
चीनको सिचुवान एयरलाइन्सले ५ चैतदेखि छेन्दुबाट पोखरा र पोखराबाट छेन्दु उडान गर्ने भएको छ । पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा उडान सुरु हुने परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । उडानका लागि चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थत चाइनिज ओभरसिजले संयोजन गरिरहेका छन् । उडान सुरुसँगै पोखराबाट छेन्दु तीन र छेन्दुबाट पोखरा १० उडान बुक भइसकेको उनले बताए । नेपाल आउने र चीन जानेहरूका लागि सात रात आठ दिनको प्याकेज बनाइएको छ ।
चैत ५ गते छेन्दुबाट एक सय २७ यात्रु लिएर पोखरा आउने विमानले पोखराबाट एक सय २७ यात्रु लिएर छेन्दु जानेछ । पोखराबाट जानेहरूका लागि चीनको छेन्दु, लुझोउ, इमी, लिसन, छोङछिङलगायतका सहरमा पुग्नेछन् । छेन्दुबाट आउनेहरूका लागि पोखरा, चितवन, लुम्बिनी, काठमाडौंलगायतका सहर घुम्नेछन् । पोखराबाट ५ चैतमा हुने उडानमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको नेतृत्वमा एक सय २७ जनाको टोली छेन्दु पुग्नेछ । त्यसपछि १९ चैतमा उद्योगी–व्यवसायीको टोली र २ वैशाख ०८२ मा विभिन्न संघ–संस्थाको टोली छेन्दु पुग्ने पहारीले जानकारी दिए । पोखराबाट हुने तीन उडानमा तीन सय ८१ जना छेन्दु जाने र छेन्दुबाट पोखरा आउने १० उडानमा एक हजार दुई सय ५० जना पर्यटक पोखरा आउनेछन् ।
५ चैतको बिहान १० बजे एक सय २७ जना चिनियाँ यात्रु लिएर आएको सिचुवानको विमानले पोखराबाट सोही दिन दिउँसो १२ बजे एक सय २७ जना यात्रु लिएर पोखराबाट छेन्दु जाने पहारीले जानकारी दिए ।
चीनको अन्य प्रान्तको तुलनामा सिचुवानका नागरिक बढी घुम्ने गरेकाले पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारी चिनियाँ बजारमा पोखराको प्रवद्र्धन गर्न पोखराबाट नियमित उडान गर्ने लक्ष्यले छेन्दु रोजिएको पोखराका मेयर आचार्यले बताए । सिचुवानको जनसंख्या नौ करोड रहेकाले छेन्दुलगायतका सहरमा प्रवद्र्धनात्मक अभियान गर्दा पोखरामा चिनियाँ पर्यटक बढ्ने उनको भनाइ छ । हाललाई बुक भएका व्यावसायिक चार्टर उडानपछि दुई सहरमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि ढोका खुल्ने उनले विश्वास व्यक्त गरे ।
नेपालस्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले हाल तय भएका उडानले दुई सहरमा नियमित उडानका लागि ढोका खोल्ने बताए । चीनका अन्य सहरहरूलाई समेत पोखरासँग सीधै हवाई सञ्जालले जोड्ने गरी आफूहरूले काम गरिरहेको उनले बताए ।
सञ्चालनको २७ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको हो । १७ पुस ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा हालसम्म आठ चार्टर उडान र एक व्यावसायिक उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो लागेको थिएन ।
पोखराबाट चीनको छेन्दुसँगै १८ चैतदेखि हिमालयन एयरलाइन्सले पोखराबाट ल्हासा उडान गर्ने भएको छ । कम्पनीले सातामा एक दिन पोखराबाट व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको हो । १८ चैतदेखि काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सातामा एक उडान गर्ने गरी तयारी गरेको हिमालयनका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले जानकारी दिए । हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने रहेको दाबी गर्दै श्रेष्ठले हिमालयले सधैँ चीनमा नयाँ गन्तव्य खोज्दै र नियमित उडान गर्दै आइरहेको बताए । नेपाल र चीनबिचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ व्यावसायिक उडान गर्न लागेको उनले जानकारी दिए । चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब २२ अर्ब ऋण सहयोगमा फोरडी मोडेलमा निर्माण भएको पोखरा विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको छ । जाहा बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका विमान आउजाउ गर्न सक्ने विमानस्थलमा साना र ठूला गरी ११ विमान पार्किङ गर्न सकिन्छ ।