
भन्सार शुल्क वृद्धि र अमेरिकामा क्यानडालाई गाभ्ने धम्कीपछि देखिएको राष्ट्रिय एकताले क्युबेक र बाँकी क्यानडा थप नजिकिँदै छन्
अमेरिकाको भन्सार शुल्क वृद्धि र क्यानडालाई अमेरिकामा गाभ्ने धम्कीको विरोधमा तथा राष्ट्रिय एकताको पक्षमा उभिँदा क्यानडेली राष्ट्रियताको भावना बलियो बन्दै गएको छ । यस सन्दर्भमा क्युबेक प्रान्तले पनि बाँकी क्यानडासँग ऐक्यबद्धता प्रकट गरेको छ । फेब्रुअरीमा गरिएको ‘एंगस रिड’ सर्वेक्षणअनुसार क्यानडाप्रति क्युबेकका जनताको भावनात्मक लगाव र क्यानडेली हुनुको गौरवमा उल्लेखनीय वृद्धि देखिएको छ । डिसेम्बर २०२४ मा गरिएको यस्तै सर्वेक्षणको तुलनामा यी तथ्यांक क्रमशः १५ र १३ प्रतिशतले बढेर ४५ र ५८ प्रतिशत पुगेका छन् ।
अर्को एक सर्वेक्षणले क्युबेकलाई क्यानडामै सबैभन्दा बढी डोनाल्ड ट्रम्पविरोधी प्रान्तका रूपमा देखाएको छ । क्यानडाको बाँकी हिस्सासँगै क्युबेकले पनि व्यापार युद्धमा बलियो आर्थिक प्रतिक्रिया जनाएको छ । प्रिमियर फ्रान्स्वा लेगोले अमेरिकी उत्पादन बहिष्कार र स्वदेशी सामान खरिदलाई समर्थन गरेका छन् । त्यसैगरी निर्यातलाई विविधीकरण गर्ने र अन्तर–प्रान्तीय व्यापारमा अवरोध हटाउने पक्षमा क्युबेक उभिएको छ । लेगर सर्वेक्षणअनुसार क्युबेक प्रान्तका ४१ प्रतिशत जनताले अमेरिकी यात्रा गर्ने सम्भावना कम भएको बताएका छन्, जुन क्यानडाभरिको ४८ प्रतिशतको राष्ट्रिय औसतभन्दा थोरैले कम हो ।
निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडेली ‘पहिलाभन्दा बढी एकताबद्ध भएका छन्’ भन्ने दाबीले वास्तविकतालाई प्रतिध्वनित गरेको छ । उनका उत्तराधिकारी मार्क कार्नीले आफ्नो विजय भाषणमा क्यानडेली ‘ट्रम्प क्यानडेली श्रमिक, परिवार र व्यवसायमा आक्रमण गर्दै छन् र हामीले उनलाई सफल हुन दिनुहुँदैन । जब हामी एकताबद्ध हुन्छौँ, हामी बलियो क्यानडा बन्छौँ’ भनेका छन् । यद्यपि क्यानडाभित्र फ्रान्सेली भाषामा आधारित आफ्नो विशिष्ट पहिचानसहितको क्युबेकमा विशिष्ट संस्कृति देख्न सकिन्छ । तर, यसले हालका संकटबिच विशेष चुनौती र प्राथमिकताको सामना गरिरहेको छ । म क्युबेक अध्ययनमा विशेषज्ञता राख्छु । मेरो अध्ययन क्यानडाभित्र क्युबेकको पहिचान र यसको विशिष्टता कसरी निर्माण हुन्छ र यो सार्वजनिक विशेषतः मिडिया र राजनीतिक भाष्यमा कसरी अभिव्यक्त हुन्छ भन्ने विषयमा केन्द्रित छ ।
क्यानडेली पहिचान केही समयदेखि राष्ट्रिय छलफलको प्रमुख विषय थिएन । यसविपरीत क्युबेकको पहिचान लामो समयदेखि सार्वजनिक भाष्यको प्रमुख विषय रहँदै आएको छ, जुन यस प्रान्तको मिडियाले निरन्तर कायम राखेको र प्रोत्साहित गरेको छ । जब क्यानडेली समाज सामूहिक पहिचान परिभाषित गर्न फेरि सक्रिय रूपमा संलग्न भइरहेका छन्, तब क्युबेकको पहिचान केले परिभाषित गर्छ र प्रान्त कसरी वर्तमान संकटसँग जुधिरहेको छ भन्ने विषय स्पष्ट हुनु भने आवश्यक छ । पहिचानसम्बन्धी सार्वजनिक भाष्यको मेरो अध्ययनले निरन्तर रूपमा क्युबेक आफ्नो पहिचान र अपनत्वको विशिष्ट दृष्टिकोणप्रति प्रतिबद्ध रहने गरेको देखाएको छ । क्यानडेली बहुसंस्कृतिवादले कुनै राष्ट्रिय वा बहुसंख्यक संस्कृतिलाई औपचारिक रूपमा मान्यता दिँदैन, तर क्युबेकले सांस्कृतिक विविधता व्यवस्थापन गर्न एक भिन्न मोडेल अपनाएको छ, जसलाई अन्तरसांस्कृतिकता भनिन्छ । यसको मुख्य उद्देश्य विविधतालाई फ्रान्सेली भाषामा आधारित राष्ट्रिय संस्कृतिसँग मेलमिलाप गराउनु हो । महत्वपूर्ण कुरा के छ भने अन्तरसांस्कृतिकताको अवधारणामा फ्रान्स–क्यानडेली बहुसंख्यक संस्कृतिलाई क्युबेकको पहिचानको परिभाषित तत्वका रूपमा अब हेरिँदैन । बरु विभिन्न पृष्ठभूमिका क्युबेक जनतालाई साझा नागरिक संस्कृतिमा भाग लिन आह्वान गरिन्छ । यस मोडेलमा फ्रान्सेली भाषाले नागरिक संलग्नताको साझा सार्वजनिक भाषाका रूपमा काम गर्छ ।
जब राष्ट्रिय पहिचान साझा संस्कृतिमा आधारित हुन्छ, तब तिनीहरूबिचको सम्बन्ध अत्यन्त महत्वपूर्ण हुन्छ । यदि एक पक्षमा खतरा आउँछ भने अर्को पनि जोखिममा पर्छ । यसविपरीत एउटा पक्ष सुदृढ हुँदा अर्को पक्ष पनि बलियो बन्छ । क्युबेक सरकारले क्युबेकको पहिचानका आधारस्तम्भका रूपमा फ्रान्सेली भाषा र क्युबेक संस्कृतिलाई समर्थन र प्रवर्द्धन गर्छ । तर, अंग्रेजीभाषी क्यानडा र फ्रान्सेलीभाषी क्यानडाले आफ्नै फरक सांस्कृतिक पहिचान जोगाउन बेलायती–अमेरिकी सांस्कृतिक प्रभुत्वको विरोधको चुनौती सामना गरिरहेका छन् । क्युबेकमा जहाँ भाषा र संस्कृति पहिचानका केन्द्रमा छन्, बेलायती–अमेरिकी सांस्कृतिक क्षेत्रमा विलय हुने जोखिम वा शुल्क वृद्धिका कारण पहिले नै कम रहेको वित्तीय विनियोजन सांस्कृतिक क्षेत्रमा कटौती हुनुले क्युबेकको पहिचानलाई गम्भीर संकटमा पार्न सक्छ ।
आर्थिक संकटलाई सम्बोधन गर्ने क्रममा क्युबेक प्रान्तका प्रमुख लेगोले किन क्युबेकको भाषा, मूल्य र पहिचानको संरक्षण गर्ने वाचा गरेका छन् भन्ने कुरा बुझ्न मद्दत गर्छ । क्युबेकमा अर्थतन्त्र र संस्कृति गहिरो रूपमा परस्पर सम्बद्ध छन् । उदाहरणका लागि क्षेत्रीय कला महोत्सवको एक समूहले क्युबेकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने अमेरिकी कम्पनीलाई विनियोजित कोषको अन्त्य गर्न माग गरेको छ । क्यानडेली आइस हकी टोलीले हालै ‘फोर नेसन्स फेसअफ’मा जित हात पार्दा क्युबेकसमेत देशभर प्रशंसकले उत्साहित हुँदै राष्ट्रिय गौरव प्रकट गरेका थिए । क्युबेक सरकारले आइस हकीलाई प्रान्तको आधिकारिक खेलका रूपमा मान्यता दिने गरी कानुन निर्माणमा काम गरिरहेको छ । यो कदम क्युबेक र बाँकी क्यानडाबिचको साझा रुचि र लगावको अर्को उदाहरण हो ।
ट्रम्पको भन्सार शुल्क वृद्धि र क्यानडालाई अमेरिकामा गाभ्ने धम्कीका कारण उत्पन्न भएको क्यानडेली पहिचानप्रतिको ऐक्यबद्धताले क्युबेक र बाँकी क्यानडालाई थप नजिक ल्याइरहेको देखिन्छ । यो प्रवृत्ति के साझा प्राथमिकताप्रतिको चेतनामा वृद्धि भएर देखिएको हो वा एक–अर्काका विशिष्ट पहिचानप्रति बढ्दो आपसी सम्मानका कारण उत्पन्न भएको हो ? आगामी साता र महिनाले यस प्रश्नको उत्तर दिनेछन् ।
(बोसवोर्थ न्युयोर्कथित बिन्घ्याम्प्टन विश्वविद्यालयमा फ्रेन्च र भाषाशास्त्रकी सह–प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट