
कपिलवस्तु–११ ले रुपन्देहीको सैनामैना मुर्गियामा भएको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको फाइनलमा कपिलवस्तुले अभिषेक चर्च रजहर नवलपुरलाई १–० ले हराउँदै उपाधि हात पारेको हो ।
कपिलवस्तुका लागि विदेशी खेलाडी मोहम्मदले निर्णायक गोल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५५औँ मिनेटमा मोहम्मदले कपिलवस्तुलाई १–० को अग्रता दिलाए ।
उनकै एक मात्र गोलमा कपिलवस्तुले उपाधि हात पारेको हो । कपिलवस्तुले पाँच र अभिषेकले चार विदेशी खेलाडीलाई मैदानमा प्रतिस्पर्धा गराएको थियो । १० दिनसम्म चलेको प्रतियोगितामा नेपालका दुई विभागीय र भारतको एकसहित १० टोलीले भाग लिएका थिए ।
उपाधि विजेता कपिलवस्तुले सात लाख र उपविजेता अभिषेक चर्चले चार लाख रुपैयाँ पाए । विजयी टोली र खेलाडीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कृत गरेका छन् ।