राथमिकतामा राखी न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनुपर्नेछ । 

कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्चयोग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने भनिएको छ । यद्यपि, केन्द्रीय बैंकबाट इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरूले आपसी सहमतिमा कुनै विशेष सार्वजनिक महत्वको कार्य गर्ने भएमा राष्ट्र बैंकको पूर्वस्वीकृतिमा त्यस्ता कार्य सञ्चालन गर्न सक्ने उल्लेख छ । मार्गदर्शनमा भनिएको छ, ‘कोषको रकम कुनै किसिमको नगद, दान, दातव्य, पुरस्कार आदि वितरण गरी खर्च लेखांकन गर्न पाइनेछैन । कोषमा रहेको रकम अन्य कुनै कोष वा शीर्षकमा रकमान्तर गर्न वा पुँजी कोषमा गणना गर्न पाइनेछैन ।’ 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भए–गरेका कार्यक्रमको लक्षित वर्गमा भएको वास्तविक खर्च तथा उक्त खर्च गर्दा भएको प्रशासनिक खर्चबिच तादात्म्य मिलेको, स्वाभाविक तथा खर्च अनुपात सुहाउँदो हुनुपर्ने उल्लेख छ । सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम, सोको खर्च, कार्यक्रमको छनोट, संस्थाले अवलम्बन गरेको निर्णय प्रक्रिया, कार्यक्रमको प्रभावकारिता आदि सम्बन्धमा वार्षिक रूपमा आन्तरिक लेखा परीक्षण गरी छुट्टै प्रतिवेदन तयार गरी लेखा परीक्षण समितिमार्पmत सञ्चालक समितिमा पेस गर्नुपर्ने उल्लेख छ । 

संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम यस मार्गदर्शनले तोकेको अवधिभित्र खर्च गरिसक्नुपर्ने भनिएको छ । बैंक तथा वित्तीय संस्थाले सहयोग गरेका सम्बन्धित संस्थाले प्राप्त गरेको रकम वा सहयोगबाट जीवन रक्षा, सार्वजनिक हित वा परोपकारी कार्यमा प्रभाव परेको र सोही उद्देश्यमा खर्च भएको प्रमाणित विवरण इजाजतपत्रप्राप्त संस्थाले प्राप्त गरी अद्यावधिक गरी राख्नुपर्ने उल्लेख छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्चको क्षेत्रगत तथा प्रदेशगत विवरणका साथै उक्त खर्चको सामाजिक क्षेत्रमा परेको प्रभावसमेत विश्लेषण गरी आफ्नो वेबसाइटमार्फत वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने मार्गदर्शनमा भनिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषयमा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्रभित्रका भौगोलिक क्षेत्रमा जीवन रक्षा, सार्वजनिक हित तथा परोपकार कार्यलाई प्राथमिकतामा राखी न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।