
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ५ चाँगेमा भएको माछापोखरी हिटी गोल्डकपको उपाधि न्यु स्टार क्लब झापाले उचालेको छ। चाँगे माध्यमिक विद्यालयको प्रांगणमा आयोजित प्रतियोगितामा गत वर्षको विजेता मरिक एफसी धरानलाई १–० गोल अन्तरले हराउँदै झापाले उपाधि उचालेको हो ।
खेलको ७५औँ मिनेटमा झापाका लागि एक मात्रै निर्णायक गोल निश्चल बस्नेतले गरेका थिए । खेलमा म्यान अफ दी म्याच निश्चल बस्नेत भएका छन्। उनले नगद तीन हजार प्राप्त गरे । विजेता झापाले तीन लाख रुपैयाँसहित ट्रफ, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सलबहादुर नेपालीले बताए।
दोस्राे अर्थात् उपविजेता धरानले एक लाख ६० हजार प्राप्त गर्यो। व्यक्तिगत विधातर्फ सबै झापाका सर्वाधिक गोलकर्ता बस्नेत, उत्कृष्ट मिडफिल्डर पिके कन्दङवा, प्लेयर अफ दी टुर्नामेन्ट विजय राई, बेस्ट प्रशिक्षक अनुभ केदेम भए । बेस्ट गोलरक्षक मारिक एफसी धरानका निशान थापा र बेस्ट डिफेन्डर पनि राजु थापा भए । उनीहरूले तीन–तीन हजार रुपैयाँ पाए । फागुन २५ बाट सुरु भएको प्रतियोगिता २९ गते सकिएको छ। आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा आठ टिम सहभागी रहेको आयोजकले जनाएको छ।